सकेसम्म समझदारीबाट नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चुन्न सुझाव
विगतको जनमतका आधारमा राष्ट्रियसभा निर्वाचनको परिणाम एमालेका लागि प्रतिकूल हुने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६३ जिल्ला अधिवेशनको भचुअल माध्यमबाट उद्घाटन गर्दै सकेसम्म समझदारीबाट नेतृत्व चुन्न, नभए स्वस्थ प्रतिस्पर्धाबाट अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा माघ १२ गते हुने राष्ट्रियसभाको चुनाव एमालेको पक्षमा नआउने सम्भावना रहेको पनि बताउनुभएको छ । उहाँले राष्ट्रिय सभा चुनावमा अहिलेको जनमत प्रतिनिधित्व नहुने भन्दै राष्ट्रिय सभा चुनावको परिणाम हाम्रा निम्ति प्रतिकूल आउन सक्ने बताउनुभएको हो ।
आजभन्दा ४ वर्षअघि व्यवस्थापनका नाममा विभिन्न पक्षमा सिट बाँडफाँड गरेकाले आफ्ना निम्ति अनुकूल नतिजा नआउने ओलीले बताउनुभएको हो ।
राष्ट्रिय सभामा रिक्त हुने १९ पदमा चुनिन ४३ जनाले उम्मेदवारी दिएका छन् । महिला ७, दलित ३, अपांगता भएका एवं अल्पसंख्यक दुई र अन्य समूहका सात सिटका लागि माघ १२ मा हुने चुनावका लागि मंगलबार उम्मेदवारी दर्ता गरिएको हो ।
उम्मेदवारी दर्ताका आधारमा सातै प्रदेशमा सत्ता गठबन्धन ९कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमोर्चा० र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
गठबन्धन आफ्नो सिट यथावत् राख्दै एमालेले यसअघि जितेका आठवटा सिटमा पनि भागबन्डा गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । चुनावमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ हजार २५ मतदाता छन् । प्रदेशसभा सदस्य १ जनाको मतभार ४८ र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको मतभार १८ हुन्छ ।
प्रतिक्रिया राख्नुहोस्