जन सरोकार

महाकालीको पानीमा भारतको एकलौटी हैकम, पानीको अभावमा नेपाली गाउँ छाड्दै

‘‘खेतमा बोयका गहुँका बोट सुक्न लागे, पानी पड्डैन, भोकमरी हुने भयो”– (वर्षा नहुँदा खेतको गहुँबाली सुकेर भोकमरी हुने देखियो) भीमदत्त नगरपालिका–९ चुरे पहाडको फेदीमा रहेको टँुडिखेल गाउँका कालुराम दमाईँले डोटेली भाषामा गुनासो सुनाउनुभयो । महाकाली नदी किनारको यस गाउँमा सतह सिंचाइको सुविधा नहुँदा आकाशे पानीका भरमा खेती गरेर जीवीकोपार्जन गर्नुपर्ने बाध्यता छ ।

महत्वपूर्ण कुरा के छ भने सीमा नदी महाकालीको पानीमा नेपाली पक्षको समेत हक लाग्ने भए पनि भारतीय पक्षले एकलौटी रुपमा प्रयोग गर्दै आएको छ । नदीमा माछा मार्न र खानेपानी ल्याउने कार्यमा समेत भारतीयले अवरोध गर्दै आएको छ ।

भारतीयले महाकालीको पारिपट्टि एकलौटी रुपमा तटबन्ध निर्माण गरी उजेलीकोटलगायत गाउँमा हुने भूक्षय रोकेका छन् । नेपालतर्फको भूमिमा भने तटबन्ध निर्माण नगरिँदा खेतीयोग्य जग्गा बग्ने गरेको छ । सो नदीमा बेलाबखत आउने बाढीले हुने कटानका कारण धेरै स्थानीय परिवारलाई विस्थापितसमेत हुनुपर्ने बाध्यता छ ।

यस्तो बाध्यताकाबीच वर्षा नहुँदा खेतमा लगाइएको गहुँ बाली सिंचाइका अभावमा सुक्न लागेकामा स्थानीयवासी चिन्तित छन् । कपडा सिउने परम्परागत पेशाबाट थोरै मात्र कमाइ हुँदा उहाँको परिवारलाई अन्नको जोहो गर्न कठिन छ । ‘‘खेतमा उत्पादन भएको गहुँले तीन महिना खान पुग्थ्यो”, उहाँले भन्नुभयो, “यस वर्ष पानी नपर्दा गहुँ सिंचाइ हुन नसकेर उत्पादन हुने छाँट छैन ।”

गाउँका दलित परिवारले महाकाली पारिको भारतीय बजार टनकपुरबाट ल्याउने कपडाबाट पोशाक सिलाई गाउँघरमा बिक्री गर्दै आएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण भारत जान बन्देज लगाइएपछि सिलाइको पेशासमेत सङ्कटमा पर्दा जीविका चलाउन थप समस्या सिर्जना भएको छ ।

दमाईँ जस्तै सो गाउँमा बसोबास गर्ने झण्डै २०० परिवारले खेतमा सिंचाइको अभाव झेलिरहेका छन् । कोभिड –१९ को जोखिमका कारण गाउँबाटै नजर पुग्ने भारतीय बजार टनकपुरसम्म जान नपाउँदा देखिएको बेरोजगारी समस्याले जीविका चलाउन थप समस्या भएको छ । “पानी परेको वर्ष खेतमा लगाइएको अन्नले तीन महिनादेखि छ महिनासम्म खान पुग्छ” स्थानीयवासी जसिराम कामीले भन्नुभयो, “पानी नपरेको वर्ष हातमुख जोर्नकै लागि निकटवर्ती टनकपुर बजारमा गएर मजदूरी गर्नुपरेकामा कोरोनाले गर्दा रोजगारीको बाटो पनि बन्द भयो ।”

टँुडिखेल नजीकै भएर बग्ने महाकाली नदी पारि भारतको उजेलीकोट पर्छ । त्यहाँ सतह सिंचाइका लागि कुलो बनाइएको छ । महाकाली वारिको नेपाली गाउँ टुँडिखेलमा भने यस्तो सिंचाइको कुनै प्रबन्ध हुन सकेको छैन ।

सिंचाइको सुविधा नभएपछि टुँडिखेल, मच्छेट्टी र खल्ला गाउँका बासिन्दा घरजग्गा छाडेर पलायन हुने क्रमसमेत बढ्दो छ । टुँडिखेलमा मात्रै दुई वर्षका अवधिमै १३ परिवारले घरजग्गा छाडेर परिवार पाल्न रोजगारीका खोजीमा भारतीय बजार जान बाध्य भएको जनाइएको छ ।

अझै धेरै परिवार गाउँ छाड्ने मनस्थितिमा पुगेका छन् । नजीकै भएर बग्ने खैरनी खोलाले दुई दर्जन परिवारलाई विस्थापनमा समेत पारेको छ । भरपर्दो तटबन्धको व्यवस्थाको पहल गरिदिन माग गर्दै आए पनि सुनवाइ हुन नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।

छैन खानेपानी

खानेपानीका लागि समेत टुँडिखेलका बासिन्दाले निकै सास्ती खेप्दै आएका छन् । यहाँका बासिन्दाले स्वच्छ खानेपानीको व्यवस्था नहुँदा महाकालीको बगिरहेको पानी पिउनका लागि प्रयोग गर्नुपर्ने विवशतामा छन् ।

अरु बेला महाकालीको पानी पिउन सहज हुने भए पनि वर्षात्का बेला धमिलो पानी थेग्रिन दिएर मात्रै पिउनयोग्य बनाउने गरिएको छ । वर्षात्का समयमा फुट्ने मूलको पानी केही परिवारले पिउनका लागि प्रयोगमा ल्याए पनि धेरै परिवारले महाकालीको बगिरहेको पानी नै उपभोग गरिरहेका छन् । “महाकाली नदीको धमिलो पानी पिउनु रहर नभएर बाध्यता हो”, स्थानीयवासी डम्बर टमटाले भन्नुभयो, “गाउँमा खानेपानीको व्यवस्था नहुँदा वर्षौँदेखि नदीकै पानी पिउँदै आएका छौंँ ।”

उक्त क्षेत्रमा देखिएको खानेपानी समस्या समाधानका लागि योजना सञ्चालनको पहल भइरहेको वडाध्यक्ष राम नाथ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आगामी एक वर्षभित्रै खानेपानी पु¥याउने लक्ष्य छ ।”

सडकको अवस्था उस्तै

भीमदत्त नगरपालिकाले चुरे फेदीका खल्ला, मच्छेट्टी र टुँडिखेलसम्म पुग्ने गरी सडक निर्माण भइरहे पनि काम निकै सुस्त गतिमा छ । सडक निर्माण पूरा नहुँदा स्थानीय बासिन्दा आवागमनमा निकै सास्ती खेप्दै आएका छन् । अप्ठोरो बाटो छिचोल्दै यातायातका साधन खल्ला र टँुडिखेलसम्म पुग्ने गरेका छन् । गाउँमा एक प्राथमिक विद्यालय सञ्चालनमा छ ।

माध्यमिक तहको शिक्षा लिन गाउँका युवा य १० किलोमिटरका दूरीमा रहेको ब्रह्मदेव बजारको माध्यमिक विद्यालयसम्म पैदल हिँडेर पुग्ने गरेका छन् । वर्षात्का बेला खहरे खोला र चुरे पहाडबाट आउने पहिराका कारण सडक अवरुद्ध हुने गरेको छ । यातायातका साधन चल्दैनन् । बिरामी परेका व्यक्तिलाई पिँठ्युमा बोकेर टाढाको महेन्द्रनगरस्थित महाकाली अस्पताल पु¥याउनुपर्ने बाध्यता छ ।

वर्षात्मा सडक अवरुद्ध हुँदा डोकामा बिरामी राखी पिँठ्युमा बोकेर लैजानुपर्ने अवस्था रहेको स्थानीय बासिन्दाको गुनासो छ ।

गाउँमा नगरपालिकाले सञ्चालनमा ल्याएको स्वास्थ्य क्लिनिकमा प्राथमिक उपचारको व्यवस्था मात्रै छ । गाउँमै चिकित्सकसहितको स्वास्थ्य सेवा सञ्चालन गरिदिनका लागि लामो समयदेखि माग गरिए पनि सुनुवाइ नभएको स्थानीय बासिन्दाको भनाइ छ ।

टुकीको उज्यालाका भरमा बस्न बाध्य यहाँका बासिन्दा केही दिनअघि मात्रै गाउँमा विद्युत् सेवा सञ्चालन हुँदा भने खुशी देखिएका छन् । सञ्चार सुविधा नहुँदा स्थानीय बासिन्दाले भारतीय मोबाइल फोनको भर पर्नुपरेको छ ।

नेपाल टेलिकमले टुँडिखेलमा टावर राखे पनि सञ्चालन भने गरिएको छैन । सौर्य ऊर्जाबाट चल्ने गरी टावर सञ्चालन गरिनुपर्ने स्थानीयवासी वीरबहादुर विकले बताउनुभयो । “केही महिनाअघि मात्र सञ्चालनमा आएको विद्युत् सेवासमेत पटकपटक अनियमित हुने गरेको छ”, उहाँले भन्नुभयो, “सौर्य ऊर्जाको व्यवस्था गरी बाहै्र महिना सञ्चार सेवा सञ्चालन गर्न माग गरिरहेका छौंँ ।”

– राजेन्द्रप्रसाद पनेरु (रासस)

सम्बन्धित खबर

Back to top button