जल/वातावरण

लामो समयपछि वर्षा- कतै खुसी, कतै जनजीवन अस्तव्यस्त, बुधबारसम्म घाम नलाग्ने

पश्चिमी वायुको प्रभावले आइतबारदेखि वर्षा भएपछि बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा लगातारको खडेरीले बालीनाली सुक्दै गएकोमा चिन्तित किसान खुसी भएका छन् । उता हिमाली क्षेत्रहरुको जनजीवन भने हिमपातले अस्तव्यस्त भएको छ ।

लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् । लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला भएको हिउँदे वर्षाले केही राहत भएको दशरथचन्द नगरपालिका–१ का अगुवा किसान कृष्णदत्त भट्टले बताउनुभयो ।

“यो वर्षा हिउँदेबाली र हिउँदे फलफूलका बिरुवाका लागि निकै लाभदायक भएको छ”, उहाँले भन्नुभयो, “यो वर्ष लामो समयपछि पानी परेको छ । यो पानीले केही राहत भएको छ ।”

वर्षाले गहुँलगायतका हिउँदेबालीका लागि निकै फाइदा पुर्याएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताउनुभयो । “लामो समयको खडेरीपछि परेको पानीले केही मात्रामा भए पनि बालीनालीका लागि राम्रो भएको छ”, उहाँले भन्नुभयो ।

“यो वर्षापछि बेँसी र टार क्षेत्रमा गहुँसमेत छर्न सकिनेछ, गहुँबाली छर्न बाँकी रहेका क्षेत्रमा यो वर्षाले गहुँबाली छर्नका लागिसमेत सहयोग पुग्छ ।” बैतडीमा १७ हजार ५०० हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ । आठ हजार हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा छ ।

सिँचाइ सुविधा नभएका अधिकांश ठाउँका किसानले यो वर्ष गहुँबाली छरेका छैनन् । यो वर्षापछि केही ठाउँमा गहुँ छर्ने तयारीसमेत भएको छ । हिउँदे वर्षाले चिसोसमेत बढाएको छ । चिसो बढेसँगै उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । चिसोबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

चिसोको समयमा विभिन्न खालका स्वास्थ्य समस्या आउन सक्ने भएकाले चिसोबाट बच्नुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “यो समयमा बालबालिकालाई निमोनिया, वृद्धवृद्धालाई श्वासप्रश्वाससम्बन्धी समस्या आउन सक्ने भएकाले अनावश्यकरूपमा घरबाहिर ननिस्कन, घरमै आगो बालेर बस्न र न्यानो लुगा लगाउन आग्रह गरेका छौँ ।”

उता हिमाली जिल्ला हुम्लामा भारी हिमपात भएको छ । आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ । उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिन बाध्य भएका छन् ।

तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएका छन् । एउटा जहाजको ब्याट्रीमा समस्या देखिएपछि मर्मत गर्न अर्को जहाजमा प्राविधिक टोली आएको थियो । मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि उडान रोकिएको सिमकोट विमानस्थलका प्रमुख विष्णु अधिकारीले जानकारी दिनुभयो ।

यसबीच मौसमविद् समीर श्रेष्ठले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना रहेको र बुधबारसम्म घाम लाग्ने सम्भावना भने कमै रहेको बताउनुभएको छ ।

काठमाडौँमा सोमबार बिहान हल्का वर्षा भएको थियो । त्यस्तै उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपात पनि भएको छ । हाल देशभर सामान्य बदली रहेको छ । दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम कर्णाली, गण्डकी, वाग्मती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, वाग्मती र प्रदेश नं १ को भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २० दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै सोमबार सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस शून्य दशमलव छ डिग्री र सबैभन्दा धेरै धरानको न्यूनतम तापक्रम १३ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.