विश्व समाचार

अमेरिकासंग युद्ध गर्न तम्सने इरानको सैन्य क्षमता यस्तो छ…

इराकको राजधानी बदादमा अमेरिकी आक्रमणमा परी इरानी कूड्स फोर्सका प्रमुख कासिम सुलेमानीको गत शुक्रबार मृत्यु भएपछि अहिले मध्यपूर्वमा युद्धको बादल मडारिएको छ । अमेरिकासंग बदला लिने चेतावनी दिएको इरानले मंगलबार राति इराकस्थित अमेरिकी सैन्य शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

इरानको यो कदमपछि अमेरिकासंग युद्ध गर्न तयार इरानको सैन्य क्षमताका बारेमा अनेक अडकलबाजी हुने गरेको छ । कासिम सुलेमानीको हत्यापछि प्रतिक्रिया दिँदै इरानका सर्वोच्च नेता आयतूला अली खामनेईले उक्त आक्रमणमा संलग्न पक्षसँग गम्भीर प्रतिशोध लिइने वाचा गरे अनुसार इराकमा रहेको सैन्य शिविरमा आक्रमण गर्यो ।

अमेरिकालाई चुनौती दिने इरानको सैन्य क्षमताका विषयमा बिबिसि नेपाली सेवाले सार्वजनिक गरेको सामग्री यहाँ प्रस्तुत छ-

इरानको सेना कति ठूलो छ?
इरानमा पाँच लाख २३ हजार सक्रिय सैन्य सेवामा भएको अनुमान गरिएको यूकेस्थित इन्टर्न्याश्नल इन्स्टिट्यूट फोर स्ट्रटीजिक स्टडीजले जनाएको छ। उक्त सङ्ख्यामा इरानी सेनाका साढे तीन लाख र इस्लामिक रेभलूशनरी गार्ड्स कोर (आईआरजीसी) का कम्तीमा डेढ लाख जवान सम्मिलित छन्। आईआरजीसीको जलसेनामा थप २०,००० सैनिक छन्।

जलसेनाले स्ट्रेट अफ हर्मुज भनिने जलक्षेत्रमा गस्ती गर्छ। गत वर्ष त्यहाँ तेल बोक्ने विदेशी ध्वजावाहक ट्याङ्करलाई इरानी पक्षले कारबाही गर्दा तनाव उत्पन्न भएको थियो।

आन्तरिक विद्रोह दमन गर्न सघाउँदै आएको स्वयंसेवीहरूको एउटा एकाइमा पनि आईआरजीसीको नियन्त्रण छ। उक्त समूहले हजारौँ सुरक्षाकर्मी खटाउन सक्छ।

इरानमा इस्लामिक प्रणालीको रक्षा गर्न चार दशकअघि आईआरजीसीको गठन भएको थियो। त्यसयता उक्त समूह एउटा महत्त्वपूर्ण सैन्य, राजनीतिक र आर्थिक बलको रूपमा स्थापित भएको छ। सेनामा भन्दा कम जनशक्ति भए पनि आईआरजीसीलाई सबैभन्दा बढी अधिकार भएको सैन्य बल मानिन्छ।

विदेशमा कसरी गतिविधि हुन्छ?
आईआरजीसीअन्तर्गत रहेको विशेष सैन्य बल ‘कूड्स फोर्स’ले विदेशमा गोप्य गतिविधि सञ्चालन गर्दै आएको छ। झन्डै ५,००० जना भएको कूड्स फोर्स जनरल सुलेमानीको नेतृत्वमा थियो। त्यसले इरानका सर्वोच्च नेताबाट सोझै निर्देशन लिने गरेको छ।

कूड्स फोर्स सिरियामा पनि परिचालित भएको थियो। उसले त्यहाँ सिरियाली राष्ट्रपति बशर अल-असदका विश्वासपात्र सैन्य अधिकारी र सरकारविरुद्ध सङ्घर्ष गरिरहेका शिया लडाकुहरूलाई परामर्श दिएको थियो।

इराकमा उसले शिया समुदायको बाहुल्य भएको अर्धसैनिक बललाई इस्लामिक स्टेटसँगको सङ्घर्षमा सघाएको थियो। तर कूड्स फोर्सले अमेरिकाद्वारा आतङ्ककारी घोषित मध्यपूर्वका सङ्गठनहरूलाई आर्थिक सहायता, तालिम, हतियार तथा उपकरण उपलब्ध गराएको अमेरिकी दाबी छ।

ती सङ्गठनमा लेबननको हेज्बूला आन्दोलन र प्यालिस्टिनीअन इस्लामिक जिहाद छन्। तर आर्थिक सङ्कट र नाकाबन्दीका कारण इरानको हतियार आयात प्रभावित भएको छ। उक्त क्षेत्रमा इरानको हतियार आयात अरू देशको तुलनामा सानै छ।

स्टक्होम इन्टर्न्याश्नल पीस रिसर्च इन्स्टिट्यूटका अनुसार सन् २००९ देखि २०१८ को अवधिमा साउदी अरबले गरेको रक्षासम्बन्धी सामग्री आयातको कुल मूल्यको ३.५ प्रतिशत मात्र इरानले गर्‍यो। इरानले अधिकांश हतियार रुस र बाँकी चीनबाट आयात गर्छ।

के इरानसँग क्षेप्यास्त्र छ?
क्षेप्यास्त्र इरानको सैन्य शक्तिको अभिन्न अङ्ग हो। प्रतिद्वन्द्वी इजरायल र साउदी अरबको तुलनामा उसको वायुसेनाको क्षमता कमजोर भएकाले इरानका लागि क्षेप्यास्त्रको ठूलो सामरिक महत्त्व छ।

अमेरिकाको रक्षा मन्त्रालयको एउटा प्रतिवेदनमा इरानको क्षेप्यास्त्र क्षमतालाई मध्यपूर्वकै सबैभन्दा ठूलो भनेर उल्लेख गरिएको छ।

उससँग छोटो र मध्यम दूरीका क्षेप्यास्त्रको भण्डार छ। अमेरिकी प्रतिवेदनका अनुसार इरानले लामो दूरीका अन्तरमहादेशीय क्षेप्यास्त्र विकास गर्न अन्तरिक्ष प्रविधिको पनि परीक्षण गरिरहेको छ।

सन् २०१५ मा अन्य देशसँग गरिएको पारमाणविक सम्झौताका कारण इरानले लामो दूरीको क्षेप्यास्त्रसम्बन्धी कार्यक्रम रोकेको रोयल यूनाइटिड सर्भिसिज इन्स्टिट्यूट (रुसी) ले जनाएको छ।

तर सम्झौतामा देखिएको अन्योलका कारण इरानले उक्त कार्यक्रम पछि पुन: थालेको हुन सक्छ। जे भए पनि साउदी अरब र खाडीक्षेत्रका धेरै स्थानमा र सम्भवत: इजरेलमा पनि इरानी क्षेप्यास्त्र पुग्न सक्छन्।

इरानलाई समर्थन गर्ने केही क्षेत्रीय साझेदारले इजरेल, साउदी अरब र यूएईमा इरानले उपलब्ध गराएका क्षेप्यास्त्र प्रहार गरेको प्रमाण भेटिएको छ।

गत वर्ष मे महिनामा इरानसँग तनाव बढेपछि अमेरिकाले मध्यपूर्वमा क्षेप्यास्त्र प्रतिरोध गर्ने क्षमा भएको पेट्रिओट एन्टी-मिसाइल डिफेन्स सिस्टम पठाएको थियो। उक्त प्रणालीले बलिस्टिक क्षेप्यास्त्र, क्रूज क्षेप्यास्त्र र विकसित विमानलाई निष्क्रिय बनाइदिन सक्छ।

इरानसँग अरू कस्ता अस्त्र छन्?
वर्षौँदेखि नाकाबन्दी खेपेको भए पनि इरानसँग आधुनिक ड्रोनहरू छन्। इस्लामिक स्टेट समूहसँग सन् २०१६ मा इराकमा सङ्घर्ष हुँदा इरानी ड्रोन प्रयोग गरिएको थियो।

रोयल यूनाइटिड सर्भिसिज इन्स्टिट्यूटका अनुसार इरानले सिरियाबाट आफ्ना अस्त्रयुक्त ड्रोन इजरेली हवाईक्षेत्रमा पनि पठाएको छ।

गत वर्ष जुन महिनामा अमेरिकाले जासुसी गर्न उडाएको एउटा ड्रोन इरानले खसालिदिएको थियो। स्ट्रेट अफ हर्मुजमाथि उड्दा उक्त ड्रोनले आफ्नो सीमा उल्लङ्घन गरेको इरानको दाबी थियो।

आफूले विकसित गरेको ड्रोन प्रविधि आफ्ना क्षेत्रीय साझेदार वा समर्थकलाई उपलब्ध गराउन वा बेच्न इरान तत्पर देखिएको बीसीसीका रक्षा तथा कूटनीतिक संवाददाता जोनाथन मार्कस बताउँछन्।

गत वर्ष साउदी अरबमा ड्रोन तथा मिसाइल आक्रमण गरेर दुईवटा तेलखानीमा क्षति पुर्‍याइएको थियो। त्यति बेला अमेरिका र साउदी अरब दुवैले ती घटनामा इरान संलग्न भएको आरोप लगाएका थिए। तर इरानले त्यसको खण्डन गर्दै यमनी विद्रोहीले दाबी गरेअनुसार उनीहरू नै संलग्न भएको बताएको थियो।

इरानको साइबर क्षमता कस्तो छ?
सन् २०१० मा आफ्ना पारमाणविक केन्द्रहरूमा भएको एउटा ठूलो साइबर आक्रमणपछि इरानले आफ्नो साइबर क्षमता सुदृढ बनायो। आईआरजीसीअन्तर्गत एउटा छुट्टै साइबर एकाइ भएको र त्यसले व्यापारिक र सैन्य जासुसी गर्ने गरेको विश्वास गरिन्छ।

अमेरिकी सेनाको एउटा प्रतिवेदनमा गत वर्ष इरानले विश्वभरिका विमाननिर्माता कम्पनी, रक्षा ठेकेदार, ऊर्जा र प्राकृतिक स्रोत कम्पनी र दूरसञ्चार कम्पनीलाई तारो बनाएको उल्लेख छ।

गत वर्ष माइक्रोसफ्ट कम्पनीले इरानबाट ह्याकरहरूको एउटा समूहले अमेरिकी निर्वाचन अभियानलाई निसाना बनाउन खोजेको र अमेरिकी अधिकारीहरूका खाताभित्र छिर्न खोजेको बताएको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.