कति पूरा भयो जनयुद्ध लड्ने योद्धाहरुको सपना ?

Nepal Communist

मुलुकको मुहार फेर्ने सपनाका साथ सशस्त्र जनयुद्धमा होमिएकाहरुको सपना कति पूरा भयो ? त्यो सबैको नजरमा स्पष्टै छ । तर अझै आश मारिसकेका छैनन् ती योद्धाहरुले ।

जसले जनमुक्तिका लागि भन्दै सशस्त्र द्वन्द्वमा होमिएका महिला योद्धाले अब देशमा शान्ति कायम भई देशलाई समृद्धितर्फ लैजानुपर्ने बताएका छन् ।

एक्काइस वर्षअघि अर्थात् २०५२ फागुन १ गतेदेखि युद्ध मैदानमा गएका उनीहरुले तत्कालीन समयमा देखेका सपना पूरा नभए पनि जनताले शान्ति पाउनुपर्ने बताएका छन् । शान्ति सम्झौतापछि प्रमाणीकरणका क्रममा स्वेच्छिक अवकाश लिएका देशभरका पूर्वजनमुक्ति सेनाका महिला प्रथम भेलाका लागि चितवन भेला भएका थिए ।

सो अवसरमा उनीहरुले पार्टी फुटेकै कारण जनयुद्धको उपलब्धि रक्षा हुन नसकेको भन्दै चिन्ता पनि व्यक्त गरे । राजतन्त्रको अन्त्य र गणतन्त्र प्राप्तिलाई उपलब्धि मान्दै संविधान कार्यान्वयन गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

तत्कालीन समयमा चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनमा बटालियन कमाण्डर भई भूमिका निर्वाह गर्नुभएकी रामेछापकी सुनिता गौतम अहिले बैंकबाट ऋण लिएर रसुवाबाट काठमाडौँ कन्टेनर सञ्चालन गर्नुभएको छ ।

देशमा आमूल परिवर्तनका लागि आफू लडेको बताउने उहाँले अब देश समाजवादी क्रान्तितर्फ लाग्नुपर्ने बताउनुभयो । जनयुद्धको उपलब्धिलाई संस्थागत गर्दै पिछडिएको जातिको संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो । पार्टीका लागि मात्र आफूहरुले युद्ध नगरेको बताउँदै उहाँले असमानता र विभेदको अन्त्य गर्न आफूहरु युद्धमा होमिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको परिवर्तनमा खुसी छु तर पूर्ण सन्तुष्ट छैन ।”

सिन्धुली घर भई हाल चितवन बसोबास गर्दै आउनुभएकी विमला बरायली पनि शक्तिखोरको तेस्रो डिभिजनमा सहकमाण्डर हुनुहुन्थ्यो । विसं २०५६ देखि उहाँ पनि परिवर्तनका लागि भन्दै सङ्घर्षमा होमिनुभयो ।

देशमा परिवर्तन आयो, तर उहाँ आफू सन्तुष्ट नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले देखेका सपना अझै पूरा भएका छैनन् ।” तर पनि आफू निरास नभएको भन्दै उहाँले जुन उद्देश्यका साथ युद्धमा लागियो त्यसले पूर्णता पाउनुपर्ने बताउनुभयो ।

जनयुद्धका क्रममा खुट्टामा गोली लागेर अपाङ्ग जीवन बिताउँदै आउनुभएकी बरायलीका श्रीमान् समायोजनमा जानुभयो । अब जुन सपना हामीले लियौँ त्यो पूरा गर्नुपर्ने बताउँदै उहाँले पार्टी विभाजन भएकामा चिन्ता व्यक्त गर्नुभयो ।

रोल्पा घर भई हाल गोरखामा बस्दै आउनुभएकी पूर्णा थापा १४ वर्षको उमेरमा विसं २०५४ देखि जनयुद्धमा होमिनुभएको थियो । चौथो डिभिजन अरुण खोलामा ब्रिगेड सहकमाण्डर पछि प्रमाणीकरणबाट बाहिरिनुभएकी थापा अहिले कुखुरा र माछापालनमा व्यस्त हुनुहुन्छ ।

धेरै सपना बोकेर जनयुद्धमा होमिए पनि आफ्नो सपना पूरा नभएको उहाँले बताउनुभयो । राज्यसत्ता कब्जा गर्ने उद्देश्यका साथ लडेको बताउँदै उहाँले हतियार छाडेर जाँदैगर्दा रुन मन लागेको बताउनुभयो । “पहिलेको जुन गतिमा पार्टी चल्यो अहिले त्योअनुरुप जान नसक्दा जनयुद्धको मर्म पूरा नहुने हो कि भन्ने चिन्ता लागेको छ”– उहाँले भन्नुभयो ।

लडाकुलाई व्यवस्थित गर्न नसकिएको भन्दै उहाँले आवश्यक पर्दा मात्र आफूहरुलाई प्रयोग गरिएको बताउनुभयो । पार्टी विभाजन हुनु दुर्भाग्यपूर्ण भएको भन्दै उहाँले थप्नुभयो, “घाइते, अपाङ्ग रोइरहेका छन्, कष्टकर जीवन बिताइरहेका छन् ।”

तेस्रो डिभिजन शक्तिखोरबाट स्वेच्छिक अवकाश लिनुभएकी चितवन फूलबारीकी शान्ता पोख्रेलले सर्वहारा वर्गको उन्नतिका लागि आफूहरुले बलिदानी दिएको भएपनि सपना पूरा हुन नसकेको बताउनुभयो । विसं २०५६ पुुस १६ गतेदेखि जनयुद्धमा होमिनुभएकी पोख्रेलले घर व्यवहार लथालिङ्ग भएको भन्दै उपलब्धि सार्थक बनाउन नसक्दा धेरैमा निरासा छाएको बताउनुभयो । अझै पनि आशाको त्यान्द्रो बाँकी रहेको भन्दै उहाँले जुन उद्देश्यका साथ जनयुद्धमा होमियो त्यसलाई सार्थक बनाउनुपर्ने बताउनुभयो ।

उहाँहरु जस्तै हजारौँ महिला जनयुद्धमा होमिएका थिए । उनीहरुमध्ये अधिकांशले युद्धमा जाँदा देखेको सपना पूरा हुन नसकेको गुनासो गर्दै आएका छन् । प्रमाणीकरणको समयमा अधिकांश महिलाले स्वेच्छिक अवकाश रोजेका थिए ।

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले भेलाको संयोजन गरेको थियो । भेलालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का नेता अमिक शेरचन, जयपुरी घर्ती, उर्मिला अर्याललगायतले जुन सपना बोकेर जनयुद्ध भयो त्यसकै उपलब्धिका रुपमा गणतन्त्र प्राप्त भएको भन्दै यसलाई सफल बनाउनेतर्फ सबै लाग्नुपर्ने बताउनुभएको थियो ।

भेलामा ३५० भन्दाबढी पूर्वजनमुक्ति सेनाका महिलाको सहभागिता रहेको थियो । भेलाले देवी खड्काको संयोजकत्वमा पूर्वजनमुक्ति सेना महिला विभाग पनि गठन गरेको छ ।

जनयुद्धको २२ वर्ष : एक चिरफार (भिडियोसहित)