कतारमा चर्को शोषण ३० रियाल लिएर कामदारलाई ६ रियाल मात्र

नेपाली युवाहरुको प्रमुख श्रम बजार कतारमा कार्यरत श्रमिकहरुमाथि व्यापक शोषण भैरहेको खुलासा भएको छ । त्यहाँको निर्माण क्षेत्रका श्रमिकहरुलाई सरकारले तोकेको रकमभन्दा ५ गुणा कम दिने गरिएको छ ।

समाचार अनुसार कतारमा निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि प्रतिघण्टा ३० रियाल छुट्याए पनि उनीहरूको हातमा भने जम्मा ६ रियाल मात्रै पर्ने गरेको छ । कतार सरकारका आयोजनामा काम गर्ने कामदारका लागि प्रतिघण्टा ३० रियाल ज्याला छुट्याइएको हो ।

कतार सरकारले आयोजनाको मुख्य ठेकेदार कम्पनीलाई कामदारका लागि सो रकम उपलब्ध गराउँछ । तर, ठेकेदार कम्पनीले भने विभिन्न कामदार सप्लाई कम्पनीबाट कामदार ल्याउँदा ज्याला घटेर ६ रियाल पुग्ने गरेको छ ।

कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाका अनुसार कतारका धेरै उच्च अधिकारीहरूसँग भेट गर्दा प्रतिघण्टा ३० रियालसम्म कामदारका लागि दिएको पाइएको तर कामदारको हातमा भने ६ रियाल मात्रै परिरहेको स्थिति छ ।

कतारमा मुख्य कन्ट्याक्टर र सप्लाई चेनको सम्बन्धले कामदारको तलब घटदै जान्छ । जति सप्लाई कम्पनी बढदै गयो, त्यति नै कामदारको ज्याला घटदै जान्छ । ठेक्का लिने मुख्य कम्पनीसँग चाहिने कामदार आफैसँग हुँदैन । उसले काम गर्न चाहिने हजारौं कामदार पालेर राख्दैन । मुख्य ठेकेदार कम्पनीले ठेक्का हात पर्छ ।

आवश्यक जनशक्ति ल्याएर कार्यस्थल खटाउने जिम्मा दोस्रो कम्पनीलाई दिन्छ । दोस्रो कम्पनीले पनि बिभिन्न कम्पनीबाट कामदार संकलन गर्छ । चारपाँचवटा एजेन्टको तह पार गरेपछि मात्रै कामदार पाउँछ ।

राजदूत कोइरालाका अनुसार खासमा कतारी श्रम ऐनअनुसार दोस्रो कम्पनीले कामदार सप्लाई गर्नु गैरकानुनी हो । तर मुख्य ठेकेदारले दोस्रो पक्ष बनाउँदै कामदार आपूर्ति गर्छ । तह बढदा कमिसन पनि बढ्छ । अनि काम गर्ने कामदारको हातमा भने न्यून तलब पर्न जान्छ ।

त्यसकारण कुनै कारणले दोस्रो पक्षको कम्पनी डुबेमा उसमार्फत सप्लाई भएका कम्पनी र कामदार दुवै फस्छ । यही कारण कतारमा सबैभन्दा बढी सप्लाईमा कामदार पठाउने प्रवृत्तिले कामदार समस्यामा परेका हुन् ।

यस्तै समस्या बढेपछि नेपालले सन् २०१३ जनवारीदेखि लागू हुने गरी नेपाली कामदारलाई न्यूनतम तलब खानासहित १२ सय रियाल (३६ हजार रुपैयाँ) दिनुपर्ने मापदण्ड तोकेको थियो । झन्डै ४० प्रतिशत कम्पनीले पनि यो मापदण्डलाई लागू गरेको छैन । दूतावासबाट अनिवार्य मागपत्र प्रमाणीकरण भएपछि नेपालको मापदण्ड पूरा नगर्ने कम्पनीलाई कामदार दिन रोकेको राजदूत कोइराला बताउनुहुन्छ ।

उता अधिकारवादीहरू कतारले प्रतिघण्टा भन्दा एकमुष्ट रूपमा हातमा पर्ने तलब दिनुपर्ने माग गर्दै आइरहेका छन् । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघकी महासचिव शरण वरोले कतार श्रम बजार सुधारको दिशातर्फ उन्मुख रहेको तर कामदारले श्रम गरेअनुसार पाउने ज्याला तोक्नैपर्ने बताउनुहुन्छ ।

कतारमा ४२९ युवा अलपत्र