राजनीति

मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको औँल्याउनुभएको छ ।

मंगलबार केही सञ्चारमाध्यमका सम्पादकहरुसँगको अन्तक्र्रियामा अध्यक्ष लिङ्देनले भन्नुभयो, “मुलुकमा एकपछि अर्काे गरी समस्या बढ्दै गएका छन्, जनतामा निरासा थपिँदो छ, अर्थतन्त्रको अवस्था भनिएजस्तो सुधार नभएकाले व्यवसायी पलायन भइरहेका छन्, देशबाट युवा पलायन रोक्न सकिएको छैन । त्यसैले सबै समस्याको समाधानका लागि मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो छ ।”

जनताका समस्या जहाँको त्यहीँ रहेका र देशले विकासको गति लिन नसकेकाले नयाँ सोच, सम्झौता र राजनीतिक प्रणालीबिना यथास्थितिबाट कुनै पनि समस्याको समाधान ननिस्कने अध्यक्ष लिङ्देनको तर्क थियो । अर्काे एक प्रसङ्गमा उहाँले राप्रपा जनताका यिनै समस्याको निकास खोज्नका लागि आन्दोलनमा जाने तयारी गरिरहेको जानकारी पनि दिनुभयो ।

महँगीदेखि लिएर जनजीविकाका विविध सवालमा राप्रपाले आन्दोलन गर्ने र सो आन्दोलन शान्तिपूर्ण र जनताका पक्षमा हुने अध्यक्ष लिङदेनले बताउनुभयो । उहाँले अरु राजनीतिक दलसँगको सहकार्यमा नभई राप्रपाले अहिलेका जनताका समस्याको समाधान खोज्न र देशमा सुशासन कायम गराउनका लागि शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले राप्रपा राजासहितको प्रजातन्त्रको पक्षमा रहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “राप्रपा अब पछि फर्किने अवस्थामा छैन र पहिलेको जस्तो राजतन्त्र खोजेको पनि होइन । देशमा अभिभावकीय भूमिकामा मात्र सीमित रहने गरी राजासहितको प्रजातन्त्रको पक्षमा रहेको छ । यो हाम्रो पुरानै अडान हो ।”

राजा हुनासाथ त्यहाँ प्रजातन्त्र हुँदैन भन्ने भाष्य निर्माण गर्न नहुने भन्दै अध्यक्ष लिङदेनले राजतन्त्र रहेका संसारका कैयौँ देशमा पूर्ण प्रजातन्त्र रहेको र राप्रपा पनि संविधानले निर्दिष्ट गरेको भूमिकामा आलङ्कारिक भूमिकाका राजाको पक्षमा रहेको धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.