राजनीति

वडाध्यक्षले किने चार वर्षसम्मको सेवा सुविधा जम्मा गरेर एम्बुलेन्स

जनप्रतिनिधिहरुको काम जनताको सेवा हो तर, जनताको सेवाका नाममा आफूले मात्रै मेवा खाने प्रवृत्ति बढिरहेका बेला एक वडाध्यक्षले भने विगत चार वर्षसम्म आफूले पाएको सुविधाको रकम जम्मा गरेर गाउँमा एम्बुलेन्स खरीद गरेका छन् ।

समाचार अनुसार कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–५ का वडाध्यक्ष नरेश बमले आफूले चार वर्षसम्म पाएको सरकारी सेवा सुविधाको रकमले एम्बुलेन्स खरिद गर्नुभएको छ । गाउँपालिकाका बिरामीलाई सेवा दिनका लागि आफ्नो सेवा सुविधाको रकमबाट वडाध्यक्ष बमले एम्बुलेन्स खरिद गर्नुभएको हो ।

विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष बमले आफ्नो पाँच वर्षे कार्यकालमा सरकारले दिएको सेवा सुविधाबापतको रकम जनतालाई नै फिर्ता गरेको बताउनुभयो ।

“मैले निर्वाचन जित्दा नै सरकारी सेवा सुविधा जनताका लागि प्रयोग गर्ने योजना बनाएको थिएँ”, उहाँले भन्नुभयो, “त्यो पाएको सेवा सुविधाको रकमबाट एम्बुलेन्स खरिद गरेर जनताकालाई दिएको छु ।” जनताको जनजीवनसँग जोडिएको मानव स्वास्थ्यलाई मध्यनजर गरेर सेवा दिने उदेश्यले आफ्नो पाँच वर्षको पारिश्रमिकले एम्बुलेन्स खरिद गरेको अध्यक्ष बमले जानकारी दिनुभयो ।

“अब उक्त एम्बुलेन्सले जिल्लाभरिको बिरामीलाई आवश्यकता अनुसार सेवा दिने छ”, उहाँले भन्नुभयो, “एम्बुलेन्सले एकल महिला, अति गरिब, वृद्धवृद्धालाई निःशुल्क सेवा दिने लक्ष्य राखेका छौं ।” आफ्नो सेवा सुविधाबाट खरिद गरिएको एम्बुलेन्स कर्णाली सेवा समाजद्वारा सञ्चालन हुने अध्यक्ष बमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.