राजनीति

राजीनामा नदिने शिवमायाको अडानले नेकपा नेतृत्व संकटमा- कुरा नमिलेपछि संसद स्थगित

चार महिनादेखि रिक्त रहेको सभामुख पदमा सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाएर अर्को सभामुख बनाउने प्रयास असफल भएको छ ।

शनिबार नेकपा सचिवालयले शिवमायालाई राजीनामा दिन दिएको निर्देशन नमान्नुभएकी उहाँले आइतबार अध्यक्षद्वयकै सामुन्ने राजीनामा नदिने र जे गर्नुपर्छ गर्नुस् भन्ने जवाफ दिनुभएको समाचार छ ।

शनिबार उपसभामुख तुम्बाहाम्फेले आफूले राजीनामा नदिने हिम्मत भए महाभियोग लगाएर हटाउन चुनौति दिनुभएको थियो । आज (पुस २७ गते) संसद बैठक बस्नुपर्ने र यही बैठकबाट सभामुख चयनको प्रक्रिया थालनी हुनुपर्ने थियो तर उपसभामुख थुम्बाहाम्फेले आफूलाई सभामुख बनाउने भए मात्रै राजीनामा दिने नत्र संसद बैठक चलाउने बताउँदै आउनुभएको थियो । उताा नेकपा अध्यक्षहरु भने शिवमायालाई उपसभामुखबाट राजीनामा गराएर अर्को व्यक्तिलाई सभामुख बनाउने र उपसभामुख राष्ट्रिय जनता पार्टीलाई दिने तयारीमा रहेका छन् ।

आइतबार नेताद्वयले बोलाएको बैठकमा सभामुखको उम्मेदवार चयनका लागि पनि राजीनामा आवश्यक रहेको भनेर नेताहरुले सम्झाए पनि उपसभामुखले राजीनामा दिन्न भनेर हिँडेको बालुवाटार स्रोतले जनाएको छ । कुरा नमिलेपछि आइतबार दिउँसो १ बजे निर्धारित संसद बैठक आउँदो माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

उपसभामुख तुम्बाहाम्फेले सचिवालयको बैठकको निर्णयसमेत नमानेपछि विहानै प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेर छलफल गर्नुभएको थियो । सो छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपा महासचिव बिष्णु पौडेल पनि उपस्थित थिए । उपसभामुखलाई बोलाएरै छलफल गर्दा पनि निकास दिन नमानेपछि नेकपा नेतृत्व संकटमा परेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाएको भनिएकी उपसभामुखले पार्टीको आग्रह र निर्णयसमेत नमानेपछि अब के गर्ने भन्नेमा नेतृत्व छलफलमा छ । उहाँलाई अन्तिम पटक सम्झाउने तयारी छ । सम्भवतः प्रधानमन्त्रीले राष्ट्रपतिलाई पनि आग्रह गर्नुहुनेछ । तुम्बाहाम्फेले राजीनामा दिएपछि मात्र नेकपाबाट कसलाई उम्मेदवार बनाउने भनेर छलफल हुने नेताहरुले बताएका छन् ।

नेकपाका एकथरि नेता भने उहाँलाई समानुवातिकबाट सांसद बनाइएकाले पार्टीले सांसदबाट निष्काशन गर्नसक्ने बताइरहेका छन् । हुन पनि तुम्बाहाम्फेले राजीनामा नदिएमा नेकपा सामु तीनवटा विकल्पमात्र छन् । तीमध्ये पहिलो विकल्प उहाँलाई नै सभामुख बनाउने निर्णय गर्ने र राजीनामा गराउने हो । नत्र समानुपातिक सांसदको सूचीबाट उहाँको नाम हटाउन पार्टीले निर्वाचन आयोगलाई पत्र लेख्ने ।

त्यसो त सभामुखका लागि शिवमाया कुनै कोणबाट पनि अयोग्य हैनन् । उच्चशिक्षित महिला र जनजाति समुदायको प्रतिनिधित्व गर्ने उहाँलाई सो पदमा स्थापित गराउँदा नेकपा नेतृत्वको मात्र हैन देशकै शिर उच्च हुने भए पनि भागवण्डाको राजनीतिले सत्तारुढ नेकपाभित्र योग्यहरुभन्दा पनि आफ्नाहरुले मौका पाउँदै आएका छन् । शिवमायाको हकमा पनि यही भएको छ ।

सभामुखका लागि पूर्व एमालेबाट कि पूर्व माओवादीबाट भन्ने विवाद चलिरहेका बेला शिवमायालाई नै सभामुख बनाउने प्रस्ताव गर्दा पार्टीको इज्जत नै बढ्ने भए पनि सभामुख चयनका लागि देशी विदेशी शक्तिको समेत चलखेल रहेको आशंकाकाबीच शिवमायाको अडानलाई सिंगो नेपाली महिलाको अडानका रुपमा पनि हेरिएको छ ।

सभामुख चयनमा तीनधार : उपसभामुख शिवमायाप्रति राष्ट्रपतिको चासो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.