बिचार

पृथ्वीनारायण शाहको पुनर्जन्म वा पुनरागमन संभव छ ?

आज राष्ट्रिय एकीकरण दिवस । आफू सानो छँदादेखि नै प्रत्येक वर्षको पौष २७ गतेको दिनलाई राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती र “राष्ट्रिय एकीकरण दिवस”को रुपमा मुलुकभर विभिन्न औपचारिक कार्यक्रम आयोजना गरी मनाइन्थ्यो । सरकारले सार्वजनिक विदाको घोषणा गरेको हुन्थ्यो । भित्तेपात्रो (क्यालेण्डर) र राजपत्र (गजेट) मा “पृथ्वीजयन्ती”भनेर सार्वजनिक विदाको सूचीमा नै राखिएको हुन्थ्यो । हामी विद्यार्थीहरु विदाको दिन भएपछि त्यत्तिकै दंगदास भएर फुर्र–फुर्र हुन्थ्यौं, रमाउँथ्यौ ? के कस्तो कारणले राष्ट्रिय दिवस मनाउने गरिएको हो, त्यस दिनको राष्ट्रिय महत्व के हो ? जस्ता कुराले भन्दा ‘विद्यालय विदा हुने दिन’ भनेर मात्र बुझेका हुन्थ्यौं । सायद राष्ट्रिय एकीकरणको महत्व वोध गर्ने भन्दा त्यही नै त्यस वय र समयको साश्वत सत्य थियो ।

उमेरसँगै कक्षा भनौं या शिक्षाको स्तर बढ्दै गयो । आफूभन्दा जेठा साथीहरुले राजनीतिका कुरा गर्दै गरेका हुन्थे । आफूले पनि पाठ्यक्रममा राखिएको नागरिक शास्त्र पढ्नुपथ्र्याे । बुझेर भन्दा परीक्षामा कुन कुरा सोधिन सक्छ भन्ने हिसाबले बढी ध्यान दिएका हुन्थ्यौं । सायद त्यस्ले पनि चेतनाको जग राखिदियो होला । २०१७ साल पौष १ गते त्यस बेलाको खुला टुँडिखेलको उत्तर पश्चिमी छेउको ठूलो पिपलको बोट (जुनपछि सडक विस्तार र “रत्नपार्क” निर्माण गर्न टुँडिखेलको उत्तरतिरको भाग काटिएपछि काटियो र हाल त्यसको केही पूर्व पट्टी अर्काे तेस्रो पटक रोपिएको पिपलको बोट छ । त्यहीनिर उभिएर तत्कालीन राजा महेन्द्रको २०१७ पौष १ गतेको शाही घोषणा मौजूदा संविधानका कुन कुन धारा प्रयोग गरियो, कति धारा सँगै राजनीतिक दलहरु निलम्बित र प्रतिबन्धित भए भन्ने सुनेको थिए ।

त्यसपछि मनमस्तिकमा अनायास राजनीतिक चेतना जाग्दै गएछ । दिन ढल्दै गएर साँझ पर्न थालेपछि पहिलेदेखि निकै जमघट् हुने नयाँ सडकको “पिपल बोट”को भीड एकाएक “स्याटसुट्टै” हराएको, २÷४ जना कतै भेट भएर निकै संत्रस्त भएर “खस्याकखुसुक” गरेर कुरा गर्दै गर्दा अब नेपालमा बसेर स्वतन्त्ररुपमा बाँच्ने सोच छोडे हुन्छ– जनताले निर्वाचित गरेको संसद विघटन गरी प्रधानमन्त्रीलाई नै कारावासमा राखेपछि वसी खानु हुनेवाला हुने छैन भन्ने खालकै कुरा यत्र तत्र सुनिन्थ्यो ।

त्यसै बीच २०१७ फागुन ७ गतेका दिन त्यसबेलाको “खरीबोट चौतारी”मा “पहिलेका वर्षहरुमा जस्तै राजा आउँछन् । विद्यालय विदा हुन्छ । हामीहरु पनि प्रजातन्त्र दिवस मनाउँदै गरेको हेर्न जानुपर्छ” भन्ने सल्लाह ग¥यौं । खरीबोट चौतारी खुला थियो । त्यो अहिलेको “सैनिक ममञ्च क्षेत्र” बाहिरको सार्वजनिक स्थानकोे पूर्वपट्टीको लहरे पिपलको बोटतिर थियो । हामी ४÷५ जना सडकपूर्वको (हालको भृकुटी मण्डप पट्टीको) फुटपाथतिर उभिएर हेर्दै थियौं । राजा महेन्द्रको “सवारी” हुनासाथ कार्यक्रम शुरु भयो । विद्यार्थीहरुलाई प्रशासनले झण्डा व्यानर बाँडेको थियो क्यार ! सबैले राष्ट्रिय झण्डा र व्यानर बोक्दै, राजाको जयगान र “प्रजातन्त्र अमर रहोस्” भन्दै गए । त्यसै बीचमा पद्मकन्या कलेजका छात्राहरुको पालो आएछ । उनीहरुमध्ये २०–२५ जनाले राजाको ठीक अगाडि पुगेपछि एकै साथ कालो कपडा निकालेर “शाही कदम मुर्दावाद” भन्दै कराउँदै थिए । सैनिक र प्रहरीहरुले हत्तपत्त घेर्दै लछार पछार गरे । हामी वीचका कतिपय साथीहरु भने “अब यहाँ बस्नु हुन्न, भागौं भागौ”ं भन्दै गरेपछि हामी अनायासै दौडिएर विजुली अड्डा हुँदै वागबजार मोड पुग्यौं । त्यो बेला काउली, लसुन, प्याजले ढाकेको अहिलेको भृकुटीमण्डपदेखि बागबजारको पुरानो सडकसम्मको साढे छेक्न बनाएको नीलकण्ठको काँढेवार बीच कुनै गल्ली छेडो भएको भए दौडिँदै गरेको भीड सँगै हामी पनि त्यतै नै लाग्थ्यौं होला । तर, त्यस वखत न भृकुटीमण्डप थियो न राष्ट्रिय सभा र त्यस अगाडिको प्रदशर्नी मार्ग !

त्यो दुःखद र वर्ववर परिवेश परिदृश्यले वनासतिर धकेल्यो । तत्कालीन वातावरण र नेपालबाट स्वनिवार्सनमा पुगेका नेताहरुको जमघटले काठमाडौं शासकीय दृष्टिले नेपालको राजधानी भए रहे पनि राजनीतिक राजधानी (केन्द्र) भने वनारस बनेको रहेछ । तत्कालीन नेपालका प्रतिबन्धित राजनीतिक पार्टीका दुवै धाराका (वामपन्थी भनिने कम्युनिष्टहरु र दक्षिणपन्थी मानिने नेपाली काँग्रेस)ले विद्यार्थीहरुलाई आ–आफ्नो पार्टीबाट प्रभावित र प्रशिक्षित गर्दै नयाँ पुस्ता निर्माण गर्ने गरेका रहेछन् । त्यस्तो राजनीतिक वातावरणबाट “देशको समाज सापेक्ष, परिवर्तनको पक्षधर र ‘पुस्तक आधारित शिक्षा” सँगै देशको राजनीतिक गतिविधिमा पनि चासो राख्ने” भएको नाताले कुनै एकधारमा अनायास प्रवाहित हुन पुगेको थिएँ ।

संयोग नै मान्नुपर्छ,, २०१७ फागुन ७ गते काठमाडौंमा साथीहरुसँगै आफूले फुटपाथमा उभिएर हेर्दा भित्र राजा महेन्द्रका अगाडि पुगेर कालो झण्डा हल्लाउँदै “शाही कदम मुर्दावाद” भन्दै नारा लगाउने विद्यार्थी समूहको नेतृत्व गरेकी साहसिक छात्रा शैलजा आचार्य पनि वनारस पुगेकी रहिछन् । उनी जति साहसिकता र विद्रोही मानसिकताको भए पनि राजनीतिक चिन्तन र धाराको वैपरित्यताको कारण उनको संघर्षशीलता, प्रजातन्त्र र चिन्तन धाराको वैपरित्यताको कारण वैयक्तिक स्वतन्त्रताप्रतिको त्यत्रो प्रतिवद्धताको संमान गर्दागर्दै पनि छात्रपरिषद् (संघ)को निर्वाचनमा भने हराउने अभियानमा लागेका हामी सफल भयौं । उनी पराजित भइन् । यद्यपि उनका विपक्षमा जसलाई साथ दिने र सहयोग गर्ने निर्णय जुन भए गरिएको थियो, त्यसबेलाको परिस्थितिमा गलत थिएन । अहिले पनि सही नै थियो भन्ने सोच र मान्यताबाट अलग छैन ।

तर राजनीति कति निर्मम, क्रूर, र कठोर हुनेरहेछ ? वनारसबाट फर्केर राजनीतिक बाटोबाट राष्ट्रसेवाको नितान्त फरक धारामा प्रवाहित हुन थालेपछि क्रमशः अनुभव गर्दै गएँ । वनारसले निरर्थक र निरस राजनीतिक नशा मात्र लगाएको रहेनछ । पढ्ने, बुझ्ने, हरेक राष्ट्रिय अन्तर्राष्ट्रिय घटना परिघटनाहरुलाई “अरुका नजरियाले हेर्ने” भन्दा आफ्नै आँखाले हेर्ने, विश्लेषण गर्ने, अरुकोभन्दा छुट्टै निष्कर्षमा पुग ेपनि विभ्रभित नहुने र एक्लै भए पनि आत्मविश्वास बोकेर “सतिसाल जस्तो” अडिग हुने चेतनाको विकास पनि वनारसले नै गरिदिएको थियो । जुन सोच, संस्कार भनौ वा विश्वास आज पर्यन्त यत्किञ्चित् घटे, हटे, टुटेको छैन । भलै झण्डै ३७ वर्षे देशको शासन प्रशासनको विभिन्न कालखण्डमा परिकल्पित अपरिकल्पित आत्मसंमानमा नै ठेस लाग्ने जस्ता हण्डर र ठक्कर खाँदै कतिपय अनगिन्ती मोडमा पटक पटक जुध्नु र चेतावनी, धम्की र खप्की खानु थेग्नु परेको किन नहोस् । जेहोस्,

“स्नेह दयां च सौख्यं च यदि वा जानकीमपि
आराधनाय लोकस्य मुञ्चेता नास्ति मे व्यथा ।।”

भन्ने अयोध्याका राजा रामदेखि नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहले नुवाकोट दरवारमा आफूलाई मृत्युबोध भएपछि, आफ्ना भाइ–भारदार एवं राज्यका जिम्मेदारहरुलाई बोलाएर “लोक कल्याणकारी राजाले कसरी आफ्नै इच्छा भन्दा”, जनमतको र छिमेकीको भावनाको कदर गर्नुपर्छ ? आफ्ना मुलूकको बाह्य व्यापारीबाट कसरी शोषण हुनसक्छ, र त्यस्को निरोध गर्दै आफ्ना देशवासी प्रजाहरुको आर्थिक समुन्नति प्रगतिको बाटो के हो ?

आफ्नो राज्यको भू–अवस्थिति र त्यसका लागि मुख्यतः छिमेकीहरुसँगको संबन्धको आधार कूटनीति कस्तो अख्तियार गर्नुपर्छ” भन्ने जस्ता विषयमा जुन संक्षिप्त निर्देशन दिएका थिए– त्यस्को संहिताबद्ध गरिएकोलाई जुन “दिव्योपदेश” भनेर भनियो । त्यस संहिताको अक्षरशः अध्ययनपछि नामाकरण बाहेक अरुबाट आफू “अधिवंशवादी व्यवस्थाबाट शासन सत्ता नियन्ता बनेका सबै राजा वा शासक शोषक, निरंकुश, स्वेच्छाचारी तानाशाही हुन्छन्” भन्ने सोच राख्नु नितान्त निषेधवादी र अतिव्याप्तिको मनोरोग ग्रस्त ठहरिनु हुने रहेछ” भन्ने निष्कर्षमा जागिरे जीवनको प्रारम्भकालमा नै पुगेको थिएँ । किनकि पृथ्वीनारायणकै कूल–वंशमा रणवहादुर, सुरेन्द्र पनि जन्मेका थिए र त्यसै वंशमा महेन्द्र वीरेन्द्र र ज्ञानेन्द्रहरु जन्मे र अन्ततोगत्वा राजतन्त्रकै अन्त्य गर्ने गराउने अन्य कारणमा उनीहरु पनि कारक तत्व बने ।

तर ती सबै कुराभन्दा पुरानो शासन व्यवस्था फाल्दा “नयाँ शासन वा परिवर्तन आएपछि देशको शासन प्रशासन, न्याय व्यवस्था, आमजनताको ज्यू–ज्यानको सुरक्षामा आमूल परिवर्तन हुने” जुन सपना, क्रान्ति वा परिवर्तनका लागि आम जनतालाई सडकमा उतार्नेहरुले क्रान्ति वा संघर्षका बेला बाँडेका थिए, आज तिनै पृथ्वीनारायणका नजरमा कति भ्रष्ट, न्याय निशाफ वेच्नेका मतियार, संरक्षक र स्वयं द्रव्यपिशाच भएर, राष्ट्रिय ढुकुटी लुट्ने, राष्ट्रिय सम्पदा मात्र नभै देशकै अस्तित्व, अस्मिता, अखण्डता र स्वतन्त्रता विक्री गर्न लालायित र उद्यत जाँचेका होलान् ?

यही र यस्ता अनुत्तरित र “तयारी चाउचाउ” जस्तै गुजुल्टिएका प्रश्नले आफू जस्तै नेपालका सचेत, तर दलगत आग्रह, दुराग्रह मुक्तहरु भन्ने लाग्छ । संभवतः त्यसैले २०४६ र अझ २०६२।०६३ पछि पृथ्वीनारायण शाह र राष्ट्रिय एकीकरणको सन्दर्भको महत्ताबोध गर्ने र राष्ट्रिय दिवस मनाउने त के तिनको नाम सुन्दा पनि प्रतिगामी ठहरिएला भन्ने ठान्ने आजका “घण्टाकर्णहरु”, राष्ट्रिय विभूतिका शालीक तोड्ने र एकीकरण दिवस वहिष्कार गर्दै विधर्मीहरुको क्रिसमस मान्नेकै कोखबाट जन्मेकाहरुले पनि यस वर्ष जसरी पृथ्वीजयन्ती र राष्ट्रिय एकीकरणबारे विभिन्न संचारमाध्यमार्फत चर्चा गरे, त्यसको प्रशंसा गर्नैपर्छ ।

तथापि सबैजसो लेखकको लेखको अन्तनिर्हित अर्थ, आशय र अपेक्षा भ्रष्टीकृत राष्ट्रिय चरित्र, ध्वस्तीकृत र खण्डीकृत राज्य (राष्ट्र)को पुन एकीकरणका लागि अर्काे पृथ्वीनारयणको पुनर्जीवन, पुर्नउदय वा पुनरागमन नै हुनुपर्छ, त्यसका लागि थर वंश जुनसुकै किन नहोस् । फेरी “नारायण जन्मियोस्” भन्ने नै हो जस्तो झल्किन्छ ।

उहिले (आजभन्दा ३०० (तीन सय) वर्ष पहिले सम्म) तत्कालीन वाइसे चौवीसे, भूरे टाकुरे राज्यहरुले आ–आफ्ना राज्य रजौटा कायम गरेर लिच्छवीकालदेखिको एउटा वृहद् राज्यमाथि जसरी रजाइँ गरेका थिए, त्यसैमध्येको गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले ती खण्डित र विशृङ्खलित राज्यहरुलाई एकीकरणको प्रारम्भ गरे । उनैले “स्वतन्त्र, सार्वभौम, नेपाल राष्ट्र निर्माण भएपछि त्यही सामाजिक विकृति, विसंगीतका साथै नैतिक पतनको मूलजरो भनेकै भ्रष्टाचार हो, त्यसैले त्यस्ता भ्रष्ट (पृथ्वीनारायणका शब्दमा “घुस्याहाहरु” सबैभन्दा ठूलो अपराधी, राष्ट्रघाती र देश (राज्य) का शत्रु हुन् । त्यसैले त्यस्तालाई प्राणदण्ड दिनेसम्मको सजाय दिनु उचित हुने” जुन अभिव्यक्ति दिएका थिए त्यो अहिलेको सन्दर्भमा कति सान्दर्भिक छ र आवश्यक देखिन्छ ? थप चर्चाको प्रयोजन छ ।

माथि भनिए झै लिच्छवीकालदेखि झण्डै हजारौं वर्षसम्म एकीकृत विशाल राज्यलाई तत्कालीन लोभी, पापी, अनैतिक अदूरदर्शी विलासी सामन्तहरुले आ–आफ्ना विभिन्न स्वार्थ अभिप्रेरित भई, विखण्डित गरी, छुट्टा छुट्टै राज्य कायम गरी, रजाई गर्ने र उनका राज्य रजौटाभित्रका वासिन्दा जस्लाई उनीहरु “रैती–प्रजा” भन्थे– हरुलाई जसरी आ–आफ्ना सोच र सनकको आडवलमा सनद सवाल (अहिलेको सन्दर्भमा ऐन, नियम, कानून जस्तो) जारी गरी भारी शोषण गर्थे ।

ठीक अहिलेका राजनीतिक दलका नेताहरु– (जस्लाई कतिपयले राजनीतिलाई विनापूँजीको असीमित र जोखिम रहित कमाईको माध्यम बनाएका, लूटाहा, फटाहा पनि भन्ने गरेका छन् । तर पनि यहाँ भने राजनीतिक नेता नै भन्नु–मान्नु उपयुक्त हुन्छ)– ले जे जस्तो सहमतिबाट मौजूदा संविधान बनाए । त्यसैका माध्यमबाट यो अन्तर्राष्ट्रिय रुपमा अति जटिल बन्दै गएको विश्व राजनीतिक, खास गरी सबैले आत्मसुरक्षार्थ चासो राख्दै गरेको, ज्यादैै संवेदनशील, एक शब्दावलीमा “तरवारको धारमा उभिएको” नेपाल राष्ट्रलाई सात प्रदेश मात्र नवनाई ७५३ वटा स्थानीय निकायका रुपमा, आ–आफ्नै तरिकाले नियम कानून वनाई आम स्थानीय वासिन्दाको थाप्लोमा मनलाग्दो दरमा कर र दै–दस्तुर उठाउने, स्वतन्त्रताको प्रत्यभूति दिइयो, र गाउँगाउँमा सिंहदरबार (अर्थ र आशय, स्वतन्त्र र अवाधित शासन केन्द्रको मान्यता प्राप्त निकायको प्रशासनिक केन्द्र मान्ने नै हो, (त्यो नभए नरहेको भए पनि प्रयोग निरपेक्ष (पूर्णतः) रुपमा त्यस्तै वनाइयो) यस्को बाहिरी रुप वा आवरणमा नितान्त फरक मानिए भनिए पनि सारमा ती २२ से चौबीसे राजा रजौटाभन्दा नितान्त वर्वर, जर्जर क्रूर र निरंकुश शैलीको पुनरावृत्तिको बोध सेवाग्राहीले गरिरहेछन् ।

यस्तो बेहदको संवैधानिक स्वतन्त्रताको आडवलमा स्वच्छन्ततावादी प्रयोग, विकेन्द्रीकरण वा स्वायत्तताको नाममा राष्ट्रिय विखण्डीकरण, उदार आर्थिक नीतिको प्रत्याभूतिकरणका कानूनी व्यवस्थाको आडवलमा पदको चरम दुरुपयोग, कार्यकर्ताको तुष्टीकरणको निमित्त सिङ्गो शासन संयन्त्र, समाजको चौतर्फी भ्रष्टीकरण जुन भइरहेछ, त्यसैबाट आज देश पतनको बाटो समाएर विनाशको विन्दुमा पुग्न लगेको टड्कारै देखिँदै छ । यस्तो कालखण्डमा उभिएर अर्काे पृथ्वी नारायणको पुनरागमन वा पुनर्जीवनको कसैले चाहना कामना वा प्रार्थना गर्छ भने त्यसलाई संघीयता विरोधी, प्रतिगमनवादी, ठान्ने कि ? लोकतान्त्रिक संघीय गणतन्त्रात्मक शासन व्यवस्थाका हिजो र आजका शासन सत्तानियन्ताहरुकै शब्दमा भन्ने हो भने “प्राप्त उपलब्धी” लाई निषेध वा प्रतिनिषेधवादी बाटोतिर सार्वभौम जनताले सोचेको संकेत भन्ने ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.