सापेक्षवादमा भौतिक विज्ञान र अध्यात्मको तर्क र भिन्नता

2 September, 2020 14:28 | बिचार | comments | 40950 Views

यादब देवकोटा

भौतिक विज्ञानका महान वैज्ञानिक आइन्सटाइनले प्रतिपादन गरेको सापेक्षताको सिद्धान्तले दिने सन्देश वास्तविकता अर्थात् यथार्थ भन्ने बुझिन्छ । आइन्सटाइनले प्रकाशको गतिलाई लिएर जसरी सापेक्षवादको प्रतिपादन गरे उनले प्रकाशको गति चर्मचक्षुले ठम्याउन नसक्ने भएकाले “सबैले एउटै गतिमा उज्यालो दिएको देख्छन्” भने । यसको अर्थ प्रकाश स्थिर छ भन्ने हैन, प्रकाशको गति मनको गतिपछिको सबैभन्दा तीब्र हुन्छ भनिन्छ ।

मानिसले प्रकाशको गति नदेखेर यो स्थिर छ भन्ने भ्रममा रहे जस्तै समाजका हरेक पक्षहरु गतिशील र परिवर्तनशील हुन्छन्, तर समाज स्थिर रहेको देख्नेहरु छन् । हरेक जीव, निर्जीव सबैको सापेक्षता छ । अर्को अर्थमा भन्नुपर्दा सबैको धर्म हुन्छ– प्रकृतिले दिएको गुणहरु प्रकृतिमा रहेका सबैको हितमा प्रयोग गर्नु । अर्थात् पानीको धर्म, आगोको धर्म, हावाको धर्म, ढुंगा–माटोको धर्म । सबै भौतिक, अभौतिक वस्तु वा पदार्थको जिम्मेवारी तोकिएको छ र त्यो नै सापेक्षता हो । अहिले मानव बाहेक सबैले सापेक्षताको पालना गरिरहेका छन् ।

  

जे देखिन्छ त्यो मात्र सापेक्षता हैन, त्यसभित्रको गुण रहस्यले त्यो बस्तु वा पदार्थको सापेक्षता पुष्टि हुन्छ र कुनै पनि कुरा निरपेक्ष रहन सक्दैन भन्ने भौतिक विज्ञान र अध्यात्म अर्थात् वैदिक संस्कृतिको निष्कर्ष हो । आगो, पानी, हावा, अन्न, माटो, सूर्य, चन्द्रमा सबै सापेक्ष हुन्छन् र उनीहरु कसै गरी पनि निरपेक्ष हुन सक्दैनन् भन्ने निष्कर्षलाई भौतिक विज्ञानले एक किसिमले परिभाषित गरेको छ भने वैदिक शास्त्रहरुले त्यसलाई अझै गहिरोसंग प्रस्ट्याएको छ । यसको चर्चा विस्तारमा गरिनेछ ।

पूर्वीय दर्शनमा सापेक्षताको बेग्लै महत्व छ । परापूर्वकालदेखि (आइन्सटाइनभन्दा हजारौं वर्ष अघि) नै नेपाल लगायत वैदिक सनातनी धर्म–संस्कृति भएको मुलुकमा सापेक्षतावादले जरा गाडेको हो । सापेक्षतावादलाई नैतिक परमतत्वसंग तुलना गर्दै धर्मच्यूत हुनबाट रोक्ने प्रयास गरिएको छ । किनभने नैतिकता विश्वव्यापी सिद्धान्त अर्थात् प्रकृति र सृष्टि व्यवस्थामा महत्वपूर्ण छ र यसको पालना नै धर्म हो भनिएको छ र धर्मसापेक्ष नै हुन्छ । धर्मले कहिल्यै विभेद गर्दैन यसका लागि पनि नैतिकता नै मूल रुपमा खडा भएर आउँछ । भौतिक विज्ञानको सापेक्षतावाद अघि नै नैतिक सापेक्षतावादको सिद्धान्त शास्त्रहरुले प्रतिपादन गरेर घरघरमा पुर्याइसकेको अवस्थामा अहिले निरपेक्षताको डम्फु बजेर नेपाल विकृत बन्दै गएको छ ।

हरेक व्यक्तिको सबभन्दा ठूलो शक्ति र धन भनेको नैतिकता हो र नैतिकता कुनै परमतत्ववादी मापदण्डमा आधारित छैन । यसको अपेक्षा नैतिकताको यथार्थ परिस्थिति, संस्कृति र व्यक्ति स्वयंले भोगेका अनुभवहरुमा आधारित हुन्छ । किनभने हरेक व्यक्तिको फरक फरक अनुभूति, भोगाई र संस्कृति हुन्छ । तर सबैको एउटै उद्देश्य हुन्छ र त्यसको सापेक्षता मानवता नै हो ।

मानिस मुखले सापेक्ष वा निरपेक्ष जे पनि हुँ भन्नसक्छ, तर उ कुनै पनि कुरामा निरपेक्ष रहनै सक्दैन, सृष्टिले, प्रकृतिले र धर्मले उसलाई त्यस्तो बन्न दिंदैन । शरीरमा बल–धन रहँदासम्म निरपेक्ष छु भने पनि कालान्तरमा उ सापेक्षतामा आउनैपर्छ, आएकै छन् । जीवनभर भगवान वा ईश्वर छैन भन्नेहरु मृत्युको नजिक पुग्दा ‘हे राम भन्न बाध्य हुन्छन् । यही हो व्यक्तिको सापेक्षता र आइन्सटाइनको सापेक्षताको सिद्धान्तअघि नै पूर्वीय शास्त्रले वर्णन गरेको सापेक्षताको प्रभाव ।

मानिस मात्र किन कुनै पनि वस्तु वा पदार्थ निरपेक्ष रहन सक्दैन । सबैको आआफ्नो धर्म र जिम्मेवारी हुन्छ । धर्मको अर्थ जिम्मेवारी निर्वाह गर्नु, प्राणी, वनस्पति सबैको रक्षा गर्नु हो र यसैका लागि प्राण भएका, निष्सप्राण सबैको धर्म किटिएको छ र अहिले मानिस बाहेक अरु सबैले आआफ्नो धर्म निर्वाह गरिरहेका छन् । उनीहरु आफ्नो सापेक्षतामा कर्म गरिरहेका छन्, जुन भौतिक दुनियाँलाई नै सबथोक ठान्नेहरुको आँखाले देख्न सक्दैन ।

अहिले सबैभन्दा बढी चर्चा धर्मसापेक्ष र निरपेक्षको छ । सापेक्ष भनेको समेटिनु हो भने निरपेक्ष भनेको अलग हुनु हो । के मानिस मानिसबाट अलग हुनसक्छ ? सक्दैन । के मानिसले गर्नुपर्ने कर्मबाट अलग हुनसक्छ ? मानिस मात्र हैन कुनै पनि वस्तु वा पदार्थ निरपेक्ष हुँदैन र आआफ्नो गुण अनुसारको प्रभाव विस्तार गरिरहनु नै उसको सापेक्षता हो, धर्म हो । धर्म भनेको धारण र पोषण गर्ने क्षमता हो । पानीमा प्राणी मात्रलाई जीवन धारण गराउने गुण रहन्छ । यदि पानी निरपेक्ष भयो भने के हुन्छ ? के हामी तिर्खाएर पानी पिउँदा तिर्खा मेट्ने नमेट्ने कुरासंग मतलब राख्दैनौं भन्छौं भने त्यो विचार कसरी युक्तिसंगत हुनसक्छ ? पानीको त्यो धर्मबारे हामी निरपेक्ष रहन सक्दैनौं ।

अन्नले पोषण दिन छोड्यो भने के होला ? अनि अग्निको स्वाभाविक धर्म हो तताउनु । हामी त्यसको उपेक्षा गर्न सक्दैनौं । अग्निको धर्मको सहयोगले भोजन बन्छ । हामी स्वाभाविक धर्मको अपेक्षा गर्दछौं । वायुको धर्म हो प्राणीको प्राण बनेर सवैको जीवन प्रदान गर्ने । यो धर्मबाट वायु अलग्गिदैन । कमिलादेखि ब्रह्मापर्यन्त वायुको सहारामा सवैले आफ्नो प्राण राखेका हुन्छन् । वायुको धर्मलाई हामीहरूले निरपेक्ष होस् भन्न सक्दैनौं । आकाशको धर्म सवैलाई अवकाश या मौका दिने हुन्छ । हामी आकाशको यो धर्मको उपेक्षा गर्न सक्दैनौं ।

सूर्यले ताप दिनु उसको धर्म हो, हामी सूर्यको त्यो प्राकृतिक धर्म निरपेक्ष होस् भन्ने कल्पना पनि गर्न सक्दैनौं । यदि सूर्यले सापेक्षता अस्वीकार गरे के होला ? सूर्यलाई हामी भगवान मान्छौं । प्राणी मात्रलाई तपाउनु, न्यानो दिनु पृथ्वीबाट या समुद्रबाट जल शोषण गर्नु र हजारौं गुणा बढाएर वर्षा गराउनु सूर्यको धर्म हो । सूर्यको यो धर्मको अपेक्षा गर्छौं भने राज्यलाई धर्म निरपेक्ष कसरी ?

अरुको सापेक्षतामा जीवन चलाउनुपर्ने हामी मानव स्वयं निरपेक्ष बस्न सक्छौं ? गरीब, निमुखा, अशिक्षित र सोझा जनतालाई भ्रममा पारेर लगाइने राजनीतिक नारा यथार्थमा सबभन्दा ठूलो भ्रम हो । संसारमा सृष्टिका कुनै पनि कुरा उसको आफ्नो धर्मबाट निरपेक्ष छैन भने सबभन्दा चेतनशील मानिस करी निरपेक्ष हुनसक्छ र हरेकलाई सुसंस्कृति, अनुशासित नैतिकवान बनाउने धर्म झन निरपेक्ष हुने सवाल नै हुँदैन ।

आफूले दैनिक प्रयोग गरिरहेका व्यवहारहरु कति वैज्ञानिक र सापेक्ष छ भन्नेतिर कसैको ध्यान छैन । मानव हितमा प्रतिपादन गरिएका व्यवहारहरुलाई धर्म–सम्प्रदाय र पन्थको जामा पहिराएर धर्मच्यूत गर्ने पाखण्डले देश–दुनियाँ दिनप्रतिदिन स्खलित भैरहेको छ । आज विश्व कोरोना महामारीमा फस्नुको कारण धर्मच्यूत हुनु नै हो । मानिसले शास्त्रीय सापेक्षतालाई अस्वीकार गरी भौतिक सापेक्षवादको पछि लाग्दाको परिणाम हो । तैपनि हरेकले अन्ततः भन्नैपर्छ “हे राम ! माई गड” वा “अल्लाह” ! यो सबै वैचारिक द्वन्द्वको परिणाम हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More