जन सरोकार

मिटर ब्याजी राजपा केन्द्रीय सदस्य यादवको घरमा प्रहरी छापा

राजनीतिक दलको नेता बनेर जनताको सेवा गर्नुको साटो उल्टै मिटर ब्याजमा ऋण दिएर सर्वसाधारण ठगेको आरोपमा पक्राउ परेका राजपा नेपालका केन्द्रीय सदस्य सर्लाही बरहथवाका रामबाबु राय यादवको घरमा प्रहरीले सोमबार खानतलासी गरेको छ ।

सर्वसाधारणलाई ऋण दिँला कपाली तमसुक बनाएर उठिवास लगाएको आरोपमा पक्राउ परेका यादवको बरहथवा नगरपालिका–१०, सीतापुरस्थित घरमा प्रहरीले दिउँसो खानतलासी गरेको हो ।

त्यसक्रममा यादवले विभिन्न व्यक्तिलाई ऋण प्रवाह गर्दा गरेको कागज र विभिन्न बैङ्कका चेक बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

खानतलासी लिँदा बरामद भएको कागजातले घटनाको अनुसन्धानमा सहयोग पुग्ने प्रहरीले जनाएको छ । यादवको घरमा खानतलासी गर्न जिल्ला प्रहरी कार्यालय मलङ्गवाको मुद्दा फाँटका प्रहरी निरीक्षक उमाशङ्कर गुप्ता र ईलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक राजेन्द्र यादवको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो । प्रहरीले यादवको घरमा झण्डै दुई घण्टा लगाएर खानतलासी गरेको हो ।

पीडितले काठमाडौंस्थित गृह मन्त्रालयमा पुगेर मिटर ब्याजी यादवले ठगी गरेको भन्दै उजुरी गरेपछि उनलाई प्रहरीले यही पुस २३ गते सर्लाहीको हरिपुरबाट पक्राउ गरेको थियो । भेष परिवर्तन गरी भाग्दै गरेको अवस्थामा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडितको उजुरीका आधारमा प्रहरीले मिटरब्याजी यादवविरुद्ध जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।

यादवले ऋण प्रवाह गर्दा लिएको ऋणको भन्दा धेरैको कागज बनाई उठिवास लगाएको भन्दै कारवाही हुनुपर्ने मागसहित पीडितहरुले बरहथवा बजारमा प्रदर्शन गरेका थिए भने राष्ट्रिय जनता पार्टी नेपाल राजपाले पनि उनको बचाउ गर्दै बरहथवा बजारमा बेग्लै र्‍याली निकालेको थियो ।

सर्लाहीका मिटरब्याजी रामबाबु पक्राउ- मिटरब्याज पीडितहरु न्याय माग्दै काठमाडौंमा

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.