अर्थ

काठमाडौं उपत्यकामा चरम मूल्यवृद्धि

काठमाडौँ उपत्यकामा चरम मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उपत्यकामा उपभोक्ता मुद्रास्फीतिमा २०७५ को तुलनामा मूल्यवृद्धिको मात्रा बढी देखिएको हो ।

बैंकका अनुसार चालू आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्कमा काठमाडौँ उपत्यकामा ७.६० प्रतिशतको हाराहारीमा मूल्यवृद्धि भएको छ । विसं २०७५ मङ्सिरमा काठमाडौँ उपत्यकाको उपभोक्ता मुद्रास्फीति मात्रै ३.६८ प्रतिशत रहेको थियो ।

यस्तै तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको छ । आव २०७५÷७६ को मङ्सिरमा तराईमा ३.६५ प्रतिशत पहाडमा ३.८४ प्रतिशत र हिमालमा ४.०५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

बैंकका अनुसार गत मङ्सिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७१ प्रतिशत रहेको थियो । गत मङ्सिरमा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ९.७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ । खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरण उपसमूहको मूल्य बढेको बैंकले जनाएको छ ।

थोक मुद्रास्फीतितर्फ गत मङ्सिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.९८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१८ प्रतिशत रहेको थियो । सो अवधिमा प्राथमिक वस्तु समूहअन्तर्गत खाद्य वस्तु तथा उत्पादित वस्तु समूहअन्तर्गत खाद्य, पेय तथा सूर्तीजन्य पदार्थ एवं छाला तथा छालाजन्य पदार्थको थोक मूल्यवृद्धि उच्च रहेको छ ।

४७ अर्बको निर्यात
चालू आवको पाँच महिनामा कूल वस्तु निर्यात २७ प्रतिशतले वृद्धि भई रु ४७ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.७ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ४८.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यात ६.२ प्रतिशत र अन्य मुलुकतर्फ ३.२ प्रतिशतले कमी आएको छ ।

पाम तेल, अलैँची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार तथा रडलगायतका वस्तुको निर्यात घटेको छ । चालू आवको पाँच महिनामा कूल वस्तु आयात ४.२ प्रतिशतले घटेर रु पाँच खर्ब ८१ अर्ब २६ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३४.२ प्रतिशतले बढेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत र २ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात १५.६ प्रतिशतले बढेको छ । भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगञ्ज, विराटनगर, मेची, तातोपानी र कञ्चनपुर बाहेकका नाकाबाट गरिएको निर्यात घटेको छ ।

आयाततर्फ सुक्खा बन्दरगाह, मेची, तातोपानी, कञ्चनपुर र रसुवा बाहेकका भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ । पाँच महिनासम्ममा कूल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले घटी रु पाँच खर्ब ३३ अर्ब ६४ करोड रहेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ३६ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.२ प्रतिशत रहेको थियो ।

७० अर्ब चालू खाता घाटा
यस्तै चालू आवको पाँच महिनामा चालू खाता घाटा रु ७० अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु एक खर्ब १९ अर्ब ३३ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पाँच महिनासम्ममा एक अर्ब चार करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा ६१ करोड ७७ लाख रहेको छ । बैंकका अनुसार कूल विदेशी विनिमय सञ्चिति रु पाँच अर्ब ६५ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु छ अर्ब ५७ करोड रहेको छ ।

यसैगरी समीक्षा अवधिमा शोधनान्तर स्थिति रु २३ अर्ब ३० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु८५ अर्ब ३२ करोडले घाटामा रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.