जल/वातावरण

अझै पनि देशभरमा आधा संक्रमित काठमाडौंमा- जोखिम कायमै

केही समययता नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ भने निको भएर फर्कनेको संख्या बढेको छ । यसले नेपालमा कोरोना जोखिम कम हुँदगएको देखिए पनि विश्वमा कोरोनाको नयाँ प्रजातिको जन्मसंगै थप चुनौति बढेको छ र काठमाडौं उपत्यकाको जोखिम कायमै रहेको देखिन्छ ।

अहिले दैनिक संक्रमितमध्ये आधाजसो उपत्यकामै हुने गरेको छ । केही समययता जनस्तरमा स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा देखिएको उदासिनताका कारण काठमाडौंमा कोभिडको दोस्रो लहरको जोखिम कायमै छ । अहिले पनि काठमाडौं उपत्यका हटस्पटमै रहेको जनस्वास्थ्यविदहरु बताउँछन् ।

जस्तो कि बिहीबार देशभरि देखिएका कुल संक्रमितमध्ये करिब आधा जति (४८.०५ प्रतिशत) काठमाडौं जिल्लाका छन् । ५ हजार १ सय ३२ पीसीआर परीक्षण गर्दा ४ सय १२ जना संक्रमित देखिएकामा काठमाडौंका मात्र १ सय ९८ जना छन् । देशभरिमा हालसम्म कोभिडले भएको कुल (१९०३ जना) मृत्युको एक चौथाइ काठमाडौंको हो ।

सेप्टेम्बरसम्म मोटामोटी रूपमा देशभरि देखिएको कुल संक्रमितको एक चौथाइसम्म काठमाडौं जिल्लामा थियो । अक्टोबर मध्यबाट कुल कोभिड संक्रमितको एक तिहाइभन्दा बढी काठमाडौंमा देखिएको छ ।

मुलुकभर होम आइसोलेसनमा बसेका कोरोना संक्रमितमध्ये झन्डै ६६ प्रतिशतलाई कुनै पनि लक्षण नदेखिएको पाइएको छ । स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अध्ययन गरी बिहीबार सार्वजनिक प्रतिवेदनअनुसार होम आइसोलेसनमा बसेका ६५.९ प्रतिशत संक्रमितलाई लक्षण नदेखिकनै निको भएको हो ।

कोरोनाको लक्षण देखा परेकामध्ये धेरैलाई उच्च ज्वरो आउने, खोकी लाग्ने, चिसो र कमजोर अनुभव हुने, स्वादको कमी, गन्ध गुमाउने, मांसपेशी, टाउको, घाँटी, जोर्नी र छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने र वाक्वाकी लागेको प्रतिवेदनमा उल्लेख छ । अध्ययनमा सामेलमध्ये १२.५ प्रतिशत सहभागीले सामाजिक दूरी कायम नगरेको बताएका छन् ।

यस्तै, ५२.५ प्रतिशत सहभागीले परिवारसँग पूर्णरूपले र ३५ प्रतिशतले कहिलेकाहीं मात्रै सामाजिक दूरी पालना गरेको पाइएको छ । कोरोना संक्रमणविरुद्ध उपचार गरिरहेका ५९.०३ प्रतिशत सहभागीले घरेलु उपचार, ५.३ प्रतिशतले आयुर्वेदिक र २९.६ प्रतिशतले एलोपेथिक औषधि तथा उपचार सेवा लिएको पाइएको प्रतिवेदनमा जनाइएको छ ।

वरिष्ठ जनस्वास्थ्यविद् डा.राजेन्द्र बीसी देशभरि देखिएका संक्रमितमध्ये करिब एक तिहाइभन्दा बढी र मृत्युको एक चौथाइ जति भार काठमाडौं जिल्लाले लिएको हुँदा अझै काठमाडौं कोभिडको हटस्पट रहेको बताउनुहुन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जी.डी. ठाकुर बेलायतमा कोभिडको लहर पुनः फैलिएको र नेपालमा त्यहाँको नयाँ भाइरस छिरेको हुन सक्ने भए पनि त्यसलाई प्रयोगशालामार्फत किटान गर्न बाँकी रहेको र कोभिडविरुद्धको खोप दिइरहेको बेलायतले पुनः लकडाउन गर्नुपरेको तथ्य नेपालीले बिर्सन नहुने बताउनुहुन्छ ।

डा. ठाकुर सरकारले छिट्टै खोपको उपलब्धता सुनिश्चित गर्नुपर्छ भने आमव्यक्तिले मास्कको उपयोग, सामाजिक दूरी र निरन्तर हातको सफाइजस्ता मापदण्डलाई राम्ररी पालना गर्नुपर्ने सुझाव दिनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.