बडा दशैंको विशेष दिन– विजया दशमी छोरी–चेली नै दुर्गा भवानीको प्रतीक

26 October, 2020 11:14 | बिचार | comments | 27750 Views

यादब देवकोटा

बडा दशैंको सबभन्दा महत्वपूर्ण दिन अर्थात् विजया दशमी । नौ दिनसम्म दशैंघरमा राखिएको जमरालाई विजयाको प्रतीक मानेर दही र अबीरमा मुछेको अक्षत चमलको टीका र जमरा लगाएर भवानीको आशीर्वाद प्राप्त भएको अनुभूति गर्ने दिन । मातृशक्तिको आराधना गर्ने दशैं पूर्वीय जीवनशैलीको अभिन्न पर्व हो । यसको शास्त्रीय महत्व जति छ त्योभन्दा विशेष छ लौकिक परम्परा । यो जीवनयापन गर्ने एउटा कला हो, सृष्टि संरचना र संहार बोध गर्ने एउटा सूत्र हो । दशैंमा मातृशक्तिको आराधना गरिन्छ । सनातन वैदिक धर्मले मातृशक्तिको महिमाको गुणगानका साथै यो शक्तिलाई विशेष महत्व दिएको छ ।

दशैंमा गरिने कन्यापूजाको विशेष महत्व र अर्थ छ । एउटा मानिस पूर्णरुपमा मानिस बन्न ज्ञान, धन, बाहुबल र पापरहित जीवन आवश्यक पर्दछ । यसको प्राप्तिका लागि दशैंको अवधिमा ज्ञान प्राप्तिका लागि ब्राह्मण कन्याको पूजा गरिन्छ । बाहुबल वा सामरिक शक्ति प्राप्त गर्न क्षत्रीय कन्या पूजनीय हुन्छिन् । धन प्राप्तिका लागि वैश्यकन्याको पूजा गर्नुपर्छ । मारण–मोहन–उच्चारण शत्रु परास्त गर्न अभिचार प्रधान कामको सिद्धिका लागि चाण्डाल कन्याको पूजा गरिन्छ । सामाजिक संगठनको महिमामा आधारित यो अनुष्ठान वा कन्या पूजाले मातृशक्तिलाई कति महत्व दिएको छ स्वतः स्पष्ट छ । जगदम्बा भवानीका दृष्टिमा ब्राह्मण हुन् वा क्षत्रीय, वैश्य हुन कि शुद्र, चाण्डाल पर्यन्त सबैका पुत्र –पुत्री वा सन्तान समान छन् ।

  

कुमारी पूजा गर्ने पूजारी वा साधकले उपर्युक्त चारै वर्णका कन्यालाई जगद्धातृ, जगदम्बा, माता भनेर स्तुति गर्दछ । त्यस्ता रजस्वलासम्म नभएका एक वर्षदेखि नौ वर्षसम्मका कन्यालाई माता, जगदम्बा, जगद्धातृ आदि शब्दविन्यासले किन सम्बोधन गरियो त्यो पनि बयोवृद्ध पुरुष जो चार बीस हिँउद खाएर हजुरबाउ भइसकेको छ । यस्तो हजुरबाउले तोतेबोली बोल्ने पनातिनीलाई माताका रुपमा पूजा गर्ने नवदुर्गाको प्रतीक दशैंको पृष्ठभूमिमा के के अरु रहस्य होलान् ? सबै उल्लेख गरेरै सकिन्न ।

यो पनि पढ्नुहोस्

दशैं नारी नै सर्वश्रेष्ठ हुन् भन्ने अकाट्य प्रमाण

स–साना कन्याको पूजाहोस् वा अन्य चाडबाडमा गरिने अष्ट मातृकाको पूजाले नारी जातिप्रति हेर्ने दृष्टिकोण र त्यसको प्रभाव समाजका युवा वर्गमा सकारात्मक पर्छ भन्ने आमविश्वास थियो । आफ्नो गाउँका कुनै पनि नारीलाई कुदृष्टिले हेर्ने वा मर्यादा उल्लघंन गर्ने हिम्मत गर्न नसक्ने वातावरण स्वतः बन्छ भनेर यसलाई संस्कारमा जोडियो । विवाह होस् वा ब्रतवन्ध अन्य यस्तै यज्ञयज्ञादिमा अष्टमातृकाको पूजा गर्नपर्ने हुनाले मातृगणप्रति पुरुषको दृष्टि क्रुर हिंसात्मक वा कठोर नभै सम्मान र सहयोगी हुनै पर्ने सन्देश कन्यापूजाले प्रतिवर्ष दशैंमा दिने परम्परा रह्यो । मल्लकालमा कुमारीको साथै तलेजु भवानी लगायत तान्त्रिक विधि अनुसारका अनुष्ठान र पूजा यही परम्पराका साँस्कृतिक स्रोतका हाँगा बने । कुमारीका करकमलबाट पुष्पाहार ग्रहण गरेर तीनै कुमारीलाई श्रद्धाभक्तिपूर्वक प्रणाम गर्दै राष्ट्रिय एकताको प्रतीक विजयी बन्दै गरेका पृथ्वीनारायण शाहले कुमारीको दर्शन परम्परा स्थापित गरेको त्यो कालखण्डमा वर्णित इतिहास र दशैंमा कन्या पूजा वा दुर्गा पूजाको योग अस्वभाविक अवास्तविक कल्पनाको आख्यान मात्र होइन संस्कृतिको पालनामा आत्मसात गरिएको सन्दर्भ नै जोडिएको थियो ।

विवाह पूर्व सगोत्री र गोत्र बाहिरका सबै आफ्नै दाइभाई दिदीबहिनी सरह नै सम्बोधित हुन्छन् । आफूभन्दा कम उमेरकी कन्यालाई वा युवतीलाई छोरीबेटी भनिन्छ । वाग्दान वा धर्मानुष्ठानपूर्वक यो सम्बन्धमा परिवर्तन ल्याउने विधि नै विवाह संस्कार हो । यसरी विधिवत सम्पन्न विवाहपछि त्यो नारी कसैकी धर्मपत्नी, कसैकी बुहारी हुन्छिन् । यसले शास्त्रमा यही परिवर्तनको प्रक्रियामा विशेष विधि छ । यसरी कसैकी धर्मपत्नी, कसैकी आमा र कसैकी छोरीलाई कन्या हुँदा सबैले पूजा गरिने जगदम्बा माताकै प्रतीक हुन् ।

आठ दशक काटेका बुढा हजुरबुबाहरूले रजस्वला पनि नभएका ससाना कन्याकेटीलाई दशैंमा माता भनेर कन्या पूजा गरेर हिंसाजन्य यौन विकृतिका किटाणुको समूल नष्ट गर्न जुन प्रक्रियाको पालना गरे त्यो कोरा नाराबाजी थिएन । मानवीय उच्च गुणवक्ताको चारित्रिक विशेषता मातालाई संरक्षणको निमित्त अत्यन्त सारग्रहित प्रयोग थियो । जीवनशैलीमा धर्म र कर्म यसरी आवद्ध थियो । धर्मपत्नीको कर्तव्य, अधिकार र भूमिका जस्तै पतिको पनि कर्तव्य र अधिकार तथा भूमिकाको स्पष्ट सीमांकन वैवाहिक यज्ञस्थलबाटै सुरु हुन्थ्यो । पति पत्नी दुवैले प्रतिज्ञा नै गरेर गृहस्थ जीवन अथवा आश्रममा प्रवेश गर्थे । त्यसपछि उनीहरूले पनि दशैं त्यसरी गरी मान्थे जसरी आफ्ना पूवर्जहरूले मान्दै आए ।

यस्तो कर्म, उपासना र ज्ञान प्राच्य धर्म संस्कृतिको स्रोत वेद थियो । संस्कृति सनातन वैदिक धर्मको मूल स्रोतबाट मिलेका अन्य अनेक धारा प्रवाहित छन् । त्यसमा जीवनशैलीको विशेष महत्व छ । यिनै कर्म, उपासना र ज्ञानको त्रिवेणी निरन्तर प्रवाहित छ । यो न त कतै आशक्त न त कुनै विषय वा कर्ममा अशक्त हुन्छ । आशक्तिले भुतुक्कै भएर मोहजालमा पनि नफस्ने र अशक्त वा असक्षम भएर किंकर्तव्य विमुढका रुपमा गतिहीन, शिथिल र गलित, लाचार पनि नहुने जे जस्तो आइ परोस्, सहज रुपमा दिनचर्या व्यवस्थित गर्दै कर्म, उपासना र ज्ञानका त्रिवेणीबाट भवसागर पार तर्ने सनातन वैदिक धर्मावलम्बीको परम्परा हो । यसरी जीवनशैली उल्लासमय हुँदै प्रकृतिको परिवर्तित स्वरुप र समय अनुरुप स्वतः ऋतुचक्रकै परिवेशमा व्यवस्थित भएको आधारमा प्राच्य जीवनशैलीको एक सूत्र दशैंको सम्बन्धमा केही प्रकाश पार्ने प्रयास भयो ।

विजया दशमी बौद्धहरूले पनि दिवसको रुपमा मनाउँछन् । सम्राट अशोकले हिंसाको प्रतीक हतियार त्यागेर बुद्धधर्ममा समर्पित भएको दिन विजया दशमीको दिन थियो । कन्यापूजा लगायत मातृशक्तिका प्रतीक नवदुर्गा, अष्टमातृकाको पूजा—आजाले नारी जातिलाई हेर्ने जुन दिष्टकोण थियो त्यो वदलिदो शिक्षाका कारण अहिले गौण भयो । दशैंलाई जातीय चश्मा लगाएर हेर्न थालियो, शास्त्रले चारै जातका कन्यालाई विशेष महत्व दिएर उनीहरुको पूजा गर्नैपर्ने संस्कार स्थापित गरिएको भए पनि यसलाई गौण बनाएर राजनीतिक खपतका लागि अन्टसन्ट बोलेर सांस्कृतिक अतिक्रमणलाई बढावा दिइयो । दशैं पनि सांस्कृतिक अतिक्रमणको शिकार हुँदैआएको छ ।

(प्रस्तुत आलेखको सन्दर्भ स्रोत पूर्वीय दर्शनका ज्ञाता वेदराज पन्तको कृति “दशैं”बाट लिइएको हो)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More