कतै तपाईको घरमा यस्ता बस्तु त छैनन् जसले हानी गरिरहेको होस्

यादब देवकोटा

बास्तुशास्त्र प्राचीन विज्ञान हो र यो ज्योतिष विज्ञानकै एक अंग पनि हो । बास्तुशास्त्र मानिसको जीवन सुखी र खुसी बनाउनका लागि अपनाउनुपर्ने नियमहरुको संग्रह हो र यो शास्त्रले केही निश्चित नियमहरु प्रतिपादन गरेको छ जसलाई आधुनिक विज्ञानले पनि नकार्न सक्दैन ।

त्यसैले त आज विश्वभर बास्तुशास्त्र लोकप्रिय छ । बास्तुशास्त्र र कलाले मिलेको घरमा सधै सुख, शान्ति छाइरहन्छ भन्ने मान्यता छ र हामीले घर बनाउँदा बास्तुशास्त्रलाई महत्व दिने गर्दछौं । जस्तो कि मूल ढोका कता राख्ने, भाञ्छा घर, शौचालय, शयनकक्ष, बैठक कक्ष आदिको दिशाका बारेमा जमिनको आधार र दिशा हेरेर बास्तु निर्धारण गरिन्छ ।

यति मात्र हैन घरभित्र कुन सामान कसरी कुन दिशामा राख्ने र कस्तो कस्तो सामान राख्नुहुन्न भन्ने पनि बास्तुशास्त्रले निश्चित गरेको छ । आज हामी यस्तै केही कुराहरुको जानकारी दिंदैछौं, जुन बस्तु घरमा राख्दा के हुन्छ र नराख्दा के हुन्छ ।

खासमा बास्तुकला मिलेको घरमा टुटेफुटेका सामान राख्दा नकारात्मक उर्जा पैदा हुन्छ । यसका साथै आर्थिक रुपमा हानी नोक्सानी हुने गर्छ । यति मात्र होइन घरमा भएका अनावश्यक टुटेका फुटेका सामानले मानसिक तनावको कारण पनि बन्ने गर्छ ।

हामीलाई अलिकति टुटेफुटेका वा कुच्चिएका सामान मिल्काउन लोभ लाग्छ, लाग्नु स्वाभाविक पनि हो । तर त्यसको लोभ गर्दा नजादिंदो किसिमले कति क्षति पुगिरहेको छ भन्ने हेक्का राख्ने गरेका छैनौं । यस्तै केही टुटेफुटेका बस्तु घरमा राख्दा हुने हानीका बारेमा यहाँ जानकारी दिनेछौं ।

भाँडाकुँडा
भान्साकोठामा पुराना भइसकेका र टुटेफुटेका भाँडाकुँडा राख्दा महालक्ष्मी अप्रसन्न हुने र घरमा दरिद्रताका साथसाथै आर्थिक हानी हुने गर्छ ।

घडी
बास्तुको अनुसार घरमा चल्न छोडेको वा बिग्रिएको घडी घरमा राख्नु अशुभ मानिन्छ । यसले परिवारको सदस्यको उन्नति हुन रोक्छ । साथै, यसले घरमा नकारात्मक उर्जा पनि फैलाउँछ ।

ऐना
फुटेको, चर्केको वा ऐनाको टुक्रा बास्तुको अनुसार एकदमै ठूलो दोष हो । यसले घरमा नकारात्मक उर्जा सक्रिय गराउँन मद्दत गर्छ । जसले गर्दा परिवारको सदस्य मानसिक तनावको सामाना गर्नुपर्छ ।

खाट/पलङ
यदि तपाईंको वैवाहिक जीवन सधैँ सुखद बनाउँन चाहानुहुन्छ भने घरमा भएको पलङ वा खाट भाँचिएको हुनुहुँदैन । यदि सुत्ने विस्तारा भाँचिएको छ वा टुटेको छ भने वैवाहिक जीवनमा तनाव सिर्जना हुन्छ ।

तस्बिर
घरमा राखिएको तस्बिरका फ्रेम पनि फुटेको वा चर्किएको छ भने तुरुन्तै हटाइदिनुपर्छ । च्यातिएको र यस्ता फुटेका तस्बिर राखेमा घरमा परिवारकोबीचमा मतभेद पैदा हुन्छ ।

ढोका
घरभित्र छिर्ने ढोका वा गेट टुटेको छ भने अशुभ मानिन्छ । यसबाट घरमा नकारात्मक उर्जा गर्छ ।

फर्निचर
बास्तुको अनुसार घरमा टुटेफुटेका फर्निचर राख्दा अशान्ति फैलन्छ । स्वाभाविक हो कि टुटेफुटेका सामान देख्दा हाम्रो मस्तिष्कमा नराम्रो भावना पैदा गर्दछ र त्यसले दिक्दारी तथा तनाव उत्पन्न हुन्छ ।

यी त भए राख्न नहुने सामान । अब अनिवार्य रुपमा घरमा सधैं राख्नुपर्ने सामानहरु र त्यसले पार्ने सकारात्मक प्रभाव र लाभका बारेमा छोटो जानकारी ।

सर्वप्रथम गृहप्रवेशको पहिलो द्वार अर्थात् मूल ढोकाको कुरा गरौं- घरको मुख्य ढोकामा लक्ष्मी र कुवेरको मुर्ती वा स्वस्तिकको चिन्ह राख्नु शुभ मानिन्छ । यो चिन्हले घरमा अभाव हुन दिँदैन ।

त्यस्तै मूल ढोका अगाडि एउटा ठूलो ऐना ठड्याउनुस् ताकि घरमा छिर्ने मान्छेको पूरा प्रतिबिम्ब त्यसमा आओस् । यसो गर्दा नकारात्मक ऊर्जा भएको मान्छे घरमा छिरेछ भने पनि त्यसका ऊर्जा फर्केर जान्छन् ।

द्वारमा आशीर्वाद मुद्रा भएको हनुमानजीको मूर्ति वा तस्वीर लगाउँदा दक्षिणतिर फर्केको मूलद्वारको वास्तुदोष काटिन्छ । मूलद्वारमा पञ्चधातुको पिरामिड लगाउँदा पनि वास्तुदोष समाप्त हुन्छ ।

घरमा माटोको घडा राख्नुस् । यसले घरमा पैदा गर्ने सकारात्मक उर्जाले धनको अभाव हुन दिँदैन । तर घडामा सँधै सफा पानी भरेर राख्नुस् ।

घरको दक्षिण-पश्चिम दिशामा पञ्चमुखी हनुमानको प्रतिमा वा तस्विर लगाउनुस् । यसको नित्य पुरा गर्दा घरमा पैसाको अभाव हुँदैन ।

घरमा वास्तु दोष हुने भएका कारण धनको अभाव हुने वास्तु शास्त्रको भनाइ छ । वास्तु दोष हटाउनका लागि घरमा वास्तु भगवानको प्रतिमा राख्नु राम्रो मानिन्छ । यसो गर्दा धनको अभाव दुर हुन्छ ।

मुख्य द्वारमा वास्तुदोष देखिएमा घन्टी वा विन्डचाइम झुण्ड्याउनुस् जसका कारण घरमा नकारात्मक ऊर्जा छिर्न पाउँदैन ।

घरका अधिकाँश सदस्यहरुले धेरै समय विताउने कोठा वा स्थानमा चाँदी, पित्तल वा तामाको पिरामिड राख्नुस् । यसले घरमा धनको अभाव हुन दिँदैन ।

वास्तु शास्त्रमा घरमा शुभ उर्जा पैदा गर्नका लागि धातुले बनेको कछुवा वा माछा राख्नु राम्रो मानिन्छ । यसले घरमा आर्थिक अभाव हुन दिँदैन ।

यी शास्त्रीय मान्यता र बिधि हुन् । यी काम गर्दैमा शान्ति, सुख र धन मिल्ने भन्ने पक्कै होइन किनभने यी कुरा मानिसको कर्ममा निर्भर गर्छ । तर कर्मका लागि मन शान्त हुनु आवश्यक छ र उपरोक्त कुराहरुमा ध्यान दिए मन शान्त हुन्छ, घरपरिवारमा शान्ति कायम रहन्छ जसले स्वाभाविक रुपमा सुख मिल्दछ ।