जन सरोकार

काम खोज्दै काभ्रे पुगे म्यामाली शरणार्थी ‘रोहिङ्गा’

–पेमा लामा

काठमाडौंको कपनस्थित बालुवाखानी र लसुनटारमा लामो समयदेखि बसोबास गर्दैआएका म्यान्माली शरणार्थी काभ्रे पनि पुगेका छन् र कुशादेवीमा निर्माणको काम सुरु गरेका छन् । शरणार्थी करण हप्पिसले घर बनाउने ठाउँमा पर्खाल लगाउने काम गर्न थालेका छन् ।

बसोबास गरेको ठाउँ नजिकै स्थानीय बासिन्दाले घर बनाएको ठाउँमा काम गर्न थालेको हप्पिसले बताउनुभयो । त्यसरी काम गरेबापत दिनको ६ देखि ७०० सम्म ज्याला पाउने गरेको उहाँको भनाइ छ । ती परिवारका पुरुष व्यक्तिको काम दैनिक गुजारा चलाउन काम खोज्ने र श्रम गर्ने रहेको छ । यसअघि अरु पनि थप आउने कुरा भएर टहरा बनाउने काम गरेका ती समुदायले पछि नआउने भएकाले भत्काएका थिए ।

म्यान्माबाट आएका शरणार्थी रोहिङ्गा समुदायका १० परिवार अहिले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीमा आएर बसोबास गर्दै आएका छन् । करिब एक महिना अगाडिदेखि बसोबास गर्दै आएका ३४ जना अहिले परिवार पाल्नका लागि कामको खोजीमा रहेको छ ।

नुर हप्पिसका अनुसार अरु परिवार पनि आउने कुराले उनीहरुका लागि पनि घर बनाएको तर पछि नआउने भनेपछि बनाएको टहरा पनि भत्काएको हो । २१ वटा टहरा बनाएकामा अहिले नौ वटा भत्काएर बाँकी टहरा भने प्रयोग गरिहेका छन् । बनाएको टहराको परिवारअनुसार स्वयंले भाडा दिने हप्पिसले बताउनुभयो ।

भाडा कति दिने भन्नेमा कुनै निश्चित नभएको उहाँले बताउनुभयो । “काम गरेर परिवार पाल्ने र भाडा तिर्ने हो”, उहाँले भन्नुभयो, “कामको खोजीमा हामी आफैं यहाँ आएका हौँ, खोज्दै आउने क्रममा यहाँ आइपुग्यौँ ।” ती समुदायका १० परिवारको ३४ मध्ये १३ जना साना बालबालिका र ५५ वर्षसम्मका व्यक्ति रहेका छन् । नुरका अनुसार नेपालमा शरणार्थी भएर बस्दै आउनुभएका उहाँहरु एक जना बालबालिकालाई विद्यालय भर्ना गरेपछि युएनबाट वर्षको एक जनाको १२ हजार पाउने गरेको बताउनुभयो ।

पहिला सबैले पैसा पाउने गरेको भए पनि बजेट कम भएको भन्दै ठूलो मान्छेलाई दिएको रकम कटौती गरेर बालबालिकालाई भर्ना गरेको आधारमा पैसा दिँदै आएको उहाँको भनाइ छ । तर काम गरी खाने परिवार भएकाले कामको खोजीसँगै सर्दै हिँड्नुपर्ने भएकाले बालबालिकालाई पढाउने कुनै टुङ्गो नभएको बताउनुभयो ।

यता आएपछि विद्यालयका शिक्षकसँग कुरा भइरहेको र काम पाएपछि बालबालिकालाई विद्यालय भर्ना गर्ने नुरले बताउनुभयो । सो समुदायका महिलाले घरको काम मात्रै गर्ने र बालबच्चाको हेरचाह गर्ने जिम्मा दिएको उहाँको भनाइ छ ।

अर्का रोहिङ्गा समुदायका मोहमत एसुपले आफूहरुले कसैको केही नबिगारेको र परिश्रम गरेर खाँदै आएका कारण आफूहरुदेखि सशङ्कित हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । सो समुदायका मानिस सो ठाउँमा आएर बसोबास गर्न थालेपछि स्थानीय बासिन्दा सशङ्कित भएको भन्दै आफूहरु पनि परिवारसहित आएको र श्रम गरी खाने मान्छे भएका कारण सशङ्कित हुनुनपर्ने बताउनुभयो । ‘युएनले पहिला दिँदै आएको पैसा अहिले दिएको छैन, कसरी बाँच्ने रु”, उहाँले भन्नुभयो, “हामीले कसैलाई डिस्टर्ब गरेको छैन, हामीलाई परिश्रम गरेर खान पाउने अवस्था बनाइदिनुस् ।”

आफूहरुलाई वर्माबाट निकाला गरेपछि यहाँसम्म आइपुगेको र अरुलाई नराम्रो गर्‍यो भने आफूहरुको पनि बालबालिका भएकाले आफू र आफ्नो बालबालिकाको सुरक्षाका लागि सबैसँग मिलेर श्रम गरी कमाएर खाँदै आएको उहाँको भनाइ छ । ती परिवार अहिले सत्यराम थापाको जग्गामा बस्दै आइरहेको छ । “जग्गा खाली देखेपछि हामीले भाडामा दिनुस् भनेर आग्रह गरी घर बनाएर बसेका हौँ”, उहाँले भन्नुभयो, “भाडा कति लिने र कति समय बस्ने भन्ने कुनै कुरा भएको छैन ।”

पनौती नगरपालिका वडा नं ३ का वडाध्यक्ष ईश्वर थापाले कामको खोजी गर्दै आउने क्रममा रोहिङ्गा परिवार कुशादेवीमा आइपुगेको बताउनुभयो । उहाँका अनुसार कपनबाट आएका १० परिवारका ३४ जना करिब एक महिनादेखि यहाँ बस्दै आएको बताउनुभयो । शुरुमा १४० जनाको सङ्ख्यामा नयाँ मान्छे आएर बस्ने भनिए पनि कम सङ्ख्यामा आएका ती समुदाय नयाँ मान्छे भएकाले स्थानीय बासिन्दा सशङ्कित भएको उशाँले बताउनुभयो । कपनमा बस्दै आएका ती समुदाय त्यहाँका जग्गा भाडा सम्झौतासकेपछि विकल्प खोज्दै यता आएको पाइएको उहाँले बताउनुभयो । त्यसरी आएर बसेका ती समुदायले वडामा अरु केही जानकारी गराएको छैन् वडा अध्यक्ष थापाले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.