मध्यपूर्वको तनावले चिन्तित प्रधानमन्त्री आबे मध्यस्थकर्ताको प्रयासमा
जापानी प्रधानमन्त्री शिन्जो आबेले अमेरिकाले इरानी सैनिक कमाण्डर कासिम सुलेमानीको बग्दादमा हत्या गरेपछि मध्यपूर्वमाा विकसित पछिल्लो तनाव कम गरी अमेरिका र इरानबीचको सम्वन्ध सुधार्नका लागि मध्यस्तकर्ताको रुपमा प्रयास गरिरहनु भएको छ । टोकियो र तेहरानले वर्षौँदेखि कुटनीतिक सम्वन्धलाई सन्तुलित अवस्थामा राखेका छन् ।
सोमबार प्रधानमन्त्री आबेले मध्यपूर्वमा जारी तनावले आफूलाई गहिरो चिन्ता पारेको बताउँदै स्थिति सुधार्न मध्यस्तकर्ताको रुपमा प्रयास गरिरहेको बताउनुभएको हो ।
“मध्यपूर्वमा तनाव बढीरहेको छ, मलाई यसले गहिरो चिन्तामा पारेको छ,” इरानी कमाण्डर सुलेमानी इराकमा मारिएपछिको पहिलो प्रतिक्रियामा आबेले भन्नुभयो ।
इरानी सैन्य कमाण्डर कासिम सुलेमानी गत हप्ता अमेरिकी हवाई आक्रमणमा मारिएपछि मध्यपूर्वमा तनावपूर्ण अवस्था सृजना भएको छ । उहाँले तनाव न्युनिकरण गर्न आफ्नो तर्फबाट कुटनीतिक पहल गरिरहने पनि बताउनु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खमेनीले एक अर्कालाई कडा चुनौती दिएपछि थप नराम्रो अवस्था सृजना हुनसक्ने आशंका गरिएको छ ।
तेहरानसँगको आणविक सम्झौता रद्ध गरेको निर्णय ट्रम्पले गत जुनमा गरेपछि आबेले इरानी सर्वोच्च नेता खामेनी र राष्ट्रपति हसन रोहानीलाई भेट्न इरानको भ्रमण गर्नुभएको थियो ।