जन सरोकार

लिच्छवीकालीन कमलपोखरीमा ‘सिमेन्ट र कङ्क्रिटको कमल’ !

काठमाडौं उपत्यकामा रहेका लिच्छविकालीन नौ पोखरीमध्येको एक पोखरी कमलपोखरीको पुनःनिर्माण चलिरहेको छ तर त्यो पुनःनिर्माण ऐतिहासिकता कायम गर्ने गरी नभै आधुनिक रुपमा हुन थालेपछि सम्पदाप्रेमी एवं स्थानीयवासीले बिरोध जनाएका छन् ।

काठमाडौँ महानगरपालिका–१ मा रहेको ऐतिहासिक ‘पोखरी’ भर कमलको फूल फुल्ने भएकाले त्यसको नाम नै “कमलपोखरी” राखियो । तर सो पोखरीको पोखरी निर्माणका क्रममा प्राकृकि कमल हैन सिमेन्ट र कङ्क्रिटको कमल बनाउन लागिएको छ ।

सुरुमा रानीपोखरीमा पनि यस्तै गरिएको थियो । व्यापक बिरोध भएपछि रानीपोखरीले पुरानै स्वरुप पायो । अहिले कमलपोखरीलाई पनि विप पार्न खोजिएको भन्दै सम्पदा बचाउ अभियानले बिरोध जनाएको छ ।

महानगरपालिकाका प्रमुख इञ्जिनीयर सरोज बस्नेतले निर्माण गर्नुअघि प्रस्तुत गरेको योजनाभन्दा उल्टो गरी कमलपोखरी बनाउन लागिएकामा अभियानले आज स्थलगतरूपमै बिरोध जनाएको छ । अभियानका युवाले सिमेन्ट र कङ्क्रिटको कमल जताततै फुलाउन सकिने भएकाले कमलपोखरी प्राकृतिकरूपमै विभिन्न प्रजातिका कमल फुलाउनुपर्नेमा जोड दिएको हो ।

कमलपोखरी निर्माणका लागि दशैँअघि नै पानी सुकाएकामा अझै काम अघि बढ्न सकेको छैन । लामो समयदेखि पानी निकाल्दा पोखरीमा चिरा–चिरा परेको छ । लामो समयसम्म पानी नहाल्ने हो भने पोखरीको अस्तित्व नै सङ्कटमा पर्ने भएकाले बिरोधमा उत्रनुपरेको अभियानकर्मी सुसन वैद्यले बताउनुभयो । अभियानकर्मीले पोखरीको माटो अनुहारमा दलेर सम्पदा जोगाउने ‘प्ले कार्ड’सहित प्रदर्शन गरेका थिए ।

पोखरी निर्माणका लागि विसं २०७६ असार १९ गते शिलान्यास गरिएको थियो । शिलान्यास असार १९ गते गरिए पनि कार्यादेश भने असार ६ गते नै दिइएको थियो । विसं २०७७ असार १५ गते नै काम सम्पन्न गर्नुपर्ने सम्झौता भएकामा कमलपोखरी निर्माण अझै अलपत्र छ । महानगरपालिकाका प्रमुख इञ्जिनीयर बस्नेत ढुङ्गाको अभाव भएर काममा ढिलाइ भएको जिकिर गर्नुहुन्छ ।

कमलपोखरीका सम्बन्धमा अर्को भनाइ पनि स्थानीयवासीमाझ प्रचलनमा छ । यहाँका लालदरबार र सीता दरबार निर्माणका क्रममा कमलपोखरीको माटो निकालिएको थियो । माटो निकालेपछि वर्षाद्मा परेको पानी जम्मा भएर पोखरी बन्यो । पोखरीमा एक वृद्धले टौदहबाट कमलको फूल ल्याएर रोपे । अर्को वर्ष कमलले पोखरी ढाकिएकाले पोखरीको नाम कमलपोखरीमा परिणत भएको भन्ने भनाइ यहाँ सुन्न पाइन्छ । यसलाई नै आधार मान्ने हो भने पोखरीको इतिहास १०० वर्षभन्दा पुरानो हुने भएकाले यसको संरक्षण गरिनुपर्ने स्थानीयवासीको माग छ ।

एक वर्षअघिसम्म प्राकृतिकरूपमा रहेको कमलपोखरीको वरिपरि सिमेन्टको पेटी लगाएर घाट बनाइ पोखरीको आकारसमेत घटाइएको स्थानीयवासी रोशन श्रेष्ठको गुनासो छ । निर्माण गर्दा पुरातात्विक तरिकाले प्राचीन निर्माण सामग्री नै प्रयोग गरेर गर्नुपर्नेमा त्यसो हुन नसकेको सम्पदा बचाउ अभियानका वैद्य बताउनुहुन्छ ।

“कमलपोखरीमा सबै प्रजातिका कमल फुलाउने योजना हुनुपथ्र्यो, सिमेन्ट र कङ्क्रिटको कमल राखेर यसको महत्व कम गर्न खोजिएको छ, कङ्क्रिटको कमल जताततै फुलाउन सकिन्छ, यसैले यो निकृष्ट डिजाइन हो, यसको बिरोधमा हामी लागेका छौँ”, उहाँले भन्नुभयो । कमलपोखरी सिमसार क्षेत्र भएकैले वर्षामा जमेको पानी वर्षभर बसेर प्राकृतिक सौन्दर्य कायम गरेकामा यसको महत्व योजनाकर्ताले बुझ्न नसकेको अभियानकर्मी दिवस ढुङ्गेल बताउनुहुन्छ । निर्माण व्यवसायीले चाइनिज इँटा ल्याएर दचि इँटा भनेकामा पनि उहाँको आपत्ति छ । यसको गुणस्तर परीक्षण गर्न स्थानीयवासी र सम्पदा बचाउ अभियानले माग गरेको छ ।

कमलपोखरी निर्माणका लागि २०७६ फागुनमै महानगरीय प्रहरी वृत्त कमलपोखरी मालीगाउँमा सरेको हो । वृत्त सरेको एक वर्ष हुन लाग्दा पनि काम भने अझै अलपत्र छ । प्रहरीको भवनमा अझै ट्राफिक प्रहरी प्रभाग भने बसिरहेको छ । विसं २०२१ को नापीअनुसार कमलपोखरीको जग्गा ४० रोपनी रहेकामा हाल ३२ रोपनी मात्र छ । मत्स्य विकास केन्द्रका नाममा पूर्जा रहेको यहाँको जग्गाको संरक्षणसमेत सरोकार भएका निकायले नगरेको गुनासो स्थानीयवासीको छ ।

कमलपोखरीमा कार्तिक शुक्ल षष्ठीका दिन छठ मेला लाग्ने गर्छ । यसबेला हजारौँ छठ वर्तालुको भीड लाग्ने गर्छ, तर पनि कमलपोखरीमा पार्किङको व्यवस्था नभएकाले भूमिगत पार्किङ बनाउन कमलपोखरी संरक्षण समाजले माग गर्दै आएको महासचिव राजेन्द्र सिंह बताउनुहुन्छ । नजिकैको अग्रवाल भवनमा कुनै कार्यक्रम हुँदासमेत सडकमै सवारी पार्किङ हुने गरेको छ । यो समस्या कमलपोखरी निर्माणकै क्रममा समाधान गर्न समाजले माग गर्दै आएको छ ।

यस क्षेत्रमा आगलागी हुँदा निभाउन दमकल बोलाएर पानी हालिसकेपछि थप स्रोत नहुँदा समस्या पर्ने गरेको छ । “गत महिना सिटी सेन्टरमा आगलागी भएपछि दमकल बोलाइएकामा पानी हालेर फेरि पानी लिन जाँदा आगो बढ्यो, पानीको स्रोतमा पुगेर पानी हालेर आउँदा क्षति बढी भएकाले यहीँ आगलागीजस्ता प्रकोप व्यवस्थापन गर्न पानीको व्यवस्था गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

काठमाडौं उपत्यकामा रहेका लिच्छवीकालीन नौ पोखरीमध्ये गहनापोखरी, बच्चापोखरी, नागपोखरी, हिटीपोखरी, हाँडीगाउँपोखरीरहेको जानकारहरु बताउँछन् ।

२०७४ सालको छठमा अव्यवस्थित कमलपोखरी देखेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आकर्षक बनाउन निर्देशन दिनुभए अनुसार काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले ‘ड्रिम प्रोजेक्ट’का रूपमा अघि बढाउन नौ करोड ४६ लाख ९९ हजार ५०२ को लागत स्टमेट तयार भयो । निर्माण कम्पनी जय धनञ्जय÷कँडेल जेभीले रु छ करोड ३६ लाख ५९ हजार ६०४ मा ठेक्का प्राप्त गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.