राजनीति

सुरक्षाको सम्पूर्ण प्रत्याभूति सरकारले गर्छ, तोकिएकै समयमा निर्वाचन हुन्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन सुरक्षाको सम्पूर्ण प्रत्याभूति दिलाएको हुँदा तोकिएको समयमा नै निर्वाचन हुनेमा ढुक्क रहन सवैमा आग्रह गर्नुभएको छ ।

निर्वाचनको विकल्प निर्वाचन मात्रै भएको उल्लेख गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन हुन्छ कि हुन्न भन्ने जनमानसको प्रश्नलाई चिरेर आयोग सम्पूर्ण तयारीमा जुटेको बताउनुभयो ।

निर्वाचन प्रशिक्षक प्रशिक्षणसम्बन्धी मंगलबार आयोजित कार्यशालामा उहाँले निर्वाचन सुरक्षाका लागि आयोगले सरकार र सबै सुरक्षा निकायसँग समन्वय गरिरहेको जानकारी गराउनुभयो ।

“निर्वाचन हुन्छ कि हुन्न भन्ने संशय विगतका निर्वाचनमा पनि हुने गरेको थियो । निर्वाचनको कुनै विकल्प छैन, संविधानसभाको निर्वाचनका समयमा पनि हुन्छ कि हुँदैन भनेर अघिल्लो दिनसम्म शङ्का–उपशङ्का गरिएको थियो । भोलिपल्ट मतदानको प्रक्रिया सम्पन्न भयो । अहिले त्यही प्रश्न हो । जनमानसमा आउने प्रश्नलाई निर्वाचन मार्फत चिनुपर्छ । निर्वाचन हुन्छ”, कार्यवाहक प्रमुख भण्डारीले भन्नुभयो ।

जेनजी आन्दोलनपछिको फरक पृष्ठभूमिमा निर्वाचन हुन गइरहेकामा विभिन्न प्रश्न उठ्नु स्वभाविक भएको उल्लेख गर्दै उहाँले निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

सरकारले सुरक्षा व्यवस्था सुदृढीकरणका लागि सातै प्रदेशमा सुरक्षा गोष्ठीमार्फत विभिन्न राय सुझाव प्राप्त गरी सुरक्षाको विश्लेषण गरिरहेको कार्यवाहक प्रमुख भण्डारीले बताउनुभयो । आयोगले चुनावको तयारीका क्रममा प्रदेशका प्रमुख सचिव र सचिवहरुसँग पनि परामर्श गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.