दिदी बहिनीलाई थाहा छ ? कसरी खाने, किन खाने, कतिबेलासम्म खाने दर ??

teej-program

नेपाली नारीले भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज दर खाँदैछन् । दरको नाममा विकृति भित्रिएर मांस–मदिराको प्रयोग समेत बढिरहेका बेला वास्तविक दर के हो त ? शास्त्रले के भनेको छ ? यस विषयमा छोटो जानकारी यहाँ प्रस्तुत छ ।

तीजको महिमा शिव पार्वतीसंग सम्बन्धित छ । शास्त्र अनुसार आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिइन् त्यो दिन यही हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल द्वितीयाका दिन दश पटक खाने चलन छ । द्वितीयाका दिन राति १२ पछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अघ्र्य दिएर मात्र खाने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम शास्त्रीय रुपमा निराहार व्रत मात्र बस्ने विधान नरहेको बताउनुहुन्छ । “निराहार, जलाहार र फलाहार गरी तीन किसिमका व्रत विधान शास्त्रमा छ, भोलि निराहार व्रत बस्नु छ भने अघिल्लो दिन धेरै खाएर र भोलिपल्ट पानी पनि नखाई व्रत गर्दा वर्तालुको स्वास्थ्यमा समस्या आउने गरेको छ, वेदमा ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्मालाई रक्षा गर भनिएको छ, नसक्नेले निराहार व्रत बस्नुपर्दैन”–उहाँले भन्नुभयो ।

‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिलो प्राथमिकता शरीरलाई दिएर मात्र धर्म साधना गर भन्ने मान्यताका आधारमा पनि स्वास्थ्य खराब हुने गरी व्रत बस्न नभनिएको अध्यक्षको गौतमले बताउनुभयो ।

तीजको व्रत पतिको आयुका लागि मात्र बस्ने गरिएको भनी गलत प्रचार गरी शास्त्रीय मान्यता नबुझी धर्मलाई गाली गरिएकामा सत्य कुरो बुझ्नतर्फ लाग्न उहाँले अनुरोध गर्नुभयो । समग्र परिवार, विद्या, धन र बुद्धिका लागि व्रत गर्ने विधान छ । नारीले व्रत गर्न नसक्दा उनका श्रीमान्ले व्रत गर्ने प्राचीन परम्परालाई हेर्दा पनि समग्र परिवारकै लागि व्रत बस्ने परम्परा सुरु भएको बुझिन्छ ।

“प्राचीन ऋषि परम्पराअनुसार खोज अनुसन्धान गरी व्यक्ति, परिवार, समाज र राष्ट्रका लागि उपयुक्त विषयलाई अघि बढाइएको थियो तर मानिसले पछि थपेका विकृतिले धर्मको वैज्ञानिक पक्षलाई पनि ओझेलमा पार्न थालेको छ”– उहाँले भन्नुभयो ।

तीज माइती र चेलीको सम्बन्ध दर्शाउने पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ ।

तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् ।

ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । यस दिन पानीसम्म पनि नखाई ब्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भए पनि कतिपय महिलाहरु महादेवको पुजा आराधना पश्चात फलफुल ग्रहण गर्दछन् । त्यसैले ब्रतको अघिल्लो दिन दरखाने चलन छ ।

तीज महिला स्वततन्त्रताको पनि पर्व हो । दर खाएर सिंगारपटार गरी ब्रतका दिन नाँचजगान गरेर रमाइलो गर्ने क्रममाा पति, सासु, नन्द, आमाजु आदिबाट पाएको दुःख वा कष्टलाई गीतका माध्यमले अभिव्यक्त गरिन्छ । त्यस्तै यो मौलिक सांस्कतिक र सांगीतिक पर्व पनि हो । तीजको गीतको आफ्नै महत्व छ ।

 ‘तीजको दरले पेट गडबडी गर्ला बरी लै’