एमसीसी विवादमा चीनले मुख खोल्यो- सहयोग आफ्नो हित हेरेर मात्र लिनु
अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सम्झौतालाई संसदबाट अनुमोदन गराउने कि नगराउने भन्ने विषयमा विवाद उत्पन्न भैरहँदा नेपालको उत्तरी छिमेकी मुलुक चीनले नै पनि अन्तर्राष्ट्रिय समुदायको सहयोग हितमा हेरेर लिन आग्रह गरेको छ ।
एमसीसी नेपालमार्फत चीन, उत्तर कोरिया, सरियामाथि दवाव बढाउने अमेरिकी रणनीति रहेको सत्तारुढ दलका वरिष्ठ नेताहरुले बताइरहँदा चीनबाट यस्तो टिप्पणी आएको हो ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सहयोगका विषयमा नेपालले स्वतन्त्र निर्णय लिनुपर्ने प्रष्ट पार्दै नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्छ । भन्दै नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने नभएको तर कसैको दबाबमा भन्दा आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्छ भन्नुभयो ।
उहाँले चीनले प्रस्ताव गरेको ‘टु प्लस वान’ को अवधारणा त्रिदेशीय सहकार्य नै भएको स्पष्ट पार्न खोज्दै भन्नुभयो । ‘टु प्लस वान भनेको त्रिपक्षीय सहकार्य नै हो । यसमा चीन र भारतले नेपाललाई डिक्टेट गर्ने होइन, सबै देश समान हुन् ।
असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा चीनले त्रिदेशीय सहकार्यका लागि टु प्लस वानको अवधारणा अघि सारेको थियो । तर, नेपालमा टु प्लस वानले नेपालको हैसियत घट्ने चर्चा भएपछि प्रधानमन्त्री केपी ओलीले त्रिपक्षीय सहकार्य हुनुपर्ने स्पष्ट पार्नुभएको थियो ।