वार्ताबाट संकट समाधान गर्न कतारी राजाको आह्वान

कतारका राजा सेख तमिम बिन हमद अल थानीले जारी कतार संकट समाधानका लागि वार्तामा बस्न बुधबार आह्वान गरेका छन् ।
इन्डोनेसियाको राजधानी जाकर्ताको दक्षिणी क्षेत्रमा पर्ने बोगोरमा रहेको राष्ट्रपति कार्यालयमा राष्ट्रपति जोको विडोडोसँगको भेटपछि पत्रकारहरूसँग उनले वार्तामा बस्न आह्वान गरेका हुन् ।

समस्या समाधानका लागि कतार सधैँ वार्ताका लागि तयार रहेको हामीले भनेका छौं, हामीलाई यो पनि थाहा छ की यो समस्या बल्झाएर कसैले जित्ने होइन, उनले भने ।

उनले भने “हामीहरू सबै जना दाजुभाइ हौँ, तर पनि हामी यस्तो संकटबाट गुज्रिरहेका छौं ।” कतारी राजासँग ४० जना व्यवसायीसहितको टोली थियो । उनीहरूले पनि खाडी संकट समाधानका लागि आग्रह गरेका थिए ।

गत जुन ५ देखि साउदी अरबको नेतृत्वमा युएई, बहराइन र इजिप्टले कतारमाथि नाकाबन्दी गरेका छन् । कतारले आतंककारीहरूलाई सघाएको नाकाबन्दी गर्ने देशहरूको आरोप छ भने उनीहरूको आरोपलाई कतारले अस्वीकार गर्दै आएको छ ।