जन सरोकार

चिसोबाट किसानलाई पशु जोगाउन समस्या

गत पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको छ । चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ । “एकातिर घाम लागेको छैन, अर्कोतर्फ शीतलहरले पशुलाई जोगाउन कठिन भएको छ”, किसान पर्शु धामीले भन्नुभयो, “एक महिनादेखि भैँसीलाई गोठबाट बाहिर निकाल्न पाइएको छैन । भैँसीले चार लिटर दूध दिन्थ्यो, घटेर दुई लिटर भएको छ ।”

पशु जोगाउन समस्या

घाम नलाग्नुका साथै शीतलहरका कारण पशुलाई चरनको समेत समस्या भएको छ । पशुलाई गोठ बाहिर बाध्न, चराउन लैजान पनि कठिन भएको किसानको गुनासो छ । जानकी गाउँपालिकाका किसान रमेश विकका दुई बाख्रा चिसोले मरेका छन् । “बाख्रालाई चिसो लागेपछि जोगाउन सकिएन, चिसोले तीन दिनसम्म आगो बालेर आगोको छेउमा बाधेर राख्यौँ, औषधि पनि खुवायौँ”, उहाँले भन्नुभयो, “तर पनि बचाउन सकिएन । जाडो सिजनमा बाख्रालाई आहाराको समेत समस्या हुने गर्छ ।”

उहाँका अन्य बाख्रा पनि घाँस तथा पानी राम्ररी नखाएर दुब्लाएका छन् । चिसो बढ्दै गएपछि पशुलाई आहारा व्यवस्थापन र न्यायो पार्न कठिनाइ भएको केमन व्यावसायिक गाई फार्मका सञ्चालक किसान चक्र बटालाले बताउनुभयो । “चिसोले हामीजस्ता व्यावसायिक रुपमा पशुपालन गर्नेलाई हैरानी भएको छ । मसँग ५० बढी गाईभैँसी छन्, यतिखेर दूध उत्पादन घटेको छ”, उहाँले भन्नुभयो, “लामो समय घाम नलागेका कारण लगाएको घाँस पनि वृद्धि भइरहेको छैन, जसले गर्दा पशुलाई पहिलेको तुलनामा आधा आहारामात्र खुवाउनुपर्ने बाध्यता हामीलाई छ ।”

किसान बटालाका अनुसार चिसोमा कामदारलाई पनि गाह्रो हुने, पशुमा स्वास्थ्य समस्या देखिने, मर्नेलगायतका समस्या हुने गरेका छन् । “चिसोले एउटा बाख्रा बिरामी भएर म-यो”, उहाँले भन्नुभयो, “घाम नलागेका कारण गोठ सरसफाइमा समेत समस्या भइरहेको छ ।” मोहन्याल भैँसी फार्मका सञ्चालक दुर्गाप्रसाद जैसीले पनि चिसोले गर्दा दूध उत्पादनमा कमी भएको र पशुलाई आहारा उत्पादनमा समेत समस्या भइरहेको बताउनुभयो । “चिसो मौसम पशुपालनका लागि उपयुक्त समय हैन, यस वर्ष अत्यधिक चिसो भएकाले हामीलाई त हैरानी भएको छ”, उहाँ भन्नुहुन्छ, “दिउँसो घाम लागेको भए यति कठिन हुने थिएन, एक महिना पुग्न लाग्यो । पशुले घाम ताप्न पाएका छैनन्, आहारा घटेको छ । चिसोमा पानी कम पिउने हुँदा उनीहरुलाई कुपोषणको समस्या हुन थालेको छ ।”

टीकापुर गौशालामा समेत चिसोले पशु जोगाउन समस्या भएको छ । सयौँ पशुचौपाया रहेको गौशालामा गोठ अभावमा समेत समस्या भएको छ । चिसोबाट पशु जोगाउन ठाउँठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको र टहरा निर्माण कार्य सुरु गरेको सामुदायिक पशु चौपाया तथा प्रवद्र्धन समितिका अध्यक्ष लोकबहादुर बुढा क्षेत्रीले बताउनुभयो । “हामीले करिब पाँच ठाउँमा रातदिन आगो बालिरेहका छौँ, नत्र पशु जोगाउन सकिँदैन”, उहाँले भन्नुभयो, “महायज्ञबाट उठेको रकमबाट गाई बस्ने गोठ निर्माण कार्य पनि सुरु भएको छ ।”

जाडोको समयमा चरनका लागि बाहिर नलगी लामो समयसम्म बाँधेर घाँस खुवाइन्छ । “दुधालु गाईबस्तुमा प्रोटिन, ऊर्जा र कुपोषणसम्बन्धी समस्या देखिने जोखिम हुन्छ”, पशु सेवा शाखा टीकापुरका प्रमुख श्यामराज पाण्डेले भन्नुभयो, “चिसोबाट जनावरलाई जोगाउन उचित प्रबन्ध गर्नुपर्छ ।” उहाँले चिसो मौसममा उत्पादनमा ह्रास आउने, पशु बिरामी हुने समस्या हुने भएकाले न्यायो पार्ने, तातोपानी खुवाउने, पोषणयुक्त आहारामा ध्यान दिन सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.