राजनीति

राष्ट्रपति वाइडेनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध घनीभूत हुने विश्वास

संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिका रुवमा जोसेफ रोबिनेट्टी वाइडेनले पद सम्हालेकोमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्र लगायत उच्च राजनीतिक नेतृत्वले बधाई तथा शुभकामना सन्देश दिंदै दुई मुलुकबीच रहिआएका मित्रवत सम्बन्ध अरु सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जोसेफ रोबिनेट्टी वाइडेनले अमेरिकाको राष्ट्रपतिको कार्यभार सम्हाल्नुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । नेपाल–अमेरिका सम्बन्ध सुमधुर रहेको जनाउँदै राष्ट्रपति भण्डारीले बिहिबार उहाँलाई पठाउनुभएको बधाई सन्देशमा नेपालको सामाजिक–आर्थिक विकासका लागि अमेरिकाबाट प्राप्त सहयोगको सराहना गर्नुभएको छ ।

उन्नत एवं बहुआयमिक नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा अझ विस्तृत एवं घनीभूत हुने विश्वास व्यक्त गर्दै उहाँले कोभिड–१९ समस्या सम्बोधन गर्न नवनेतृत्वलाई सफलता मिल्ने कामना गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले आफ्ना अमेरिकी समकक्षीको कार्यकालको सफलताको कामना पनि गर्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले कमलादेवी ह्यारिसलाई बधाई सन्देश पठाउँदै अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति निर्वाचित हुनुभएकामा प्रशंसा गर्नुभएको छ । लैङ्गिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तनजस्ता विषयलाई अमेरिकाको नयाँ नेतृत्वले प्राथमिकतामा राखेकामा उपराष्ट्रपति पुनले सराहना गर्नुभएको छ ।

पुरानो मैत्रीलाई सबल तुल्याइने छः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति वाइडेनको सक्षम नेतृत्वमा अमेरिकाले निरन्तर प्रगति र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अमेरिकासँगको पुरानो मैत्रीलाई सबल तुल्याउने प्रतिबद्धता व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले पारस्परिक हित र चासोका विषयमा द्विपक्षीय तथा अन्तरराष्ट्रिय महत्वका मामिलालाई अघि बढाउन बहुपक्षीय तहमा अमेरिकी नयाँ नेतृत्वसँग सहकार्य गर्ने नेपालको चाहना व्यक्त गर्नुभएको छ ।

सहयोग, आर्थिक साझेदारी तथा दुई देशबीच जनस्तरको सम्बन्धमा आधारित नेपाल–ंअमेरिका सम्बन्धले आगामी वर्षमा नयाँ उचाइ चुम्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।

यसैगरी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपराष्ट्रपति ह्यारिसलाई बधाई सन्देश पठाउँदै नेपाल–अमेरिका सम्बन्ध अझ सुदृढ तुल्याउन तथा नेपालको सङ्घीय संसद् र अमेरिकी संसद्बीच सहयोग अभिवृद्धि गर्ने आफ्नो अभिलाषा प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.