कर्पोरेट/पर्यटन

विश्वका विभिन्न देशमा नेपाल भ्रमण वर्षको प्रवद्र्धन

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको नेपाल भ्रमण वर्ष २०२० काठमाडौंमा औपचारिक शुभारम्भ भएसंगै विश्वका विभिन्न देशमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी प्रवद्र्धनात्क कार्यक्रम आयोजना गरिएका छन् ।

मंगलबार अस्ट्रेलियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा भ्रमण वर्षको शुभारम्भ गरियो भने जापानमा नेपाली दूताबासको आयोजनामा यसको भव्य सुरुवात गरिएको छ ।

यसै गरी चीनको राजधानी बेइजिङमा मंगलबार एक प्रबद्र्धनात्मक कार्यक्रमको आयोजना गरिएको छ । चीनस्थित नेपाली राजदूतावासले ‘भ्रमण वर्ष २०२०’ को प्रवद्र्धनका लागि मंगलबार बेइजिङमा एक कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालले चिनियाँ नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो ।

उहाँले नेपाल पुग्ने पर्यटकले प्रकृति, संस्कृित र साहसिक पर्यटकीय आकर्षणमा आनन्द लिनसक्ने जानकारी दिनुभयो । सो अवसरमा राजदूत पौड्यालले चिनियाँ राष्ट्रपति सी चिनफिङले गत अशोजमा नेपाल भ्रमणका क्रममा भ्रमण वर्ष सन् २०२० सफलताका लागि दिनुभएको शुभकामना स्मरण गर्नुभयो । उहाँले यस वर्ष आयोजना हुने कार्यक्रमले दुई देशका जनताबीचको सम्बन्ध प्रगाढ बनाउन सघाउने विश्वास व्यक्त गर्नुभयो ।

बेइजिङ पिपुल्स एशोसिएशन फर फ्रेण्डसिप उइथ फरेन कन्ट्रिजका कार्यकारी उपाध्यक्ष झाङ क्विनले नेपाल चिनियाँ पर्यटकका लागि मनपर्ने गन्तव्य बन्दै गएको बताउनुभयो । भ्रमण वर्ष सन् २०२० ले बढीभन्दा बढी चिनियाँलाई यहाँको फरक प्राकृतिक र सांस्कृतिक समृद्धि हेर्नका लागि नेपाल घुम्न प्रेरित गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । भ्रमण वर्ष सफलताका लागि नेपालको पर्यटन प्रवद्र्धनमा पूर्ण रूपले सहयोग गर्ने उहाँले प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा सरकारका प्रतिनिधि, कूटनीतिक क्षेत्र, निजी क्षेत्र र व्यावसायिक क्षेत्र र नेपाली समुदायकोे उपस्थिति थियो । दूतावासले कुमारी नृत्यबाट सहभागीलाई स्वागत गरेको थियो भने उनीहरूलाई नेपाली खाना दिइएको थियो । सो कार्यक्रममा भ्रमण वर्षका बारेमा प्रस्तुती गरिएको दूतावासले जनाएको छ ।

यसै गरी कतारको दोहा, दक्षिण अफ्रिकाको प्रिटोरिया, क्यानाडाको ओटावा, फ्रान्सको पेरिस र इजिप्टको कायरोमा त्यहाँस्थित नेपाली राजदूतावासको सक्रियतामा ती देशका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने विविध प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यक्रमका क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्वशान्तिका प्रतीक गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्व सम्पदा सूचीमा सूचीकृत पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थलको अवलोकनका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक एवं भाषिक विविधताको देश नेपालको जीवनकालमा एकपटक भ्रमण गर्न नेपालका कूटनीतिक अधिकारीले आह्वान गर्नुभएको थियो ।

कायरोस्थित नेपाली दूतावासले हालै सगरमाथाको सफल आरोहण गरेर फर्कनुभएका त्यहाँका नागरिकलाई कार्यक्रममा आमन्त्रण गरेर नेपालको पर्यटनका विविध आयाम र उत्पादनबारे जानकारी गराएको थियो । साथै दूतावासले नेपाल भ्रमण गर्न चाहने इजिप्टका नागरिकहरूका निम्ति बेग्लै सेवाकक्ष स्थापना गरेर सेवा प्रवाह थालेको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.