कडा बनेर आउँदैछ सवारी नियम, न्यूनतम जरिवाना नै दश हजार

सिण्डिकेट चलाउनेहरुलाई दुई लाख जरिवाना र पाँच वर्ष कैद

सवारी नियम

फितलो सवारी नियमका कारण सवारी अनुशासन पालना नगर्ने प्रवृत्ति बढ्दै जाँदा वर्षेनी हजारभन्दा बढी व्यक्तिको दुर्घटनाका कारण मृत्यु हुने गरेको छ । सवारी दुर्घटनाको प्रमुख कारण चालक र सवारी नियमको उल्लंघन नै हुने गरेको पाइएको छ ।

यस्तो स्थितिको अन्तयका लागि अब सरकारले कडा नियम ल्याउने भएको छ । सवारी नियम उल्लंघन गर्नेलाई न्यूनतम जरिवाना नै १० हजार रुपैयाँ तोक्ने गरी यातायात व्यवस्था ऐन २०४९ लाई संशोधन गर्न लागिएको छ ।

सरकारले दण्ड जरिवानाको रकम बढाएरै सवारी नियम उल्लंघन गर्न हातोत्साहित गर्ने नीति लिएको छ । जसरी मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति हटाएर दुर्घटनाको एउटा कारण लगभग अन्त्य भएको अवस्थामा अब सार्वजनिक सवारीमाा पनि त्यस्तै कडा नियम ल्याउन लागिएको हो ।

अहिले थोरै जरिवाना हुँदा नियम उल्लंघन गरेर सवारी चलाउने र ट्राफिक प्रहरीले भटे जरिवाना तिरेर हिँड्ने प्रचलन बढेको छ । यसलाई मध्यनजर गर्दै सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गरी जरिवाना रकम १० हजारदेखि ३ लाख रुपैयाँसम्म पुर्‍याउने र कैद सजाय गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको छ ।

अहिलेसम्म यातायात व्यवस्था ऐनमा सवारी नियम पालना नगर्नेलाई ५ हजार रुपैयाँसम्म मात्रै जरिवाना लिने व्यवस्था छ ।

तर, अब कसुरअनुसार सजाय रकम बढाउनेदेखि लाइसेन्स निलम्बन र खारेज गर्नेसम्मको प्रस्ताव अघि सारिएको छ । विद्यमान नियम अनुसार लाइसेन्स नलिई सवारी चलाएको भेटिएमा हाल २ हजार रुपैयाँ जरिवाना लाग्छ । तर, प्रस्तावित नियममा पाँच गुणा बढाइएको छ र अब यस्तो कसुर गरेमा १० हजार जरिवाना प्रस्ताव गरिएको छ ।

एउटा प्रयोजनमा ल्याइएको सवारीलाई अर्को प्रयोजनमा लगाउनेले पनि १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने छ । निजी सवारीले भाडाका यात्रु बोकेमा र तोकिएको क्षमताभन्दा बढी मालसामान ढुवानी गरेमा पनि १० हजार रुपैयाँ जरिवाना लगाइनेछ । अवस्था हेरेर यात्रुको हकमा नियम यो लागू हुने छ ।

प्रस्तावित संशोधनअनुसार अब दर्ता नगरी सवारी चलाएको भेटिएमा चालकलाई १५ हजार रुपैयाँ जरिवाना हुनेछ । सवारीलाई पनि सरकारले जफत गर्नेछ । विदेशमा दर्ता भएको सवारी अनुमतिविना नेपालमा सञ्चालन गरेको पाइएमा पनि यो सजाय हुनेछ ।

प्रस्तावित संशोधन ऐनमा सीटबाहेक छत ढोका वा अन्य भागमा राखिएका बेला दुर्घटना भइ यात्रुको मृत्यु भएमा चालकलाई एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।

त्यस्तै सवारी तथा यातायात व्यवस्था ऐनको संशोधन प्रस्तावमा घरपालुवा पशुवस्तुका कारण सवारी दुर्घटना भएमा छाडा छाड्ने पशुपंक्षी मालिकलाई १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था राख्न लागिएको छ ।

नक्कली नम्बर प्लेट राखेर सवारी साधन चलाउनेहरुलाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना तथा बदनियतका साथ दुर्घटना गराएर कसैको अंगभंग भएमा ८ वर्ष कैद र तीन लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ ।

त्यस्तै ऐन सिण्डिकट बिरुद्ध पनि उभिएको छ । अब प्रतिस्पर्धात्मक तवरले सवारी सञ्चालन नगरेमा ५ वर्ष कैद, २ लाख जरिवानासहित रुट इजाजतपत्र रद्ध गर्नसक्ने नयाँ व्यवस्था पनि प्रस्ताव गरिएको छ ।

त्यस्तै रुट परिवर्तन गरी यात्रु बन्धक बनाएमा २ लाख रुपैयाँ जरिवाना र ५ वर्ष जेल सजायको प्रस्ताव गरिएको छ । चालक अनुमतिपत्र बिना सवारी चलाएर दुर्घटना गरी कसैको अंगभंग गराएमा पनि जेल सजायसहित ५० हजार रुपैयाँ जरिवाना गर्ने मस्यौदामा उल्लेख छ ।


यो पनि हेर्नुहोस्:-सवारी नियम पालना गराउन ट्राफिक प्रहरीको नयाँ उपाय