बिचार

सिनेमा हलमा हराएको नेपाली राष्ट्रियतावाद

यादब देवकोटा

भारतबाट सानो कुरा भयो भने, कुनै गतिविधि भयो भने, कसैले नेपालमाथि केही टिप्पणी गर्यो भने त्यसको गहिराईमै नपुगी अन्धाधुन्द टिप्पणी गर्ने गर्दछौं । त्यो विषयमा सरकार चुप लाग्यो भने गाली गर्ने, दलका नेताहरुलाई भारतपरस्त भन्ने मात्रै हैन भारतीय दलाल नै भन्न पछिनपर्ने हामी नेपालीहरुको बानी छ ।  देशको स्वाभिमान, स्वतन्त्रता, सम्मान अनि गौरबका दृष्टिले यो ठीकै हो, तर त्यो स्वाभिमान सामाजिक सञ्जाल, पत्रपत्रिका, अनलाइनमा मात्र खोज्ने कि व्यवहारमै खोज्ने भन्ने प्रश्न माघ १ गतेबाट पुनः जन्म भएको छ ।

भारतीय टेलिभिजन च्यानल जी न्यूजका पत्रकार सुधीर चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तरवार्ता लिएपछि सगरमाथा (एभरेष्ट)को फेदीमा गएर एउटा रिपोर्टिङ गरे– एभरेष्टको नामका विषयमा । यूटुबमा एभरेष्टमाथि भारतको दावी’ शीर्षक दिएर राखिएको भिडियो हेर्नेहरुबाट तत्काल प्रतिक्रिया आयो । वास्तवमा चौधरीले सगरमाथा हैन एभरेष्टको नामका विषयमा बोलेका थिए । भारतीय सर्भेयरले पहिलोपटक सगरमाथाको उचाई नापेको हुनाले अंगेजीमा त्यसको नाम राख्दा ‘एभरेष्ट’ हैन गणितज्ञ राधानाथ सिकदरको नाममा हुनुपर्ने दावी गरे । उनको दावी सगरमाथा हिमालमाथि नभएर ‘एभरेष्ट’ नामप्रति थियो ।

यो विषयले नेपालीको राष्ट्रियता उम्लियो, पोखियो अत्यधिक मात्रामा । तर, भारतीय चलचित्रमा भने त्यो राष्ट्रियता टुकुचामा बग्यो । ९ महिनापछि नेपाली सिनेमा हलहरु खुले अनि हलहरुमा नयाँ नेपाली चलचित्र प्रदर्शनमा आयो । चार दशकदेखि नेपाली चलचित्रमा सक्रिय अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अभिनेता शिव श्रेष्ठको प्रस्तुति रहेको “एउटा यस्तो प्रेम कहानी” माघ १ गतेदेखि सार्वजनिक प्रदर्शन हुँदा राष्ट्रियताका पक्षमा आगो ओकल्नेहरु भने भारतीय चलचित्रलाई पैसा बुझाउन पुगे । नेपाली राष्ट्रियतामाथिको प्रश्न यही हो ।

कोरोनाका कारण थिलथिलो भएको चलचित्र क्षेत्रलाई गति दिने उद्देश्यका साथ अभिनेता श्रेष्ठले आम जनतालाई ‘मनोरञ्चन खोप’ दिन र चलचित्र क्षेत्रलाई चलायमान बनाउने आफ्नो उद्देश्य रहेको, अहिलेको समयमा पैसा महत्वपूर्ण हैन, पैसा फेरि पनि कमाउन सकिन्छ र राष्ट्रलाई केही दिने अवसर फेरि आउँदैन भन्दै जोखिम लिएको बताए र दर्शकप्रति अपार भरोसा पनि जनाए ।

नेपाली चलचित्रले नै आफूलाई यहाँसम्म ल्याएको हुँदा आफ्नो पनि जिम्मेवारी हुने तर्कसहित जोखिम मोलेर नयाँ चलचित्र प्रदर्शन गरियो तर, राष्ट्रवादमा आँखा चिम्लेर सडकमा आउने, विध्वंशै गर्न पछि नपर्नेहरु भने व्यवहारमा राष्ट्रवाद प्रदर्शन गर्नुपर्ने समयमा नराम्ररी चुके ।

“एउटा यस्तो प्रेम कहानी” प्रदर्शनको दिनमै दक्षिण भारतीय चलचित्र “मास्टर” ल्याएर प्रदर्शन थाले नेपाली वितरकहरुले ? एकातिर भारतले सगरमाथामा दावी गर्यो भन्दै बिरोध गर्ने हामीहरु त्यही भारतीय चलचित्र हेरेर भारततिर पैसा पठाइरहँदा नेपाली चलचित्र प्रदर्शन भएको हल भने खली राख्न पुग्यौं ।

नेपाली राष्ट्रियता सामाजिक सञ्जालमा बहसको विषय मात्र हैन, व्यवहारमा हरेक कोणबाट त्यसलाई सम्मान गर्न सक्नुपर्दछ । चिया पसल वा भट्टीमा बसेर देश विग्रेकोमा गुनासो गर्ने हामीहरुले आफ्नो जिम्मेवारी कति निभायौं भनेर स्वमूल्यांकन पनि गर्नुपर्दछ । भारतीय चलचित्र हेर्ने, भारतीय टेलिभिजन सिरियलहरु हेरेर नेपाली चलचित्रहरु स्तरीय छैनन् भन्दै सस्तो टिप्पणी गर्ने अनि भारतबिरुद्ध राष्ट्रवाद खोज्दै भारतलाई नै पोस्ने काम कति राष्ट्रियतावाद होला ।

यो विचार चचलचित्रको विज्ञापन हैन, परिस्थितिको उपज हो । राष्ट्रवादको उग्र नारा लागिरहेका बेला हामीले सिनेमा हलमा नेपाली चलचित्र दुत्कारेर भारतीय चलचित्र हेर्न र नेपाली चलचित्रलाई पछिपारेर भारतीय चलचित्रलाई उच्च प्राथमिकता प्रदर्शन गर्छौं भने, दर्शन गर्छौं भने हाम्रो राष्ट्रवाद कुन स्तरको होला भन्ने प्रश्न मात्र हो ।

हो, मनोरञ्जन लादेर प्राप्त हुँदैन र कस्तो चलचित्र हेर्ने–नहेर्ने हरेकको आआफ्नो रोजाई हो । तर संकटको बेलामा मुलुकको सिर्जनालाई साथ दिने कि नदिने भन्ने प्रश्न भने अवश्य उठाउन सकिन्छ र ‘माउण्ट एभरेष्ट’को नाम ‘माउण्ट सिकदर’ राख्नुपर्छ भन्ने भारतीय पत्रकारको तर्कमाथि खनिनेहरुले त्यही दिनबाट भारतीय चलचित्रलाई उच्च प्रथमिकता दिएको विषय भने पच्न सकेन ।

राष्ट्रियता भावनामा हुन्छ, व्यवहारमा हुन्छ, टोपी लगाउँदैमा, दौरा सुरुवाल लगाउँदैमा राष्ट्रवादी बनिंदैन व्यवहारमा देखिनुपर्छ राष्ट्रको माया । अहिले यस्तै देखियो । आफ्नो चलचित्र उद्योगलाई चलायमान गराउन उच्च प्राथमिकता दिनुको साटो सामाजिक सञ्जालमा भारतको बिरोध गरेर त्यही भारतीय चलचित्र हेरेर भारततिरै आफ्नो पूँजी पठाउने काम हामीबाट हुन्छ भने हाम्रो राष्ट्रवाद कस्तो ?

अर्को जोड्नैपर्ने विषय– सगरमाथाको उचाई जसले नापेको थियो अब त्यो उचाई पुरानो भसक्यो । नेपालले आफ्नै स्रोत–साधन र प्रविधिबाट सगरमाथाको नयाँ उचाई कायम गरेको छ । अब अरुले नापिदिएको उचाईमा भरपर्नु आवश्यक छैन ।

विदेशीले नापेको सगरमाथाको उचाई ८८४८ मिटर थियो भने अहिले उचाई बढेर ८८४८.८६ मिटर कायम भएको छ । यसलाई अन्तर्राष्ट्रियकरण गर्नु मात्र आवश्यक छ । योसंगै सम्भवतः सगरमाथाको नाम अंगेजीमा पनि ‘सगरमाथा’ नै लेख्ने अभियान चलाउनु पर्दछ । हाम्रो राष्ट्रवाद अब त्यतातिर मोडिने हो कि ? “बुद्ध नेपालमा जन्मेका हुन्” को अभियान जस्तै “सगरमाथा एभरेष्ट हैन– ‘सगरमाथा’ नै हो भन्ने अभियान चलाउने हो कि ?

अन्त्यमा- चलचित्रकै विषयमा नेपाली मिडियाहरुको प्राथमिकता पनि उदेकलाग्दो पाइयो । “मास्टर हेर्न दर्शकले टिकट पाएनन्- एउटा यस्तो प्रेम कहानीले दर्शक पाएन” भनेर रिपोर्ट गर्छन् । मास्टरको पाइरेसी भयो भन्ने समाचारले प्राथमिकता पायो तर एउटा यस्तो प्रेम कहानीका विषयमा यस्तो विवाद यस्तो विवाद, चलचित्र नै अपुरो जस्ता समाचार दिन्छन् ।

यही हो हाम्रो राष्ट्रियता । एउटा कलाकारले जीवनभरको कमाई दाउमा राखेर जोखिम मोलेर संकटका बेला चलचित्र क्षेत्रलाई चलायमान बनाउन लिएको अग्रसरतालाई प्राथमिकता दिएर दर्शकलाई हलसम्म जाने बाटो बनाउने कि विदेशी चलचित्रको गुणगान गएर स्वदेशी चलचित्रको कमजोरी (सत्य हो वा होइन) केलाउने ? सबैतिरबाट कमजोर भएको राष्ट्रियता फेसबुकका भित्तामा पोखेर बलियो हुँदैन । व्यवहारतः तयो प्रकट हुनुपर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.