बिचार

शिरपोस मात्र हैन हिमशिखरकै प्रतीक हो नेपाली टोपी

यादब देवकोटा

विश्वको टोपी मानिने सर्वोच्च शिखर सगरमाथाको काखमा रहेका हामी नेपालीहरुले प्रयोग गर्ने ढाका र भादगाउँले टोपी हाम्रो संस्कार, संस्कृति, चिनारी र गौरबको विषय हो । हाम्रो टोपीको महत्व शास्त्रसंग जोडिएको छ, नेपाली गौरबसंग जोडिएको छ, संस्कृतिसंगको अटुट सम्बन्ध छ । नेपालको अस्तित्व रहेदेखि प्रचलनमा रहेको टोपीको आज दिवस मनाउनु परेको छ । हुन त नेपालको राष्ट्रिय परिचयबोधक चिन्हहरु कुराजनीतिको शिकार भएपछि यसलाई जगाउन प्रवासमा रहेका नेपालीहरुले प्रत्येक वर्षको जनवरी १ लाई नेपाली टोपी दिवस मनाउन थाले । यसले कम्तिमा कहिल्यै टोपी नलगाउनेहरुले पनि टोपी लगाएर, फोटो खिचेर सामाजिक सञ्जालमा राखेर प्रचार गर्न थाले । नेपाली टोपीलाई विश्वव्यापी गर्न यसको महत्वपूर्ण भूमिका रहेको छ– यो सह्रानीय कार्य हो ।

राजनीतिक परिवर्ततसंगै नेपालको मौलिक प्रतीक चिन्हहरुमाथि धावा बोल्न थालिएपछि टोपी संरक्षण र यसको महत्व बढाउन सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रूपमा जनवरी १ लाई “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरी शुरु गरिएको हो । यो अहिले साँच्चै नै अन्तर्राष्ट्रिय दिवस भएको छ । यो दिन विदेशीहरुले पनि नेपाली टोली लगाउने गर्दछन् ।

विश्वभर नेपाली टोपीको प्रचार गर्न “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस”को आव्हान गर्ने सपुतहरु डा. लेखनाथ काफ्ले (ताइवान) र शंकर बन्जाडे हुनुहुन्छ । उहाँहरुकै अभियान स्वरुप सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिख पारेर “नेपाली टोपीः नेपालीको शान, मान र पहिचान” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो ।

नेपाली टोपीले मानव जीवन र प्रकृतिको प्रतीक अर्थ बोकेको छ । नेपाली टोपीको बनावट, यसलाई लगाउने तरिकामाथि सूक्ष्म दृष्टिगोचर गर्ने हो भने यसले नेपालको प्राकृतिक मानचित्रको प्रतिनिधित्व गर्छ । टोपी चुच्चो पारेर लगाए हिमशिखरको प्रतीक बन्छ भने खाल्डो पारेर लगाए नेपालका तालतलैयाहरुको । त्यसैले टोपी नेपालको प्राकृतिक मानचित्रको प्रतिनिधित्व गर्ने, नेपाली धर्म–संस्कृति उजागर गर्ने नेपालको गौरब र प्रकृतिले दिएको अथाह स्रोत पर्वतको प्रतीक हो । यो नेपालको गौरव हो ।

यो गर्व भनेको राजा महाराजाले लगाउने भएर मात्र हैन, यसले नेपालका हिम शृङ्खलाहरुको प्रतिनिधित्व गर्छ । हिमालको चुचुरा जस्तै आकारमा मिलाएर लगाउने टोपीले हाम्रो शिर सगरमाथा जस्तै उच्च छ भन्ने दर्शाउँछ, हिमाली संस्कृतिको प्रतिनिधित्व गर्छ । त्यसैले यसलाई राष्ट्रिय पोशाकको एक अंग मानियो, बनाइयो । पूर्वीय शास्त्रका ज्ञाताहरु नेपाली टोपी कैलास पर्वतको प्रतीक मान्छन् । कैलास जति शान्त, शितल छ, त्यस्तै टाउको होस् भन्ने प्रतीक अर्थ नेपाली टोपीमा छ ।

मुलुकमा राजनीतिक परिवर्तनसंगै राष्ट्रिय पोशाकको अपमान भयो, टोपी राजा महाराजाहरुको पोशाकमा गणना गरियो अनि यसलाई सामन्तवादको अवशेषका रुपमा लिन थालियो । टोपी लगाउनेहरु धुर्त हुन्छन् भन्न थालियो, कुप्रचार भयो, देश विभाजनको रेखा कोरियो । आज जोजसले टोपीर्ला एउटा निश्चित जातसंग जोडेर कुप्रचार गरे उनीहरु पनि टोपी लगाउन भने छाड्दैनन्- तर कुप्रचार पनि संगसंगै गरिरहेका हुन्छन् । नेपाली भाषालाई नेपाली भाषामै गाली गर्छन् । उच्च जातिका भनेर प्रचार गरिएका बाहुन–क्षेत्रीसंग बसेर पार्टी गर्छन्, मासु र रक्सी खान्छन् तर संचारमा र सामाजिक सञ्जालमा तिनै बाहुन–क्षेत्रीलाई गाली गर्छन् । त्यस्तै अपमानको शिकार भएको छ नेपाली टोपी, जुन हिमाली र पहाडी संस्कृतिको पर्याय हो ।

नेपाली टोपीको सांस्कृतिक महत्व जति छ त्यति नै यसले आर्थिक पक्षलाई समेटेको छ । नेपाली टोपीले मुलुकको आर्थिक समृद्धिमा धेरथोर टेको दिएकै छ । घरेलु उद्योगका रुपमा ढाका र भादगाउँले टोपी उद्योग चलेका छन् । विदेशमा आजभोलि यी टोपीहरुको माग उच्च छ । नेपाली समाजमा यसको प्रयोग पनि बढेको छ । विवाह जस्ता समारोहहरुमा ढाका कपडाबाट बनेका वस्त्र लगाउने चलन बढेको छ । यसको इतिहास, परम्परा, महत्वमा जानकार नभए पनि, यसको प्रतीक अर्थ नबुझे पनि प्रयोग बढिरहेको छ । यो नै हाम्रा लागि खुसीको कुरा हो ।

टोपी मात्र हैन, हामी नेपालीमा (विश्वभर छरिएर रहेका) घरेलु उत्पादन र वन्यसामग्रीबाट बनेका कपडाहरुप्रति मोह जागेको छ । यसले ग्रामीण क्षेत्रका जनजीवनलाई टेवा पु¥याएको छ । नेपाली कला, धर्म, संस्कृति, परम्परा र नेपालको प्राकृतिक स्रोत साधनको समेत प्रतिनिधित्वको प्रतीक अर्थ बोकेको नेपाली टोपीको इतिहास पौराणिक कालसम्म पुग्छ । प्राकृतिक मानचित्रको प्रतिनिधित्व गर्छ । तसर्थ पनि यो नेपालीको गौरबको विषय हो । हजारौं मानिसको भीडमा नेपाली भनेर सजिलै चिन्न सकिने चिनारी हो नेपाली टोपी । यस्तो टोपी अन्यत्र पाइँदैन, लगाइँदैन ।

नेपाली गौरबगाथा गाउने यही टोपीका विषयमा धेरै गीत र कविता रचिएका छन् । स्व. गोपाल योञ्जनको रचना, संगीत र स्वर रहेको “मेरो टोपी कैलाशको शिर जस्तो….” बोलको राष्ट्रिय गीत आज संसारभर छरिएर रहेका नेपालीहरुले कुनै पनि सांस्कृतिक कार्यक्रमहरुमा बजाउने गर्छन्, आफू स्वयं गुन्गुनाउने गर्छन् । नेपाली टोपीले नै नेपालको समग्र मानचित्रको प्रतिनिधित्व गर्ने हुँदा यसको गौरबथागा र प्रचार गर्नु नेपाल र नेपालीको गौरब बढाउनु हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.