कथा अनि ब्यथा भाग-४१ “स्थायी कामका लागि प्रयास”- २

– विसु भण्डारी

म त लाली गुराँस भएछु । बनै भरी फुली दिन्छु, मनै भरी फुली दिन्छु । फाँटहरुले कस्लाई पुग्छ, भिरमा पनि फुली दिन्छु । खुशी मात्र कहाँ हुन्छ । पिरमा पनि फुली दिन्छु ।

कस्तो मार्मिक गीत छ । स्थाई काम खोजिरहेको कालीदासले नारायणगोपालको गीतबाट पनि आफूलाई सहयोग मिलेको महसुस गर्छ । म पनि लालीगुराँस जसरी नै लचकिलो भएर तयारीका साथ अन्तर्वार्ता दिने गरेमा अबश्य पनि आफ्नो रुचीको, जान चाहेको कम्पनीमा स्थाई काम पाउन सकिन्छ भन्ने विश्वास लिन्छ ।

हुन पनि हो । चाहेको कुरा जसरी पनि हात पर्छ, अन्तिमसम्म प्रयास गरिरहेमा, हरेस नखाएमा ।

विभिन्न साइटहरुबाट, विजनेस स्कुलबाट र विव्विद्यालयको इभेन्टमा धेरैभन्दा धेरै कम्पनीको बारेमा जानकारी लिइसकेको थियो । बेलुकाको आरुबाईतो (पार्ट टाईम जब) त गर्न परिहाल्यो, दिउँसोको समय विश्वविद्यालय र काम खोज्नमा बिताएको थियो ।

काम खोज्न न जाने, जुनसुकै ठाउमा पनि जापानीजहरुको संख्या नै बढी थिए । विश्वविद्यलय पढने विदेशीहरुको जनसंख्या धेरै थोरै थियो । त्यो भएर पनि स्थाई काम खोज्ने विदेशी विद्यार्थीको संख्या कम भएको होला कि ।

सधै झै कुनै पनि कम्पनीको अन्तरबार्तामा जादा , पहिला राम्रो अक्क्षरमा आफ्नो रिरेक्सो (बायोडाटा) लेख्ने । आफू अन्तर्वार्तामा जाने कम्पनीको होमपेज सबै चेक गरी त्यो कम्पनीको राम्रो पक्ष भन्नसक्ने हुने । आफूले त्यस कम्पनीमा गर्न चाहेको काम के हो त भन्नसक्ने हुने । आफ्नो राम्रो पक्ष र नराम्रो अर्थात सुधार गर्नुपर्ने कुराहरु पनि धेरै सोच्नुपर्ने (बुझेको हुनु पर्ने) ।

जुनसुकै कुरा पनि मनबाट, जोस र जागरका साथ गर्नुपर्ने, हसिलो हुनुपर्ने जस्ता कुराहरु ध्यान दिएर स्थाई कामको खोजी गरेमा काम अबश्य पनि पाइन्छ जस्तो लागिरहेको थियो । एक दिन एउटा कम्पनीको खाइस्या सेचुमेईखाईमा (कम्पनीहरुले आफ्नो बारेमा जानकारी दिने ईभेन्ट) जान त जान्छ । तर पछि बल्ल थाहा पाउँछ कि त्यस कम्पनीले जापानीहरु मात्र खोजेको रहेछ ।

यस्तो कुराले कालीदासको मन खल्लो बनाउछ पनि । १९ वर्षमा जापान आएर, आफ्नो जीवनको अमूल्य समय नै जापानमा बिताइसकेको, आफू जन्मेको चाही नेपाल भएतापनि आफूलाई पाउने आमा नेपाल र ज्ञान दिने, सीप दिने आमा चाहि जापान हो भन्दै हिंडने, नेपाललाई जति माया गर्छ त्यतिकै जापानलाई पनि माया गर्ने, जापानीजहरु सरहको काम गर्नसक्ने क्षमता भए तापनि गाइकोकुजिन (विदेशी नागरिक) भनेर थन्क्याइदिन्छन भन्या ।

यही पढेको, यहि हुर्केको भए तापनि, कुनैकुनै कम्पनीले विदेशीहरुलाई नलिने भनेर होमपेजमा लेख्ने गरेको र नलेखता पनि बिदेशीहरुलाई अर्कै नजरले हेर्ने प्रवृत्ति भएकाले आफुलाई मज्जा नलागेको महसुस गर्छ ।

तर, यसो सोचेर हेर्दा हामीहरुले पनि नेपालमा काम गर्ने, काम खोज्ने विदेशी नागरिकलाई त्यस्तै ब्यबहार गर्छौ जस्तो पनि लाग्छ । सोचेर हेर्नुस त, नेपालमा काम गर्ने भारतीय दाजु भाइहरुलाई हामीहरुले कस्तो व्यवहार गर्छौ । जापान सुधार्नको लागि पनि, पहिला आफ्नो नेपाली सोचलाई परिवर्तन गर्नु पर्छ जस्तो पनि लागेर आउँछ ।

एक दिन बेलुका आरुबाईतो गर्ने ठाउँमा, जापानीज साथीसंग कुरा गर्दा प्रसंग बस स्युसोकु खाचुदो (स्थाई काम खोज्ने प्रकिया)को बारेमा कुरा गर्न पुग्छ ।

यो जापानमा भनेको जस्तो स्थाई काम पाउन कती गारो है । त्यस जापानीजले भन्छ । हामी जापानीजलाई पनि गारो छ । विदेशीहरुलाई त गारो हुने भैहाल्यो नि । तर कालीदासको जापानीज भाषा, प्रस्तुत हुने तरिका , आफूलाई बुझेको जस्ता पक्षहरु राम्रो छन, चिन्ता मान्नु नै पर्दैन ।

जापानीज साथीको फकाइमा कालीदास पनि मख्ख परिहाल्छ । यस्ता कुराहरुले कालीदासलाई अझै प्रेरणा मिल्छ र आउने दिनका अन्तरबार्ताका लागी पनि हिन्ट मिलेको महसुस गर्छ ।

(क्रमशः)

यो पनि पढ्नुहोस

कथा अनि ब्यथा भाग ४० “स्थायी कामका लागि प्रयास”