राजनीति

व्यापार, लगानी, पर्यटनमा सघाउन बेल्जियमका अधिराजकुमारीको वचन

नेपाल भ्रमणमा रहनुभएका बेल्जियमका अधिराजकुमारी अस्ट्रिडले नेपाल र बेल्जियमबीच आर्थिक सम्बन्धलाई थप मजबुत बनाइ व्यापार, लगानी, पर्यटनलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्दै जान आवश्यक रहेकाले यसका लागि आफूले सक्दो पहल गर्ने वचन दिनुभएको छ ।

मंगलबार सिहंदरबारस्थित रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँगको शिष्टाचार भेटमा राजकुमारी अस्ट्रिडलाई नेपालले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको सन्दर्भमा नेपाल भ्रमणमा आउनुभएकोमा खुशी व्यक्त गर्दै नेपालले राजनीतिक स्थिरतापछिको समृद्धि यात्रामा अन्तर्राष्ट्रिय क्षेत्रको लगानी र सहयोगका लागि प्राथमिकता दिँदै आएको भन्दै सो वचन दिनुभएको हो ।

उपप्रधानमन्त्री पोखरेलले नेपाल र बेल्जियमबीच लामो समयदेखि घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको र यो सम्बन्धलाई दुई देशबीच व्यापार, लगानी तथा पर्यटनको विस्तारमार्फत थप फराकिलो, प्रगाढ र प्रतिफलमुखी बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । युरोपेली आयोगभित्रको एक महत्वपूर्ण राष्ट्र बेल्जियमसितको मैत्रीपूर्ण सम्बन्धलाई नेपालले सदैव उच्च महत्व दिएको जनाउँदै पोखरेलले बेल्जियम सरकारले नेपालको आर्थिक र सामाजिक विकासमा पु¥याएको सहयोगका लागि नेपाली जनता र नेपाल सरकारको तर्फबाट बेल्जियम सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

यसैगरी उहाँले नेपालका क्षयरोग तथा कुष्ठरोगका बिरामीका स्वास्थ्योपचारमा उपलब्ध गराएको सहयोग एवं यी रोगहरूलाई निर्मूल पार्न प्रदान गरेको सहायताका लागि आभार व्यक्त गर्नुभयो । उहाँले लामो राजनीतिक सङ्क्रमणपछि नेपालमा राजनीतिक स्थायित्व कायम भएको र अब मुलुकको ध्यान आर्थिक समृद्धितर्फ मोडिएको कुरा चर्चा गर्नुहुँदै वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सोचलाई कार्यान्वयनमा उतार्न सबै मित्रराष्ट्रहरूबाट सहयोगको अपेक्षा लिइएको विचार व्यक्त गर्नुभयो ।

भेटवार्ताका क्रममा बेल्जियमकी राजकुमारी अस्ट्रिडले बेल्जियम र नेपाल लामो समयदेखि अत्यन्त असल मित्रका रूपमा रहेको चर्चा गर्दै नेपालमा हालका दिनमा राजनीतिक स्थिरता कायम भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आफू अध्यक्ष रहेको दामियन फाउण्डेसनले विश्व स्वास्थ्य सङ्गठनसँगको सहकार्यमा नेपाललगायत मुलुकमा कुष्ठरोग र क्षयरोग निवारणका क्षेत्रमा उल्लेखनीय कार्य गरिरहेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने व्यक्त गर्नुभयो । नेपाल बारुदी सुरुङ्बाट मुक्त भएकोमा खुशी व्यक्त गर्दै उहाँले नेपाल चाँडै नै ओटाबा कन्भेन्सनको पक्ष राष्ट्र बन्नेमा आफू आशावादी रहेको विचार व्यक्त गर्नुभएको रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारले जानकारी दिनुभयो ।

राजकुमारी अस्ट्रिड एकसाताका लागि यही माघ ५ गते नेपाल भ्रमणमा आउनुभएको हो । सोही दिन उहाँ र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालसँग अलग अलग भेटवार्ता भएको थियो । सोही दिन संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री योगेशकुमार भट्टराईले पनि उहाँसँग भेट गर्नुभएको थियो । काठमाडौँ उपत्यका बाहिर पनि कार्यक्रम रहेकामा हाल केन्द्रमा उच्चस्तरीय भेटवार्ता र पर्यटकीय क्षेत्रको अवलोकनमा व्यस्त हुनुहुन्छ ।

राजकुमारी अस्ट्रिड बेल्जियमका राजा फिलिपीका बहिनी हुनुहुन्छ । नेपालले पर्यटनलाई आर्थिक विकासको प्रमुख आधारका रुपमा स्थापित गर्न यही जनवरी १ देखि सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउन शुरु गरेको सन्दर्भमा उहाँको भ्रमणले यस वर्षलाई प्रवद्र्धन गर्न सघाउने परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्लेले बताउनुभयो ।

राजकुमारी अस्ट्रिडले कैलाली, नवलपरासी र चितवनमा जारी रहेका क्षयरोग र कुष्ठरोग निवारण केन्द्रहरुको भवन उद्घाटन तथा ती क्षेत्रको अवलोकन पनि गर्नुहुने कार्यक्रम छ । उहाँले त्यहाँस्थित कुष्ठरोगी र क्षयरोगीबाट प्रभावितलाई समेत भेट्नुुहुनेछ भने उहाँले नवलपरासीस्थित प्रदेश स्रोत केन्द्र रहेको मिडपोइन्ट अस्पतालको पनि भ्रमण गर्नुहुनेछ । ती केन्द्र र सेवाहरुमा बेल्जियमस्थित गैह्रसरकारी संस्था ‘दामियन फाउण्डेसन’ को सहयोग हुँदै आएको छ । राजकुमारी अस्ट्रिड ‘ओटाबा कन्भेन्सन’ अन्तर्गत बारुदी सुरुङविरुद्धको अभियानका लागि विदेश दूत पनि हुनुहुन्छ ।

सन् १९६३ अगष्ट १९ मा कूटनीतिक सम्बन्ध स्थापित भएको नेपाल र बेल्जियमबीच आपसी सद्भाव, विश्वास र परस्पर सम्मानको सम्बन्ध रहँदै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.