अर्थ

२० करोड भुक्तानी नदिने महालक्ष्मी सुगरमिलमा तालाबन्दी

काठमाडौंमा उखु किसानहरु भुक्तानीको माग गर्दै आन्दोलनमा उत्रिरहेका बेला उखु किसानको रु २० करोड बाँकी बक्यौता नतिर्ने सर्लाहीको गोडैता नगरपालिका–६ बङ्गदहको महालक्ष्मी सुगरमिलमा उखु किसानले तालाबन्दी गरेका छन् ।

उखु किसानको गत वर्षको बाँकी बक्यौता रकमवापत रु २० करोड बाँकी रहेको र सो रकम उखु किसानको खातामा जम्मा गरिदिनुपर्ने, उद्योग सञ्चालकसँग भएको गत वर्षको सम्झौता कार्यान्वय हुनुपर्ने, नेपाल सरकारले तोकिदिएको मूल्य रु ५३५ पूरै उखु किसानले पाउनुपर्ने लगायतका माग राखी मिल बन्द गरेका हुन् ।

त्यसै गरी किसानहरुले उद्योगले उखुको २० प्रतिशत ढाला काट्ने गरेको र त्यो नियमसङ्गत नभएको साथै नियमसङ्गत एक प्रतिशत मात्र ढाला काट्नुपर्नेलगायतका माग राखी किसानले उद्योगमा तालाबन्दी गरेका उखु किसान अन्दोलन समितिका अगुवा मुकेश ठाकुरले बताउनुभयो ।

गत वर्षबाट सञ्चालन शुरु गरेको उद्योगले उखु किसानको रु २० करोड बाँकी बक्यौता नै नतिरी यस वर्ष पनि आफूखुशी गुपचुपरूपमा चलान वितरण शुरु गरेपछि किसान आक्रोशित भएका हुन् । उखु किसानको बाँकी बक्यौता भुक्तानीका लागि आफूहरुले पटक–पटक आग्रह गर्दासमेत उद्योगका सञ्चालक वीरेन्द्र कनौडियाले बेवास्था गरेका कारण उखु किसान तालाबन्दीमा उत्रिन बाध्य भएको गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले बताउनुभयो ।

उखु किसानको भुक्तानी नदिएर उखु किसानलाई ऋणमा डुबाएर आत्माहत्याको अवस्था सिर्जना गर्ने उद्योगलाई र उद्योगका सञ्चालकलाई कडा कारवाही गरिने नगरप्रमुख यादवले बताउनुभयो । उखु किसानले उद्योगबाट आफूहरुले रु २० करोड लिन बाँकी रहेको बताइरहँदा उद्योगले रु १६ करोड मात्र रकम उखु किसानलाई तिर्न बाँकी रहेको उद्योग सञ्चालक कनौडियाले बताउनुभयो । यदि १६ करोड रकम लिन उखु किसान तयार भए आगामी सोमबारसम्ममा उद्योगले भुक्तानी गरिदिने उद्योग सञ्चालक कनौडियाले बताउनुभयो ।

रु १४ करोड एक हप्ताभित्रमा र बाँकी रु दुई करोड केही दिनमा आफूले भुक्तानी दिने बताइरहँदा उखु किसानले अराजक शैलीमा उद्योगमा तालाबन्दी गरेको उद्योग सञ्चालक कनौडियाले बताएका छन् । उद्योग स्थापना भएको पहिलो वर्ष भएका कारण करीब रु १० करोड घाटा लागेको उद्योग सञ्चालक कनौडियाले गुनासो गर्नुभयो । साथै झुटो आवश्वासन दिएर उद्योग सञ्चालन गर्ने तयारीमा उद्योग सञ्चालक रहेको उखु किसान रामसगोरथ रायले बताउनुभयो ।

उद्योग सञ्चालक, जिल्ला प्रशासन कार्यालय सर्लाही, जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली र उखु किसानबीच कात्तिक मसान्तसम्ममा उखु किसानको बाँकी बक्यौता भुक्तानी गरिसक्ने भनी विभिन्न पाँच बुँदे सहमति भएको भए पनि उद्योगले पुसको २० जान लाग्दा पनि भुक्तानी नदिँदा किसान थप चिन्तित बनेका छन् । पटक–पटक सम्झौता मात्र गर्ने तर भुक्तानी नगर्ने गरेका कारण किसान थप आक्रोशित बनेका राष्ट्रिय कृषक समूह महासङ्घका जिल्ला अध्यक्ष सतेन्द्रकुमार ठाकुरले बताउनुभयो ।

त्यसैगरी अन्नपूर्ण चिनी मिलले रु ४० करोड, श्रीराम सुगर मिलले रु ४२ करोड, इन्दिरा सुगर मिलले रु १० करोड, लुम्बिनी सुगर मिलले रु १० करोड र वाग्मती सुगर मिलले रु ११ करोड रकम उखु किसानको गत वर्षको नै भुक्तानी गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.