प्रदेशबागमती

प्रदेश ३ ले पाउने भयो नाम र राजधानी- प्रदेश सभामा मतदान सुरु

संघीय राजधानी काठमाडौं समेत रहेको प्रदेश नं. ३ को नाम र राजधानी तोक्न प्रदेशसभामा मतदान सुरु भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सचिवालय बैठकको प्रस्ताव र प्रदेशसभा सचिवालयको निर्णय अनुसार नाम र स्थायी राजधानी तोक्न मतदान प्रक्रिया सुरु भएको हो ।

प्रदेश ३ को नाम र स्थायी राजधानीबारे टुंगो लगाएमा यो नाम र स्थायी राजधानी टुंगो लगाउने चौथो प्रदेश हुनेछ । गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशले नाम र स्थायी राजधानी पाइसके भने प्रदेश १, २ र ५ ले अझै पाएका छैनन् ।

प्रदेशसभा गठन भएपछि गत दुई वर्षदेखि थाँती रहेको प्रदेशको स्थायी राजधानी र प्रदेश राजधानीको नामाकरणका लागि शनिबार दर्ता भएको प्रस्तावमाथि मतदान हुन लागेको हो । पहिलो चरणमा प्रदेशको स्थायी राजधानी र त्यसपछि प्रदेशको नामाकारणका लागि मतदान गर्ने गरी कार्य तालिका तय भएको छ ।

शनिबार बसेको बैठकमा स्थायी राजधानीका लागि मकवानपुरको हेटौंडा र काभ्रेपलाञ्चोकको धुलिखेल प्रस्ताव भएको छ । प्रदेश ३ को ११० सदस्यीय सभामा नेकपाका ८० र कांग्रेसका २२ सांसद् छन् । विवेकशीलको ३, नेपाल मजदुर किसान पार्टीको २, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र १र१ सांसद् छन् । प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव पारित हुन ७४ मत चाहिन्छ । बहुसंख्यक सांसद् हेटौंडाको पक्षमा देखिएकाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा हुने पक्का छ ।

प्रदेश ३ को नाम र स्थायी राजधानीलाई लिएर सत्तारूढ दल नेकपामै विवाद भएको थियो । नामभन्दा पनि राजधानीको विषयमा नेकपा सांसदहरूको असहमति छ । सांसदहरूबीच मतैक्यता नभएपछि नेकपा सचिवालय बैठकले नै नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौंडालाई बनाउन निर्देशन दिएको थियो । यद्यपि, सांसदहरूले सुरुमा यसबारे असहमति जनाएका थिए । पछि नेकपा प्रदेश ३ को संसदीय दलको बैठकले पार्टी सचिवालयकै निर्णय सदर गरेको थियो । लामो समय अनिर्णित रहेको कांग्रेसले भने अन्तिममा आएर नेकपाकै प्रस्तावमा सहमति जनाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.