राजनीति

वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सहमति, मिति तोक्ने बाँकी

राजनीतिक वृत्तमा उत्पन्न आशंका चिर्दै सत्ता गठबन्धनका नेताहरुले स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमति गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाउँदै यस विषयमा थप गृहकार्य अर्को बैठक बस्ने नेताहरूले बताएका छन् ।

छलफलपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको सन्चारकर्मीलाई जानकारी दिनुभयो ।

मन्त्री कार्कीले यस विषयमा थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने बताउँदै बिहीबार नै मन्त्रिपरिषद्को नियमित बैठक पनि हुने भएकाले सो बैठकबाट मिति तोकिन सक्ने बताउनुभयो ।

उता मा‌ओवादी नेता देवप्रसाद गुरुङले जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बैठकमा उपस्थित नभएको स्थानीय तहको चुनावको मितिबारे निर्णय नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो संवैधानिक व्यवस्था अनुसार चुनाव गर्ने भन्ने छ तर मितिका बारेमा टुंगो लागेको छैन । माधव नेपाल र उपेन्द्र यादव अनुपस्थित भएकाले सैद्धान्तिक छलफल मात्रै भयो ।

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले ९ पुस, २०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तह निर्वाचनको तयारी थाल्न ध्यानाकर्षण गराएका थिए ।

बैठकमा कोभिड–१९ को सङ्क्रमणको चुनौतीका बाबजुद यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचन कसरी सफल बनाउने भन्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।

राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन माघ १२ गते हुँदैछ भने कानूनमा स्थानीय तहका पदाधिकारीको अवधि सकिनु अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समन्वयमा भएको बैठकमा सत्तारूढ गठबन्धन दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेता सहभागी हुनुहुन्थ्यो ।

सत्तारूढ गठबन्धन दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.