राजनीति

“दलहरुले विद्यालयमा राजनीति नगर्ने बाचा गर्नुपर्छ”

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यालय शिक्षा अति राजनीतिकरणले ध्वस्त भएको भन्दै अब राजनीतिक दलहरुले विद्यालयमा राजनीति नगर्ने प्रतिबद्धता जनाउनुपर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उहाँले सो सुझाव दिनुभएको हो ।

उहाँले अहिले समाजमा राजनीतिक दलमा आबद्ध नभएको मानिस भेटिन मुस्किल रहेको बताउँदै विधेयकको उद्देश्य र कारणमा शिक्षा क्षेत्रलाई कुन ढङ्गबाट अघि बढाउन खोजिएको भन्ने दर्शन र सिद्धान्तबारे प्रष्ट उल्लेख गरिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेको शिक्षा र वातावरणले हामीलाई पक्षीय मानिस बनायो । विद्यार्थी र शिक्षक बनाउन सकेनौँ । विद्यालयमा पनि विद्यार्थीको राजनीतिक दल छ । शिक्षक र प्राध्यापकमा पनि राजनीतिक दल बनाइयो, अब त्यो गर्दैनौँ भनी वाचा गर्न आवश्यक छ ।”

विद्यालय र विश्वविद्यालयमा अत्यधिक राजनीतिकरण भएका कारण विद्यालयको पढाइ र विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्केको बताउँदै डा कोइरालाले सङ्घीय सरकारले ऐन बनाउने अधिकार नै नराख्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “सङ्घीय सरकारले मापदण्ड मात्रै बनाउने कि ऐन नै बनाउने हो, त्यसबारे सोचौँ । संविधानको अनुसूचीमा मापदण्ड मात्र बनाउने अधिकार दिएको छ । अहिले हामी ऐन बनाउन दौडिरहेका छौँ । ऐन नै बनाउने हो भने प्रस्तावनामा केही दर्शनका कुरा राख्नुपर्छ ।” उहाँले कुन दर्शनबाट प्रेरित भएर काम गर्ने भन्ने ऐन व्यवस्था हुनुपर्नेमा बताउनुभयो ।

“हाम्रा विभिन्न खाले दर्शन छन् । प्रस्तावनाको खण्डमा सिद्धान्तबारे पनि सोच्नुपर्छ । एक सय वर्षपछि उत्पादित विद्यार्थी प्रविधिमा कति खराट, ज्ञानको स्तर कति र कस्तो ? पुर्खाको योगदानले कति निरन्तरता पाँउछन्, सिर्जनशीलता कस्तो हुन्छ भन्ने स्पष्ट मार्गनिर्देश गरेको हुनुपर्छ”, उहाँले भन्नुभयो ।

ऐनमा विद्यार्थीले भोलि समाजलाई कसरी जोड्ला भन्ने विषयस्तुसँगै विद्यार्थीलाई पढाउन र सिकाउनका निम्ति शिक्षक कस्तो हुनुपर्छ भन्ने पाटो आउन जरुरी रहेको डा कोइरालाको भनाइ थियो । मुलुकमा आर्थिक विपन्नता भएकाले शिक्षकलाई अरु सुविधा दिन नसक्ने अवस्थामा बीमालगायतका समाजिक सुरक्षामा जोड्दै लैजान बुद्धिमानी हुने उहाँको सुझाव छ ।

उहाँले विद्यार्थीलाई पनि अनिवार्य बचत गर्ने बानी सिकाउँदै आत्मनिर्भर हुन प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । शिक्षा क्षेत्रमा राज्यले गर्ने लगानी यकिन गरी केन्द्र, प्रदेश र स्थानीय तहले खर्चको प्रतिशत ऐनमै किटान गरिनुपर्नेमा जोड दिनुभयो ।

शिक्षकलाई जिम्मेवार बनाउने हो भने विद्यालयको शिक्षक सबैभन्दा पहिला गुणस्तरीय हुनुपर्छ भन्दै डा कोइरालाले सुविधा दिने सजाय नहुने व्यवस्थामा सुधारको खाँचो औँल्याउनुभयो । उहाँले निजी विद्यालयले पनि आम्दानीको कति प्रतिशत रकम लिन पाउने, कति अनिवार्य खर्च गरिनुपर्ने भन्ने स्पष्ट हुनुपर्ने बताउनुभयो ।

उहाँलाई शिक्षालाई गुणस्तरीय बनाउन शिक्षकलाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभयो । काठमाडौँका विद्यालयमा धेरै हुने तर बाहिर नहुने अवस्था हुन नहुने भन्दै उहाँले कतिपय सिकाइमा शिक्षकभन्दा विद्यार्थी अगाडि रहेको धारणा राख्नुभयो ।

प्रा डा विनय कुसियतले प्रस्तावित शिक्षासम्बन्धी विधेयकममा धेरै कमी कमजोरी रहेकाले पुनःलेखन गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “विधेयकलाई गुणस्तरीय तुल्याउँदै देशको शिक्षा क्षेत्रमा आमूल सुधार ल्याउने हो भने यसको शल्यक्रिया नै गर्नुपर्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.