राजनीति

माओवादी निर्वाचन : एक हजार सातसय ४२ मतदाता

आइतबार साँझ ६.२५ बजेदेखि १०.२५ सम्म निर्वाचनका लागि समय निर्धारण

नेकपा (माओवादी केन्द्र) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार कूल एक हजार ७४२ मतदाताको नामावली सार्वजनिक गरिएको हो ।

नामावलीमा आयोजक समिति, विभिन्न विभाग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति तथा पार्टी एकता प्रक्रियामा सहभागी भएका तथा मनोनित प्रतिनिधि समेटिएको छ ।

नयाँ नेतृत्व चयनका लागि आयोगका तर्फबाट मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ । आज मात्रै माओवादीको विधान सर्वसहमतिले पारित गरेको हो । पारित विधान अनुसार १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्न लागिएको छ ।

स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधानका सन्दर्भमा उठेका प्रश्नका जवाफ दिएपछि विधान पारित गरिएको हो । विधानअनुसार खुल्ला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिने भएको छ । यस्तै, केन्द्रीय समितिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था गरिएको छ ।

संशोधित निर्वाचन कार्यक्रमअनुसार आइतबार (आज) २ बजेदेखि ३.३० बजेस्म्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । ३.४० मा उम्मेदवारको मनोनयन पत्रको दर्ता सूची प्रकाशन गरिनेछ ।

उम्मेदवारको विरोधमा उजुरी दिने समय ४ बजेका लागि तय गरिएको छ । उम्मेदवारको विराधेमा परेको उजुरीको सूचना दिनका लागि ४.१० बजेसम्मको समय दिइएको छ । आयोगका अनुसार उजुरीमाथि छानबिन गरी ४.४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारी फिर्ताका लागि ५.३० बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली ५.४५ बजे प्रकाशन गरिनेछ ।

आयोगका अनुसार आइतबार साँझ ६.२५ बजेदेखि १०.२५ सम्म निर्वाचनका लागि समय निर्धारण गरिएको छ । माओवादीमा २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने व्यवस्था गरिएको आयोगका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

कूल ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेशी, आदिवासी, जनजाती, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर तय गरिएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनीका युवाको प्रतिनिधित्व गराइने भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.