अर्थ

एकैदिन १० करोडको तरुल खपत : अधिकांश उत्पादन नेपालकै

माघे संक्रान्तिका दिन सबैभन्दा बढी खपत हुने तरुलको काठमाडौंमा मात्र १० करोड बराबरको कारोबार ह्न्छ । काठमाडौंमा एक दिनका लागि खपत हुने तरुल अधिकांश नेपालकै उत्पादनले धान्ने गरेको व्यवसायीहरुले बताएका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले १० करोडको तरुलको कारोबार हुने गरेको जनाएको छ । नेपालमा माग हुनेमध्ये धेरै तरुल नेपालमै उत्पादन हुने गरेको छ भने केही भारतबाट आयात हुने गरेको छ । काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै सर्लाहीबाट तरुल भित्रिएको छ भने नवलपरासी, धादिङ, नुवाकोट, काभ्रे लगायतका जिल्लाबाट पनि तरुल आयात भएको छ ।

काठमाडौँमा तरुलको कारोबार बढे पनि पिँडालु र सख्खरखण्डको कारोबार भने खासै घटबढ भएको छैन । समितिका पुस महिनाभरमा कालीमाटीमा १७२ टन पिँडालु र २४२ टन सख्खरखण्ड भित्रिएको छ ।

काठमाडौँका बजारमा सिमल तरुल, हात्तीपाइले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुल भित्रिएको छ । देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल किनबेच गर्नेको भीड लागेको छ । माघेसङ्क्रान्तिकै अवसर पारेर अत्यधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यावसायिक खेती पनि सुरु भइसकेको छ ।

त्यसो त तरुलको मूल्य हरेक वर्ष बढ्दै गएको छ । यो वर्ष माघेसङ्क्रान्तिका लागि काठमाडौँ उपत्यकामा भित्रिएको तरुल गत वर्षको तुलनामा ३१ प्रतिशतसम्म महँगिएको छ । उपत्यकाको बजारमा मागभन्दा कम तरुल भित्रिएपछि भाउ महँगिएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार बजार व्यवस्थापन समितिका अनुसार गत वर्षको सङ्क्रान्तिमा प्रतिकेजी ४२ देखि १०० रुपियाँ थोकमा कारोबार भएको तरुल यस वर्ष बढेर ५५ देखि १५० रुपियाँ पुगेको छ ।

समितिका वरिष्ठ योजना अधिकृत विनय श्रेष्ठले यो वर्ष तरुलको आयात बढेसँगै माग पनि बढेकाले बजारमा यसको मूल्य पनि बढेको जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष माघेसङ्क्रान्तिका लागि एक हजार टन तरुल भित्रिएकोमा यसपटक भने झन्डै एक हजार ५०० टनको हारहारीमा तरुल भित्रिएको छ । सामान्य तरुल ५५ रुपियाँ, वन तरुल १२० रुपियाँ हात्तीपाइले तरुल १२० रुपियाँ र सिमल तरुल प्रतिकेजी १५० रुपियाँ थोकमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.