भारत राम र नेपाल लक्ष्मण हैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको चर्चित टेलिभिजन च्यानल जी न्यूजलाई अन्तरवार्ता दिंदै भारत दाई र नेपाल भाइ नभएको बताउनुभएको छ । भारतीय पत्रकारले भारत र नेपाल राम लक्ष्मणको जस्तो सम्बन्ध रहेको र अहिले लक्ष्मणले रामको दर्जा खोजेको हो भन्ने भन्ने प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
भारत र नेपालको सम्बन्ध भूगोल, जनसंख्याका आधारमा सानो ठूलो नहुने भन्दै प्रधानमन्त्री ओलीले “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उमेरले मभन्दा ठूलो भएकाले उहाँलाई व्यक्तिगत रुपमा गर्नुपर्ने सम्मान गर्ने तर दुई देशका प्रधानमन्त्रीका रुपमा दुबै बराबरीको भएको” स्पष्ट पार्नुभयो ।
देशको भूगोलका आधारमा सानो र ठूलो नहुने स्पष्ट गर्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो यो भावना र सोच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि स्वीकार्य भएको तर भारतमा आफ्नो सोचको गलत प्रचार भएको पनि बताउनुभयो ।
हिन्दी भाषामा गरिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले भारतीय पत्रकारको सो प्रश्ना लामो शास्त्रार्थ गर्दै जनकपुर, यज्ञवल्क्य लगायतका चर्चा गर्दै सम्पूर्ण शास्त्रहरु नेपालमै लेखिएको दावी गर्नुभयो । अरस्तुभन्दा पहिले नै नेपालमा दर्शन लेखन भएको हुँदा सत्य मान्नुपर्ने बताउनुभयो ।
त्यस्तै प्रधानमन्त्री ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुराको नक्सा समेटेर नक्सा चीनको आडमा गरिएको भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले तपाईको प्रश्न उत्तेजित बनाउने खालको भयो, ‘क्षमा गर्नुहोला’ भन्दै भारतले काश्मिरी भूभागलाई भारतले आफ्नो नक्सामा राख्दा नेपालको भूमि राख्नपर्ने कुनै आवश्यकता थिएन र यो विषयमा नेपालले वार्ताको प्रस्ताव गर्दा भारतले वेवास्ता गरेपछि नेपालले आफ्नो भूमिसहितको नक्सा जारी गरेको स्पष्ट गर्नुभयो ।
भारतले नक्सा मात्रै छापेन, नेपाली भूमि अतिक्रमण गरेर बाटो बनाइयो, उद्घाटन गरियो, नेपालले कुटनीतिक नोट पठाउँदै वास्ता गरिएन, नेपाली भूमि नक्सामा पार्नु, सडक बनाउनु उदघाटन गर्नु के आवश्यकता थियो भन्दै प्रधानमन्त्री ओलीले नेपाल भारत र चीन कुनै एकको पक्षमा लागेर अर्को बिरुद्ध प्रयोगमा नआउने र दुबै मित्रसंग बराबरको सम्बन्ध राख्ने जवाफ दिनुभयो ।
नेपालको दुई विशाल छिमेकी चीन र भारतबीच तनाव हुँदा त्यसको नोक्सानन नेपाललाइ पनि हुने भन्दै प्रधानमन्त्री ओलीले यी दुबैसंग सदैव सचेत रहेर व्यवहार गरिरहेको बताउँदै हात्ती कुस्ती खेले पनि मैदानको नास र मिले पनि मैदानकै नास हुने भन्दै दुबै मुलुकसंग तटस्थ रहेर बस्ने नेपालको नीति रहेको स्पष्ट पार्नुभयो ।
अन्तरवार्ताका क्रममा प्रधानमन्त्री ओलीले हिमालदेखि सागरसम्म भूगोल रहेको भारतलाई के कमी थियो भन्ने प्रश्न गर्दै नेपाल कहिल्यै उपनिवेश नबनेको तथ्य बुझ्नुपर्ने पनि बताउनुभयो ।
अन्तरवार्ताका क्रममा पुराण, वेद, इतिहास र शास्त्रको उद्गमका बारेमा लामो व्याख्यान दिनुभएकाा प्रधानमन्त्री ओलीले धर्म, संस्कृति परम्परामा नेपाल र भारत समान भएको र यसको मनन सबैले गर्नुपर्ने बताउनुभएपछि अखण्ड भारतको पक्षमा हो भन्ने प्रश्नको उत्तरमाा उहाँले अखण्ड भारत कहिल्यै नभएको बताउँदै यो सम्भव नभएको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो भारत कहिल्यै एक थिएन, सांस्कृतिक रुपमा समान हुनु एउटा कुरा हो तर रामायण र महाभारतकालदेखि भारतमा अनेक राज्य रहेको स्पष्ट गर्दै भारत एक भएको कति नै भयो र भन्ने प्रश्न गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्