चितवनमा २८७० मत खस्योः मतगणनास्थलमा कडा सुरक्षा

पहिलो चरणको निर्वाचनको मतगणनामा राजनीतिक दलकै प्रतिनिधिले मतपत्र च्यातेपछि जिल्ला निर्वाचन कार्यालय चितवनले जाली लगाएर मतगणना गर्ने तयारी गरेको छ । त्यसका लागि जाली लगाइसकिएको छ भने मतगणना कतिखेर शुरु हुने भन्ने ऐकिन हुन सकेको छैन ।

खेलकुदको कभर्ड हलभित्र मतगणना गर्ने र राजनीतिक दलका प्रतिनिधि रहने बीच भागमा जाली लगाइएको जिल्ला निर्वाचन कार्यालय चितवनका हरि अधिकारीले जानकारी दिए ।

जेठ १४ गते भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना भैरहेका बेला नेकपा माओवादी केन्द्रका दुई कार्यकर्ताले मतपत्र नै च्यातेपछि जाली लगाएर सुरक्षा व्यवस्था कडा पारिएको हो ।

राजनीतिक दलको बैठकपछि रातिदेखि नै मतगणनाको तयारी गरिएको छ । बैठकले मात्रै शुक्रबार राति या शनिबार बिहानदेखि मतगणना गर्ने भन्ने निर्णय गर्नेछ ।
यसैबीच भरतपुर महानगरपालिका वडा नम्बर १९ मा कडा सुरक्षाका बीच मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानका लागि समय तोकिएको थियो ।

भरतपुर १९ मा तीनवटा मतदान स्थलका ६ वटा केन्द्रमा मतदान सम्पन्न भएको थियो । जम्मा ३ हजार ८९७ मतदाता रहेको भरतपुर १९ मा ७५.५८ प्रतिशत मत खसेको छ ।

वैशाख ३१ गते भएको निर्वाचनमा २८९७ सय मत खसेको थियो । हिलेभन्दा यसपटक मत बढी खस्ने अनुमान गरिएको भए पनि पहिलेभन्दा केही कम मत खस्यो ।

पहिलेभन्दा २७ मत कम खसेको बताइएको छ । सबै जोड्न बाँकी रहेकाले १, २ मत तलमाथि पर्न सक्ने निर्वाचन कार्यालयका अधिकारीहरु बताउँछन् । शुक्रबार भएको मतदानमा २८७० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरणको निर्वाचनपछि जेठ १४ गते राति मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका दुई कार्यकर्ताले मतपत्र च्यातेका थिए । मतपत्र च्यातेपछि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले मतगणना सम्बन्धी सबै प्रक्रिया स्थगित गरेको थियो ।

निर्वाचन आयोगले उक्त घटनाको छानविनपछि पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमालेका दुई स्थानीय नेताले सर्वोच्च अदालतमा पुनः मतदान गर्ने आयोगको निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए । रिट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले नै मतदान गराउन आदेश दिएपछि शुक्रबार पुनः मतदान भएको थियो ।