जल/वातावरण

काठमाडौंमा केही दिनयता आँखा पीरा हुने समस्याको कारण अत्यधिक वायु प्रदूषण

मौसम धुम्मिएको छ, पश्चिमी वायुको प्रभावले पश्चिम पहाड तथा हिमाली जिल्लाहरुमा पानी पर्नुका साथै बाक्लो हिमपात भएको छ । त्यस्तै यही बेला काठमाडौंको वायु भने अति विषाक्त रहेको पाइएको छ । एक वर्षयता कोरोना संक्रमणका कारण सवारीसाधन कमम चलेको, उद्योगधन्दा बन्द भएका भए पनि काठमाडौंको वायु प्रदूषण घटेको छैन ।

काठमाडौंको वायु प्रदूषणको मात्रा कति डरलाग्दो छ भन्ने तथ्यका लागि ‘स्टेट अफ ग्लोबल एयर– २०२०’ को रिपोर्ट हेरे पुग्छ । उसका अनुसार नेपालमा वायु प्रदूषणका कारण वर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ । त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो ।

देशभरको मौसम प्रतिकूल रहँदा काठमाडौंबासीहरुले आँखा पीरो भएको अनुभव गरेका छन् । धुम्म हुस्सु लागेको यो समयमा अधिकांशले आँखा पालेको अनुभव गर्नुको कारण उपत्यकाको वायु प्रदूषणको मात्रा अत्यधिक हुनु हो । हिजो सोमबारबाट उपत्यकाको वायुको प्रदूषण मात्रा अत्यधिक बढेको छ ।

काठमाडौंमा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा ५ गुणासम्म बढी छ । डब्लूएचओले वार्षिक औसत पीएम २.५ को मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । सरकारले तोकेको मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ ।

तर काठमाडौंमा ३ सय ५० माइक्रोग्राम प्रतिघनमिटरसम्म पीएम १० र पीएम २.५ को मात्रा पुग्ने गरेको छ । सरकारले पीएम १० को मात्रा १ सय २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ भने २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर मापदण्ड निर्धारण गरेको छ । जाडो महिना मंसिर, पुस र माघमा हानिकारक कण २.५ को मात्रा सबभन्दा अधिक हुने गरेको छ ।

काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ । विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा बंगलादेशको ढाका, सातौंमा भारतको मुम्बई छ ।

वातावरणविद् भूषण तुलाधरले मौसम धुम्मिएका कारण पनि प्रदूषणको मात्रा बढ्न गएको बताताउनहुन्छ । उहाँ भन्नुहुन्छ “सबै प्रदूषण कचौरा आकारको उपत्यकामा भरिएको छ । चिसोका कारण तातोका लागि आगो बाल्ने लगायतका गतिविधि पनि बढेको छ । वायु प्रदूषणका स्रोतहरु बढे, तर प्रदूषण कहीं जान पाएन ।”

त्यस्तै बाहिरबाट काठमाडौं खाल्डोमा प्रदूषण भित्रिन्छ । स्थानीय रूपमा पनि वायु प्रदूषण उत्सर्जन हुन्छ, जुन कचौराजस्तो उपत्यकामा लामो समय तैरिएर रहन्छ । उहाँका अनुसार जाडोमा त्यसै पनि वायु प्रदूषण वर्षायाममा भन्दा ४–५ गुणा बढी हुन्छ । जाडोमा बिहान ८ देखि १० बजेसम्ममा वायु प्रदूषण बढी हुन्छ ।

अर्को डरलाग्दो कुरा के पनि छ भने वायु प्रदूषण अत्यधिक हुनु, चीसो बढ्नु र कोरोना महामारी कायम रहँदा मृत्युको जोखिम पनि बढेको छ । कोभिड–१९ को महामारी जारी भएकाले यो पटकको चिसो हुने समय (पुसदेखि फागुन) सम्म मृत्यु संख्या बढ्ने अनुमान गरिएको छ ।

वायु प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग (सीओपीडी), दम, निमोनिया, मस्तिष्कघात (स्ट्रोक), कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ । वायु प्रदूषणका कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ ।

वातावरणविद् तुलाधरका अनुसार जाडोयाममा काठमाडौं उपत्यका पीएम २.५ को मारमा हुन्छ । २.५ माइक्रोग्रामभन्दा मसिना कणलाई पीएम २.५ भनिन्छ । मानिसको कपालको औसत मोटाइ ६० माइक्रोग्राम हुन्छ । ‘सानो कण श्वास नलीमार्फत फोक्सोसम्म पुग्छ,’ अर्का विज्ञ सञ्जय खनालले भने, ‘मसिना कण हावामा लामो समयसम्म बस्छन् र ती शरीरभित्र पस्ने सम्भावना बढी हुन्छ ।’

अमेरिकाको हार्वड युनिभर्सिटी र जर्मनीका वैज्ञानिकहरूले अमेरिका र चीनमा चार महिनाअघि गरेको अध्ययनअनुसार वायु प्रदूषण बढी भएका स्थानमा बस्नेहरूमा कोभिड–१९ संक्रमण बढी हुने देखिएको छ । उक्त अध्ययनले कोभिड–१९ बाट भएका मृत्युमध्ये १५ प्रतिशतको मुख्य कारण वायु प्रदूषण नै रहेको ठम्याएको छ ।

सम्बन्धित खबर

Back to top button