कोरोना भाइरस संक्रमण- २०२१ झन कठिन हुने, विभिन्न देशमा फरक फरक प्रजाति

सन् २०२० मा देखापरेको कोरोना भाइरस संक्रमणको महामारी २०२१ को सुरुवातबाट खोपको विकाससंगै मत्थर हुने अपेक्षामा तुषारापात भएको छ । खोप वितरणसंगै कोरोनाको नयाँ प्रजातिको जन्म बेलायतबाट भयो भने अफ्रिका, जापान लगायत केही युरोपेली मुलुककहरुमा आइपुग्दा बेलायतकोभन्दा फरक प्रजातिको कोरोना देखियो ।
कोरोना संक्रमणको नयाँ लहर र नयाँ प्रजातिको भाइरसले गर्दा सन् २०२० भन्दा २०२१ झन् कठिन हुने चेतावनी विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले दिएको छ ।
कोरोनाभाइरसको उक्त नयाँ प्रकार पहिलोभन्दा धेरै सङ्क्रामक रहेको विवरणका बीच डब्ल्यूएचओले त्यस्तो चेतावनी दिएको हो । उच्च सङ्क्रामक क्षमताको ब्रिटेनमा देखा परेको भाइरस ५० वटा देश र क्षेत्रहरूमा फैलिसकेको छ र ब्रिटेनमा दैनिक मृत्यु कीर्तिमानी रूपमा बढाउन त्यसले सहयोग गरेको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा देखा परेको भाइरसको प्रकार अन्य २० वटा देशहरूमा फैलिसकेको छ ।सुरुमा ब्रिटेनमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरसभन्दा छिटो विस्तार हुन सक्ने क्षमता रहेकाले चिन्ता देखा परेको छ ।
उता जापानमा अधिकारीहरूले पत्ता लगाएको अर्को नयाँ प्रकारको भाइरसले नयाँ चिन्ता थपिदिएको छ । उनीहरूले चारजनामा त्यस्तो किसिमको भाइरसको सङ्क्रमण भएको पहिचान गरेका छन् । ती मानिसहरू ब्रजिलमा सङ्क्रमित भएको ठानिएको छ भने स्पेनमा पनि भाइरसको नयाँ प्रकार देखिएको बताइएको छ ।
नयाँ प्रकारको भाइरसप्रति धेरै चासो बढ्नुमा तीनवटा कारण ठानिएको छ । पहिलो यसले अरू प्रकारका कोरोनाभाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ भने दोस्रोमा यसमा देखिएको उत्परिवर्तनले भाइरसको महत्त्वपूर्ण मानिएका भागमा परिवर्तन गरेको छ । त्यस्तै प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको छ ।
त्यसो त विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने ठानिएको छ ।
प्रतिक्रिया राख्नुहोस्