प्रचण्ड समूहले दियो ओलीलाई अध्यक्षबाट हटाएको लिखित जानकारी, आयोगले प्रचण्ड निवेदन नै खारेज गरेको ओलीको दावी
प्रचण्ड समूहको निवेदन आयोगले खारेज गरेको ओलीको दावी

औपचारिक रुपमा विभाजनको घोषणा मात्र हुन बाँकी रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिक अधयक्ष आफू रहेको दावी प्रधानमन्त्री केपी ओलीले गरिरहँदा अर्को पक्ष प्रचण्ड–माधव समूहले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको आधिकारिक जानकारी निर्वाचन आयोगलाई दिएको छ ।
नेकपाले ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको पत्र बिहीबार निर्वाचन आयोगमा दर्ता गरेको हो । यो कुराको जानकारी नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले दिनुभएको हो ।
पोखरेलले राजनीतिक दल सम्बन्धी ऐनको दफा १८ मा विधान विपरीत काम गर्ने पदाधिकारीलाई कारवाही गर्न सकिने प्रावधान अनुसार ओलीजीलाई कारवाही गरिएको जानकारी आयोगलाई दिएको बताउनुभएको छ ।
७ पुसमा बबरमहलमा बसेको नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठकले ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो । ४४१ मध्ये ३१५ जना केन्द्रीय सदस्यको उपस्थितिमा बसेको बैठकले ओलीलाई कारवाही गरेको जानकारी आयोगलाई दिएको पोखरेलको भनाइ छ ।
ओली पक्षले बबरमहल बैठकलाई गुटको भेलाको भएको बताउने गरेको छ । निर्वाचन आयोगमा दर्ता भएका ४४१ मध्ये मृतक, संवैधानिक पद र राजदूत बनेका बाहेकको अद्यावधिक विवरण बुझाएको पोखरेलले बताउनुभएको छ ।
प्रचण्ड–माधव समूहले पार्टीको वैधानिकतासम्बन्धी आवश्यक छलफल गर्न पोखरेल, राजेन्द्र पाण्डे, मुक्ति प्रधान, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई, गोविन्द बन्दी र खिमलाल देवकोटालाई जिम्मेवारी दिएको पत्र पनि निर्वाचन आयोगमा पुगेको छ ।
उता प्रधधानमन्त्री ओलीले आफ्नो समूह आधिकारिक भएको दाबी गर्दैनिर्वाचन आयोगले प्रचण्ड–माधव समूहले दिएको निवेदन नै खारेज भएको दाबी गर्नुभयो । शुक्रबार प्रवासी नेपाली एकता मञ्चको भर्चुअल भेलालाई सम्बोधन गर्दै उहाँले आफूहरु नै आधिकारिक भएको र सूर्य चिन्ह पनि आफूहरुसँग नै रहको बताउनुभएको हो ।
पार्टीको आधिकारिकताको यो मुद्दामा निर्णय दिन ९० दिनसम्म लाग्ने आयोगका पदाधिकारीहरुले बताएका भए पनि यससँगै निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवादको मुद्दा सुरु भएको बताएको थियो ।
प्रतिक्रिया राख्नुहोस्