म किन भोट हाल्ने ?
मजस्ता भुईमान्छेका लागि भोट हाल्नु आज कुनै गर्वको कुरा होइन, बरु एउटा अनुत्तरित प्रश्न बनेको छ । हरेक चुनावमा हात जोडेर मत माग्ने अनुहारहरू फेरि देखिन्छन्, उही आश्वासन, उही भाषण, उही भावुक शब्दहरू ।
चुनाव सकिएपछि ती अनुहारहरू फेरि पाँच वर्षका लागि हराउँछन् । हामीले भोट हालेर जिताएका सांसदहरू संसद् भवनभित्र छिर्छन्, तर हाम्रो घरआँगनमा समस्याहरू उस्तै रहन्छन् । रोजगारी छैन, महँगी बढ्दो छ, न्याय पहुँचभन्दा बाहिर छ । यस्तो अवस्थामा स्वाभाविक प्रश्न उठ्छ—मैले भोट हालेर आखिर के पाएँ ?
भोट हालेर जितेका सांसदले आजसम्म मेरो जीवनमा ठोस रूपमा के परिवर्तन ल्याए ? बाटो उस्तै खाल्डाखुल्डी छ, अस्पताल उस्तै भीडभाड र महँगो छ, विद्यालय उस्तै कमजोर छ । तर सांसदहरूको जीवन भने बद्लिएको देखिन्छ—तलब, भत्ता, गाडी, सुविधा, सुरक्षा । हामीले भोट हालेर उनीहरूलाई प्रतिनिधि बनायौँ, तर उनीहरू हाम्रो प्रतिनिधि जस्ता कम, शासक जस्ता बढी देखिन्छन् । त्यसैले मनले सोध्छ—के मेरो मताधिकार ती केही थान मानिसलाई जागिरे बनाइदिने कागज मात्र हो ?
लोकतन्त्रको कुरा सुन्दा अझै पनि कानमा मीठो लाग्छ । जनताको शासन, जनताको शक्ति, जनताबाट चुनिएको सरकार । तर व्यवहारमा हेर्दा जनताको भूमिका चुनावको दिनसम्म मात्र सीमित भएको अनुभूति हुन्छ । भोट हालिसकेपछि जनता फेरि दर्शक बन्छन् । निर्णय बन्द कोठामा हुन्छ, नीति कागजमै सीमित हुन्छ, र भुईमान्छेको आवाज फेरि हराउँछ । यस्तो लोकतन्त्रप्रति वितृष्णा नहुने कसरी ?
आज धेरै युवाहरू खुलेर भन्छन—भोट हालेर केही हुँदैन । सबै नेता उस्तै हुन् । जसले जिते पनि हाम्रो हालत उस्तै हो । यो भनाइ भावनाबाट आएको भए पनि, यसको जरो अनुभवमा छ । निराशा आकस्मिक होइन, यो वर्षौँको उपेक्षाको परिणाम हो । तर यही ठाउँमा अर्को प्रश्न जन्मिन्छ—यदि भोट हाल्नु व्यर्थ हो भने, भोट नहाल्नु के समाधान हो ?
भोट नहाल्नु विद्रोह जस्तो लाग्न सक्छ, तर वास्तवमा त्यो मौन स्वीकृति हो । हामी भोट नहाल्दा पनि चुनाव हुन्छ, सरकार बन्छ, सांसद चुनिन्छन् । फरक यत्ति हो—त्यो प्रक्रियामा हाम्रो आवाज हुँदैन । संगठित शक्ति, पैसा र प्रभाव भएकाहरूको मत निर्णायक बन्छ । भुईमान्छे भोट नहाल्दा झन् कमजोर हुन्छ । त्यसैले भोट नहाल्नु परिवर्तन होइन, आफ्नो अधिकार आफैँ छोड्नु हो ।
हो, सांसदहरूले हामीलाई निराश बनाएका छन् । उनीहरू जनताभन्दा दलप्रति बढी उत्तरदायी छन् । संसद् सेवा गर्ने थलोभन्दा सुविधा उपभोग गर्ने स्थान बनेको छ । भ्रष्टाचार, सौदाबाजी र अवसरवाद, परिवारवादले राजनीतिलाई दूषित बनाएको छ । यो यथार्थ नकार्न मिल्दैन। तर समस्या लोकतन्त्रको अवधारणामा होइन, लोकतन्त्र चलाउने पात्र र हाम्रो नागरिक संस्कृतिमा छ ।
मताधिकार सामान्य अधिकार होइन, यो इतिहासको लामो संघर्षबाट प्राप्त अस्त्र हो । यो अधिकार धेरैले ज्यान दिएर, अपमान सहेर, आन्दोलन गरेर कमाएका हुन् । आज हामी निराश भएर भोट नहाल्दा त्यो संघर्षको मूल्य घटाउँदैछौँ । भोट हाल्नु भनेको नेतामाथि आँखा चिम्लेर विश्वास गर्नु होइन, बरु सत्तामाथि आफ्नो दाबी जनाउनु हो ।
हामीले भोट हालेर सबै जिम्मेवारी नेताको काँधमा हाल्ने बानी बसालेका छौँ । त्यसपछि पाँच वर्ष चुप लाग्छौँ । न प्रश्न सोध्छौँ, न हिसाब माग्छौँ । लोकतन्त्र भोट हालेर सकिने प्रक्रिया होइन, भोट त सुरुवात मात्र हो । भोटपछि पनि नागरिक सचेत रहनु, गलत निर्णयको विरोध गर्नु, प्रतिनिधिलाई जवाफदेही बनाउनु—यी सबै नगरेसम्म भोटको अर्थ अधुरो रहन्छ ।
आजको चुनौती भोट हाल्ने कि नहाल्ने भन्ने होइन । चुनौती हो कसरी सचेत भोट हाल्ने र भोटपछि कसरी सचेत नागरिक बन्ने । डर, पैसा वा अन्धभक्तिले होइन, विवेकले निर्णय गर्ने । र जितेपछि पनि “हामीले जितायौँ, अब हामीलाई उत्तर देऊ” भन्न सक्ने साहस राख्ने ।
त्यसैले भोट हाल्नु पर्छ । नेताहरू असल छन् भन्ने भ्रममा होइन, तर आफ्नो अधिकार नछोड्ने अडानका रूपमा । हामीले भोट हाल्नपर्छु किनकि हामी जान्दछौ—भुईमान्छे चुप लाग्दा नै सत्ताले मनपरी गर्छ ।
भोट हाल्नु सांसदलाई जागिरे बनाउनु मात्र हो, यदि हामी चुप लाग्यौँ भने । तर यदि हामी सचेत भयौँ भने, भोट नै सत्तालाई नियन्त्रण गर्ने सबैभन्दा सशक्त औजार बन्छ ।





प्रतिक्रिया राख्नुहोस्