पुनःनिर्माणको दुई वर्ष : कति जनताले छानो पाए, कति सम्पदा ठडिए ?

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पुर्याएको भौतिक क्षतिको लेखाजोखा जति गरिएको छ पुनःनिर्माणको काम शून्यको गतिमा छ । सर्वसाधारणको घरदेखि सम्पदाको पुनःनिर्माणमा समेत ढिलासुस्ती र विवाद छ ।

यो दुई वर्षमा कति जनताले घर पाए अनि कति सम्पदा ठडिए ? यो प्रश्न हरेक नेपालीको मनमा छ । खासमा पुनःनिर्माणको नाममा आधुनिक शैलीमा व्यापारिक प्रयोजन राख्दै काम थालिएको छ । रानीपोखरी यसैको उदाहरण हो । दुई वर्षमा ५ करोड रुपैयाँ खर्च गरेर रानीपोखरीको अस्तित्व मेटाउने खेल खेलियो ।

आज अर्थात् माघ २ गते १९९० को विनाशकारी भूकम्प गएको दिनको सम्झनामा ०७२ वैशाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनःनिर्माण सुरु भएको दिन । पुनःनिर्माणको सुरुवात भएको दुई वर्ष बितेको छ ।

२०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारी र तत्ककालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट उपत्यकाका दुई ठाउँबाट पुनःनिर्माणको शुभारम्भ गर्नुभएको थियो । ती दुबै ठाउँको हालत नाजुक छ ।

राष्ट्रपतिले शुभारम्भ गरेको रानीपोखरीको पुनःनिर्माण विवादित भएर रोकिएको छ । अहिले यसको अलग्गै अध्ययन हुँदैछ भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको ऐतिहासिक बस्ती बुङमतीबाट यसको शुभारम्भ गर्नुभएको थियो ।

यससंगै जनताको घर पनि धमाधम बन्ने प्रक्रिया सुरु हुने अपेक्षा थियो । तर, त्यो आशामै सीमित रहेको छ । अहिलेसम्म समग्रमाा जनताका पचासहजार घर पनि बनेको छैन । जवकि सातलाखभन्दा बढी घर भत्किएका छन् । सकारले घर बनाउन दिने अनुदान रकम र त्यसको प्रक्रिया यति ढिलो छ कि बयान गरी साध्य छैन ।

भाषण र योजना एकथरि बन्ने, काम अर्काथरि हुने भैरहेको छ । घर बनाउने अनुदान प्राप्त गर्ने प्रक्रिया यति झण्झटिलो छ कि त्यो अनुदान दिनका लागि हो कि नदिनका लागि हो बुझ्न कठिन हुन्छ । अनुदान प्रक्रिया जस्तो बन्यो त्यो दाताबाट पैसा ल्याउने, जनतालाई झुक्याउनका लागि मात्र हो ।

अहिलेसम्म एकलाख पीडितले पनि पूरै किस्ता लिन पाएका छैनन् । तीनवटा वर्षा र जाडो टहरा र त्रिपालमै बिताए पचासौंलाख जनताले कष्टकर जीवन बिताइरहेका छन् । तर पुनःनिर्माणमाा कसैको कुनै चासो नभएजस्तो छ ।

दुर्गम गाउँको कुरै छाडौं, राष्ट्रपति र प्रधानमन्त्रीले सुरु गरेको पुनःनिर्माणको काम समेत अलपत्र छ । पुनःनिर्माणको गति नागरिक दैनिकको यो समाचारले खुलस्त पार्दछ ।

ललितपुर-ललितपुरको ऐतिहासिक बस्ती बुङमतीस्थित ‘टोखा पिनी’ टोलमा दुई वर्षअघिको माघ २ गते भूकम्प दिवसको अवसर पारेर भूकम्पपछिको पुनर्निर्माण कार्य सुरु गर्दा टाँगिएको ब्यानर हो, यो । त्यति बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले यहींबाट पुनर्निर्माण महाअभियान थालनी गरेका थिए ।

आफ्नै टोलमा आएर प्रधानमन्त्रीले गरेको वाचाले बुङमतीका भूकम्पपीडितमा छुट्टै खालको आशा सञ्चार भएको थियो । भूकम्पले घर र ऐतिहासिक महत्वका संरचना ढालेको करिब नौ महिनापछि भए पनि सरकार प्रमुखकै उपस्थितिमा गरिएको प्रतिबद्धताले उनीहरूको मुहारमा खुसी छाएको थियो । तर दुई वर्ष बित्दा पनि पुनर्निर्माण सुरु गरिएको गेटछेउमा भग्नावशेषमात्रै देखिन्छ । स्थानीय बासिन्दा तपतप शीत चुहिने टहरामा छन् । उनीहरु सरकारले बेवास्ता गरेकै कारण आफूहरुले दुःख पाएको गुनासो गर्छन् ।

‘आफ्नै गाउँमा प्रधानमन्त्रीजस्ता व्यक्ति आएर पुनर्निर्माण सुरु गर्दा निकै हर्ष पलाएको थियो,’ बुङमतीका पे्रमभक्त मालीले भने, ‘तर यस्तो होला भन्ने सोचेका थिएनौं ।’ उनले त्यति बेला फूलमालामा सजिएर मञ्चमा आसीन प्रधानमन्त्रीले भाषण गर्दा एक वर्षभित्र गतिलो ओत दिने प्रतिबद्धता जनाएको बताए । मालीको परिवार अहिले पनि टहरोमै बस्दै आएको छ । सरकारबाट केही नहुने छाँट देखिएपछि उनको परिवार मिलेर नयाँ घरको जग बसाएको छ । ‘सरकारको मुख ताक्दाताक्दै दुई वर्ष बित्यो,’ उनले भने, ‘साह्रै दुःख पाइयो, अहिले ऋण खोजेर भए पनि टहरो बनाउँदैछौं ।’

उनीजस्तै बाबुराम देसारले पनि सरकारले दिएको ५० हजार किस्ता र आफूसँग भएको पैसाले घर बनाउन जग हालेका छन् । सरकारी पक्षबाट घर बनाउन सहायता नआएपछि आफूले घर बनाउन सुरु गरेको उनले सुनाए । उनले भने, ‘भूकम्पले हाम्रो टोलको साख खोसिदियो, उपत्यकाको पुरानो मौलिक बस्तीलाई कसैले वास्ता गरेन, पुरानो दृश्य सम्झँदा फेरि त्यस्तै रूपमा बुङमती फर्केलाजस्तो लाग्दैन, सरकारले गरेको व्यवहारले थप कष्ट दिएको छ ।’ उनले बुङमतीमा भत्किएका ऐतिहासिक संरचनाको जग नउठेका कारण ऐतिहासिक बस्ती नै ओझेलमा पर्ने डर देखिएको सुनाए ।

त्यसो त प्रधानमन्त्री नै पुगेर भूकम्प पुनर्निर्माण महाअभियान सुरु गरेको बुङमती अहिले पनि भग्नावशेषकै रूपमा छ । आफ्नै बुताले घर बनाउन नसक्नेहरू अझै पनि टहराकै बासमा छन् । धेरै मन्दिर, पाटीपौवा र ऐतिहासिक संरचनाको पुनर्निर्माण हुन सकेको छैन । ऐतिहासिक मच्छिन्द्रनाचको मन्दिरको जग बसालेर काम छाडिएको छ । ‘टोखा पिनी’ टोल छेउमै रहेको ऐतिहासिक ‘गंगा–जमुना’ पोखरी जीर्ण छ ।

ऐतिहासिक सम्पदा जोगाउन सम्बन्धित निकायको ध्यान नपुग्दा स्थानीय निराश छन् । ‘भूकम्पअघि बुङमतीको साख नै अर्कै थियो,’ स्थानीय राधामाया मालीले भनिन्, ‘उपत्यकाकै मौलिक र प्राचीन बस्तीमध्ये एक मानिने बुङमतीलाई कसैले पनि जोगाउन मानेनन् ।’ उनले रातो मच्छिन्द्रनाथको मन्दिरले बुङमतीको शोभा बढाए पनि अहिले त्यसको पुनर्निर्माणमा समेत कसैको ध्यान नपुगेको बताइन् । ‘हामीले घर बनाउन सरकारबाट पाएको ५० हजारले न घर बन्न सक्छ, न त कुनै संरचनाको निर्माण नै,’ मालीले भनिन्, ‘भित्री बस्ती र सम्पदा क्षेत्रमा एक आनाभन्दा कम जग्गामा घर भएकाका लागि थप समस्या छ, यस्तो जग्गामा हामीले कसरी घर बनाउने ।’ उनले थोरै जग्गामा घर बनाउँदा सरकारले दिने सहयोग नपाइने र घरको नक्सापास समेत नभएको बताइन् ।

ओली सरकारले पुनर्निर्माण महाअभियान सुरु गरेको टोलकै चार सय ५० परिवारको बास अझै टहरामा छ । एक हजार तीन सय घरधुरी रहेको बुङमतीमा आठ सय ५३ घर भूकम्पले भत्काएको थियो । तीमध्ये केहीले सरकारी सहायताबिनै आफ्नै पहलमा घर बनाएका छन् भने पैसा नहुनेहरु जस्ताको टहरो बनाएर बसेका छन् । यो बस्ती पुनर्निर्माणका लागि करिब डेढ वर्षअधि ‘बुङमती पुनर्निर्माण तथा विकास समिति’ गठन गरिएको थियो ।

समिति आफैं पनि बुङमती पुनर्निर्माण कसरी गर्ने, रनभुल्लमा छ । समितिका अध्यक्ष प्रेमभक्त महर्जनले सरकारले प्राचीन र मौलिक बस्तीलाई नमुनाका रूपमा पुनर्निर्माण गर्ने भन्दै यस क्षेत्रबाट महाअभियान थालेको बताए । उनले स्थानीय, महानगरपालिका र राजनीतिक दलका नेताबीच समन्वय नहुँदा यसअघिको नमुना बस्तीको अवधारणा पनि अलपत्रमा परेको बताए । ‘पुनर्निर्माणका लागि २० भन्दा बढी इन्जिनियरलाई तालिम दिइसकेका छौं,’ महर्जनले भने, ‘तर महानगरपालिकाले गर्ने काममा ढिलासुस्ती भएकोले ऐतिहासिक बस्ती पुनर्निर्माणको काम ओझेलमा परेको हो ।’ बुङमती ललितपुर महानगरपालिकाअन्तर्गत पर्छ ।

महर्जनले घर बनाउन समितिले धमाधम नक्सा बनाउने काम गरिरहेको बताए । ‘यसअघि बस्ती कसरी पुनर्निर्माण गर्ने भनेर स्थानीय र महानगरपालिकाबीच छलफल चलेकाले पुननिर्माणमा ढिलो भएको हो,’ उनले भने, ‘महानगरपालिकाले नक्सापासको स्वीकृति नदिँदा अझै काम अघि बढ्न सकेको छैन ।’

उनका अनुसार समितिले महानगरपालिकासँग छलफल गरी इन्जिनियर र निर्माण सामग्रीको जोहो गरिसकेको छ । स्थानीयलाई एउटै शैलीमा घर बनाउन सुझाव पनि दिइएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ऐतिहासिक बस्ती पुर्निर्माण गर्ने कार्य संवेदनशील भएकाले अझै पनि स्थानीय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग छलफल चलिरहेको बताए । उनले बजार क्षेत्रमा नक्सापासमा स्मार्ट सिटीको अवधारणा अवलम्बन गर्नुपर्ने भएकाले ढिलाइ भएको बताए । ‘स्मार्ट सिटी बनाए पनि हामी मौलिकतालाई ध्यान दिन्छौँ,’ उनले भने, ‘अहिले आत्तिएर स्थानीयले आफूखुसी घर बनाउँदा पछि भत्किन पनि सक्छ, अबको एक महिनाभित्र हामीले समितिलाई काम थाल्न निर्देशन दिएका छौं ।’

खोकना पनि उस्तै
ललितपुरकै खोकना पनि बुङमतीजस्तै ऐतिहासिक बस्ती मानिन्छ । यो बस्तीलाई पनि भूकम्पले क्षतिग्रस्त बनाएको थियो । यहाँ पनि बुङमतीकै जस्तो समस्या छ । नौ सय घरधुरी रहेको खोकनाका आठ सय घरमा भूकम्पले क्षति पुगेको थियो । खोकना पुनर्निर्माण तथा पुनस्र्थापना समिति अध्यक्ष श्याम महर्जनले खोकनामा अहिले घर बनाउने कार्य अघि बढेको बताए ।

चारसय वर्षको इतिहास कहिले ब्यूँतन्छ रानीपोखरीको (भिडियोसहित)