राजनीति

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम औचित्यपूर्ण रहेको नेमकिपाको ठहर

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी नयाँ निर्वाचनमा जाने निर्णयपछि सत्तारुढ पार्टी नै विभाजित भएर बिरोध प्रदर्शन भैरहेका बेला नेपाल मजदूर किसान पार्टीले भने सो कदमको स्वागत गरेको छ ।

बुधबार भक्तपुर नगरपालिकाको आठौँ नगरसभा समापन समारोहलाई सम्बोधन गर्दै सो पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदम औचित्यपूर्ण भएको बताउनुभएको हो ।

उहाँले निर्वाचनले जनताको चेतनास्तर नाप्ने हुँदा राजनीतिक दलहरू निर्वाचनमा जानु राम्रो हुने बताउँदै निर्वाचनबाट भाग्न हुँदैन भन्नुभयो ।

उहाँले सरकारसँग ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति दिन माग गर्नुभयो । काठमाडौँ उपत्यकाका सम्पदा समाप्त हुने खतरा बढिरहेकोतर्फ सचेत पार्नुहुँदै उहाँले भक्तपुरको चारै दिशामा शहरीकरणको नाममा जथाभावी निजी प्लटिङका कारण अव्यवस्थित शहरको विकास भइरहेको र कृषियोग्य जमिन घटिरहेको बताउनुभयो ।

कार्यक्रममा वाग्मती प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले भक्तपुर नगरपालिकाले अविचलित ढङ्गले जनताको सेवामा क्रियाशील भई अगाडि बढिरहेको बताउनभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतिनिधिसभा विघटनको बेला स्थानीय तहमा बसेर काम गरेका जनप्रतिनिधिको भूमिका अझ बढेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नपाका उपप्रमुख रजनी जोशी, नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भक्तपुर नपाले आफ्नो छुट्टै पहिचान कायम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.