अर्थ

जाजरकोट–जुम्ला सुरुङमार्गको सम्भाव्यता अध्ययन सुरु

जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो ।

यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्यूआरडिसी)ले सूचना जारी गरिसकेको छ ।

सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि सडक विभागले बोलपत्र आह्वान गरिसकेको र अध्ययन सकिएपछि सुरुङमार्ग निर्माण अघि बढ्ने पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो ।

सुरुङमार्ग निर्माण तथा नयाँ सडकको ट्रयाक खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “जाजरकोट र जुम्ला जोड्ने सबैभन्दा छोटो सुरुङ हुने भएकाले खन्ने कामलाई अध्ययन सकिनेबित्तिकै अघि बढाइने छ ।”

जाजरकोट साङ्टाबाट र जुम्लाको इमिल्चाघारीसम्मको लम्बाइ करिब १० किलोमिटर छ । सुरुङ निर्माणका लागि करिब पाँच किलोमिटर पहाड प्वाल पार्नुपर्ने र अन्य क्षेत्रमा सडक निर्माण गर्नुपर्ने पूर्वमन्त्री बस्नेतले बताउनुभयो ।

“हामीले सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि विगतदेखि नै नेपाल सरकारसँग माग गर्दै आएका थियौँ”, नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले भन्नुभयो, “सम्भाव्यता अध्ययनका लागि सडक विभागले सूचना नै जारी गरिसकेको छ ।”

जाजरकोटबाट जुम्ला जान करिब १० घण्टा उकालो हिँड्नुपर्छ । सुरुङमार्ग निर्माण भए ३० मिनेटमै जुम्ला जान सकिने सिंहले बताउनुभयो । “यो सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोट जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किट हुनेछ”, उहाँले भन्नुभयो, “विगतदेखि माग गर्दै आएको हाम्रो माग पूरा हुने आशा गरेका छौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.