कतारले तोक्यो विदेशी कामदारको न्यूनतम तलब

आप्रवासी कामदारमाथि शोषण भएको भन्दै विभिन्न मानव अधिकारवादी संस्थाहरुले आलोचना गरिरहेका बेला कतारको श्रम मन्त्रालयले पहिलोपटक विदेशी कामदारको  मासिक न्यूनतम तलब ७ सय ५० रियाल (झण्डै २ सय अमेरिकी डलर) तोकेको छ ।

कतारको नयाँ निर्णयबाट ठूलो संख्यामा रहेका नेपाली कामदारहरु पनि लाभान्वित हुनेछन् । अब नेपाली कामदारले न्यूनतम २० हजार रुपैयाँ मासिक तलव पाउनेछन् । कतारी श्रममन्त्री इसा अल नउमीले कुनै पनि रोजगार सम्झौतामा विदेशी कामदारको तलव ७ सय ५० भन्दा कम भएमा स्वीकृत नगर्नै जानकारी दिए । सबै सम्झौताहरु अब मन्त्रालयले नै स्वीकृत गर्ने छ ।

उनका अनुसार अब विदेशी कामदारले न्यूनतम तलबसँगै निःशुल्क आवास, खाना र स्वास्थ्य सेवासम्बन्धी सुविधा पनि प्राप्त गर्नेछन् ।यो तलबमान अस्थायी रुपमा तोकिएको भन्दै श्रममन्त्रीले स्थायी प्रकारको न्यूनतम तलव तोक्ने गृहकार्य भइरहेको जानकारी दिए । पहिलोपटक तोकिएको न्यूनतम तलबको समिक्षा गरी पुनः बढाउने समेत सरकारी अधिकारीले बताएका छन् ।

कतारले श्रम मामिलामा सुधारको सुरुवात सन् २०१५ बाट थालेको हो । कामदारलाई अनिवार्यरुपमा बैंक खातामा तलब जम्मा गर्ने, आलोचित बनेको काफाला सिस्टमलाई बिस्थापित गर्दै विदेशी कामदारसँग सम्झौता गर्ने प्रणाली सुरु गर्ने काम भइसकेका छन् ।

सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले विदेशी कामदारमाथि भइरहेको व्यवहारका विषयमा आलोचना खेप्दै आएको थियो । कतारी श्रममन्त्री नाउमीले सुधार प्रयास यतिमै नरोकिने बताए ।

नेपालमा मानवअधिकारको अवस्था कमजोर रहेको एम्नेस्टीको ठहर