जापान

जापानमा एकपछि अर्को विमान काण्ड : यात्रुले टोकिदिए चालक दलका सदस्यको पाखुरा

जापानमा दुई हप्ताभन्दा कम समयमा विमानसंग सम्बन्धित पाँच घटना घटेका छन् । यसमा जापान एयरको विमान आगलागी सबभन्दा डरलाग्दो रहेको छ । त्यसयता अरु चार घटना घटेका छन् ।

गत जनवरी २ मा हानेदामा जापान एयरलाइन्सको विमान र सामुद्रिक सुरक्षार्थ खटिएको सुरक्षागार्डको सानो विमान ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा जेएएल एयरबसमा सवार सबै ३७९ जना विमानमा आगो लाग्नुअघि नै सकुशल झर्न सफल भएका थिए भने मध्य जापानमा गएको ठूलो भूकम्पपछि राहत कार्यमा सहयोग गरिरहेको सानो विमानमा सवार छ जनामध्ये पाँच जनाको मृत्यु भएको थियो ।

मङ्गलबार कोरियन एयरको विमानको पखेटा उत्तरी टापु होक्काइदोको विमानस्थलमा गुडिरहेको समयमा क्याथे प्यासिफिकको पार्किङ गरिराखेको विमानसँग ठोक्किएको थियो । कोरियन एयरका अनुसार भारी हिमपातका कारण ‘थर्ड पार्टी ग्राउन्ड ह्यान्डलर’ चिप्लिएपछि विमान दुर्घटना भएको हो ।

गत आइतबार सिकागो विमानस्थलमा डेल्टा एयर लाइन्सको विमानसँग एएनएको विमान ‘ठक्कर खाँदा’ पनि यस्तै दुर्घटना भएको जापानी एयरलाइन्सले एएफपीलाई जानकारी दिएको छ ।

बोइङ ७३७–८०० विमानको ककपिटको झ्यालमा समस्या देखिएपछि एएनएको अर्को विमान शनिबार नै आकस्मिक अवतरण गर्नुपरेको थियो ।

पछिल्लो समय बुधबार अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एअरवेज (एएनए)को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फकाइएको जापानी वायुसेवा कम्पनीले जनाएको छ ।

एएनएका प्रवक्ताले एएफपीलाई बताएअनुसार ५५ वर्षीय एक अमेरिकी नागरिकले मादक पदार्थ सेवन गरेर चालक दलका सदस्यको पाखुरामा टोकेका थिए ।

एएनएका अनुसार उक्त घटनाका कारण १५९ यात्रुसहित आकाशमा उडिरहेको विमानलाई चालकले प्यासिफिकको हनेदा विमानस्थलमा फर्काएका थिए ।

जापानी प्रसारक टीबीएसबाट प्रशारित समाचारमा ती यात्रुले अनुसन्धानकर्तासँग आफ्नो व्यवहारबारे आफुलाई ‘पटक्कै केही याद नभएको’ बताइएको छ ।

यस घटनालाई ‘जोम्बी चलचित्रको सुरुवात’ सँग तुलना गर्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनाबारे पोष्टहरू सार्वजनिक गरेका छन् भने केहीले यस वर्ष अहिलेसम्म भएका जापानी हवाई घटनाको बारेमा दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.