"हाम्रा चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत गर्नेछ"

नेपालमा मनाइने हरेक चाडपर्व आआफ्नै किसिमले हरेक समुदायले मनाउने गरेकाले नै सहिष्णुता र राष्ट्रिय एकता बलियो बनिरहेको छ । यस्तै विभिन्न समुदायले मनाउने माघेसङ्क्रान्ति जस्तो विशेष चाडले राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ ।
मकर सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रुपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभएको छ ।
माघीपर्वका अवसरमा उहाँले दिनुभएको सन्देशमा भनिएको छ, “हाम्रा पर्वले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न उल्लेख्य योगदान पु¥याएको मैले विश्वास लिएको छु ।” माघी पर्वलाई थारु समुदायबाट नयाँ वर्षका रुपमा समेत धूमधामसँग मनाउने गरिन्छ । यो पर्व स्नान, दान, पूजार्चना, मनोरञ्जनका साथै मिष्ठान भोजन गर्दै मनाउने प्रचलन छ ।
यसै गरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारु, मगरलगायत आदिवासी जनजाति एवं आम नेपालीले मनाउने चाड माघे सङ्क्रान्तिको अवसरमा शुभकामना दिनुुहुँदै यस्ता पर्वले सम्पूर्ण नेपालीहरुका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
“नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधता भित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो । बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् ।” अध्यक्ष दाहालद्वारा आज जारी सन्देशमा भनिएको छ ।
उहाँले यस पर्वले समस्त समुदायमा बन्धुत्व, प्रेम र एकताको भावना बढाइ शान्त, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गर्नुभएको छ ।