जल/वातावरण

मंगलबार साँझबाट मौसम प्रभावित हुने : फेरि वर्षा र हिमपातको सम्भावना

वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मङ्गलबार बेलुकाबाट फेरि प्रभावित हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार सोमबार रातिदेखि नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले मौसम प्रभावित हुन लागेको हो ।

मौसमविद् शान्ति कँडेलका अनुसार मंगलबार मुलुकको अधिकांश भूभागमा आंशिकदेखि पूर्ण बदली रही देशको उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उहाँका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले बुधबार र बिहीबार देशभर आंशिकदेखि पूर्ण बदली रही काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।

“आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा एकछिन घाम लाग्ने र एकछिन बदली हुने भइरहेको छ”, मौसमविद् कँडेलले भन्नुभयो । पश्चिमी वायुका प्रभाव आगामी शनिबारसम्म कायम रहने बताइएको छ ।

राति देशको पश्चिमी भूभागका साथै मध्य र पूर्वका पहाडी भूभागमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनाका साथै मध्य र पूर्वी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशभर सामान्य बदली रही पश्चिमका केही स्थानमा र मध्य तथा पूर्वका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशको उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जनाएको छ । बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव दुई डिग्री र अधिकतम तापक्रम १६ दशमलव तीन डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.